कच्चा तेलको आयात बढ्यो

शंकर आचार्य

पर्सा — वीरगन्जका २ वटा भन्सार नाकाबाट भटमास र सूर्यमुखी कच्चा तेलको आयात उल्लेख्य रूपमा बढेको छ ।

कच्चा तेलको आयात बढ्यो

वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा यी वस्तुको आयात बढेको देखाएको छ ।


भटमासको कच्चा तेल अर्जेन्टिना र ब्राजिलबाट भित्र्याइन्छ । सूर्यमुखीको कच्चा तेल भने टर्की, मलेसिया र सिंगापुरबाट आयात हुने गरेको छ ।


यी दुई वस्तु उत्पादनका लागि सुहाउँदो हावापानी र माटो नेपालमा भए पनि अन्य मुलुकबाटै ल्याउने गरिएको छ । अझ पछिल्लो समय यी दुई वस्तुको आयात बढेको तथ्यांकले देखाएको छ ।


तथ्यांकअनुसार गत आवमा यो नाकाबाट १० अर्ब ८१ करोड रुपैयाँ बराबरको ११ करोड ७९ लाख ८९ हजार ९ सय ४५ किलो भटमासको कच्चा तेल आयात भएको छ ।


अघिल्लो आवमा ९ अर्ब १९ करोड रुपैयाँ बराबरको ९ करोड ९४ लाख किलो आयात भएको थियो । गत आवमा यो नाकाबाट आयात मूल्यको आधारमा आयात भएका मुख्य वस्तुको छैटौं नम्बरमा यो वस्तु परेको छ ।


त्यसैगरी यो नाकाबाट गत आवमा २ अर्ब २१ करोड ५५ लाख रुपैयाँ बराबरको २ करोड ४४ लाख ५० हजार ९ सय १९ किलो सूर्यमुखीको कच्चा तेल आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा ३२ करोड ५३ लाख रुपैयाँ बराबरको ३५ लाख किलो यो वस्तुको आयात भएको थियो ।


तुलनात्मक रूपमा हेर्दा अघिल्लो आवभन्दा गत आवमा यसको आयात ६ गुनाभन्दा पनि बढेको छ । यो नाकाबाट गत आवमा आयात वृद्धि भएका वस्तुको सूचीमा सूर्यमुखीको कच्चा तेल ११ औं नम्बरमा रहेको छ ।


वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले भटमासको कच्चा तेलको आयात अर्जेन्टिना र ब्राजिलबाट हुने गरेको बताए । यसको आयातमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।


सिर्सिया सुक्खा बन्दरगाहको तथ्यांकअनुसार गत आवमा यो नाकाबाट १ अर्ब ६३ करोड रुपैयाँ बराबरको १ करोड ७७ लाख ४८ हजार ४ सय ५९ किलो सूर्यमुखीको कच्चा तेल आयात भएको छ । यो नाकाबाट अघिल्लो आवमा ११ करोड ३१ लख रुपैयाँ बराबरको १२ लाख १६ हजार किलो भटमासको कच्चा तेल आयात भएको थियो ।


गत आवमा भने यो नाकाबाट यो वस्तुको आयात नै भएन । आयातकर्ताले नाका परिवर्तन गरी वीरगन्ज भन्सार नाकाबाट यसको आयात गरेको अनुमान गरिएको छ ।


सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत धनबहादुर सूर्यमुखीको कच्चा तेल टर्की, मलेसिया र सिंगापुरबाट आयात हुने गरेको बताउँछन् । यसको आयातमा १५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।


पछिल्लो समय नेपालीको भान्सामा तोरीको तेलको विकल्प बन्दै गएको सूर्यमुखी र भटमासको तेलको खपत वृद्धिसँगै माग पनि उच्च हुँदै गएको हुन सक्ने उनको ठम्याइ छ । स्वदेशी तेल उद्योगहरूले यस्ता कच्चा तेललाई प्रशोधन गरी बजारमा बिक्री वितरण गर्छन् ।


वीरगन्जस्थित वीरगन्ज भन्सार नाका । यो नाकाबाट गत आर्थिक वर्षमा भटमास र सूर्यमुखीको कच्चा तेलको आयात उल्लेख्य रूपमा बढेको छ । तस्बिर : शंकर आचार्य/ कान्तिपुर

प्रकाशित : श्रावण १५, २०७५ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?