२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

किसानले दूधको टयांकर गुड्न नदिने

सहकारीले किसानलाई दिने दूधको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ कम
रमेशकुमार पौडेल

चितवन — दूधको मूल्य घटेको विरोधमा आन्दोलन गर्दै आएका चितवनका दूध उत्पादक किसानहरूले साउन २५ गतेदेखि दूध ढुवानी गर्ने टयांकरहरू सडकमा गुड्न नदिने घोषणा गरेका छन् । बिहीबार भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै किसानहरूले यस्तो चेतावनी दिएका हुन् ।

किसानले दूधको टयांकर गुड्न नदिने

उनीहरूले उक्त दिनदेखि दुग्ध विकास संस्थान (डीडीसी)का कुनै पनि गाडीहरू चितवनका सडकमा चल्न नदिने बताए ।


डीडीसीले सहकारीलाई दिँदै आएको कमिसन घटाएको छ । यसबाट सहकारीहरूले किसानलाई दिने दूधको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ कम भएको छ । यसको विरोधमा पूर्वी चितवनको भण्डारा र खैरहनीमा किसानले सडकमा नै दूध पोखेका थिए । रत्ननगरमा सडकमा दूध बाँडेका थिए ।


‘किसानले किन्ने दाना चोक्करको मूल्य सधैं बढेको छ । तर, यो वा त्यो बाहनामा डीडीसीको भूमिकाले गर्दा किसानले पाउने दूधको मूल्य घट्न थालेपछि हामी कडा खालको संघर्षमा जान बाध्य भएका छौं,’ भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाउन आएका जनकल्याण दुग्ध उत्पादक सहकारीका अध्यक्ष सूर्यहरि मरहट्ठाले भने । भरतपुर महानगरभित्र १८ वटा दुग्ध सहकारी छन् । सबैले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।


भरतपुर महानगरभित्र समेटिएको चितवनको पश्चिम क्षेत्रमा दैनिक ५० हजार लिटरभन्दा धेरै दूध संकलन हुने जिल्ला दुग्ध उत्पादक सहकारी संघका पूर्वअध्यक्ष शंकरराज राजभण्डारी बताउँछन् ।


स्थानीय तह अधिकार सम्पन्न भएका कारण जनताको मर्का सुन्नुपर्ने र केन्द्रीय तहबाट हुने गरेका किसानविरोधी नीति नियमको खबरदारी हुनुपर्ने उनले माग गरे ।


किसान अर्जुन ढकालका अनुसार दूधको मूल्य कटौती हुँदा दाना, चोक्कर र ढुटोको मूल्य बढेको छ । दुई महिनाअघि ११ सय ६० रुपैयाँ पर्ने ४० किलोको एक बोरा चोक्कर अहिले १३ सय रुपैयाँ पर्ने उनले बताए । २५/२६ रुपैयाँ किलोमा पाइने ढुटोलाई अहिले २७/२८ रुपैयाँ तिर्नुपर्छ । किसानले किन्ने सामग्रीको मूल्य बढ्दै जाँदा बेच्ने दूधको मूल्य घट्नु दु:खद भएको उनले बताए ।

प्रकाशित : श्रावण १८, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?