२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दूध किसानलाई नगदको सट्टा दाना

दूधका केही पकेट क्षेत्रमा दिइएको प्रतिलिटर ३ रुपैयाँ अतिरिक्त रकम अब दूधको शुद्धता र गुणस्तरका आधारमा नगद नभई दानामार्फत दिइनेछ
सुरज कुँवर

काठमाडौँ — दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध उत्पादक सहकारीलाई प्रतिलिटर दूधमा ३ रुपैयाँका दरले दिँदै आएको वार्षिक ५ करोड रुपैयाँ ‘अतिरिक्त रकम’ कटौती गरेको छ ।

दूध किसानलाई नगदको सट्टा दाना

अब उप्रान्त दूधमा अतिरिक्त सकमको सट्टा दाना उपलब्ध गराउने भएको छ । यो रकम सबै सहकारीलाई नभई गुणस्तरीय शुद्ध दूध उपलब्ध गराउने सहकारीलाई मात्रै दिइने हो ।

यो निर्णय आउनुअघि डीडीसीले छ जिल्लाका दैनिक कम्तीमा ५ हजार लिटर दूध डीडीसीलाई उपलब्ध गराउने दुग्ध उत्पादक सहकारीलाई मात्रै प्रतिलिटर ३ रुपैयाँ अतिरिक्त रकम दिँदै आएको थियो । यो अतिरिक्त रकमको सट्टा दाना दिने निर्णय गरिएको हो । यसबाहेक सहकारी सञ्चालनका लागि उपलब्ध गराउँदै आएको प्रतिलिटर ३ रुपैयाँ भने कटौती गरेको छैन । टीएस (टोटल सोलिड) शीर्षकमा दिइँदै आएको रकम भने देशभरका सबै सहकारीहरूले लिँदै आएका छन् ।

डीडीसीले विज्ञप्तिमार्फत अतिरिक्त मूल्य स्थगन गर्दै अब उप्रान्त दूधको शुद्धता र गुणस्तरमा आधारित भई आफ्नै ब्रान्डको ‘डीडीसी पशु आहारा’ (दाना) वितरण गर्ने भनेको छ । यो प्रणालीबारे अध्ययन गर्न डीडीसीको सञ्चालक समितिका सदस्य डा. विशाल बास्तोलाको संयोजकत्वमा अध्ययन समिति पनि बनाइएको छ ।

‘०७५ असार १६ गतेदेखि लागू हुने गरी अतिरिक्त मूल्य स्थगित गरी अब उप्रान्त उपलब्ध गराइने अतिरिक्त मूल्य परिणामको आधामा नगरी दूधको शुद्धता र गुणस्तरमा आधारित बनाउन अध्ययन भइरहेको छ,’ डीडीसीका सूचना अधिकारी सुभाष भट्टराईद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

डीडीसीका निमित्त महाप्रबन्धक ईश्वरीराज न्यौपानेले देशभरबाट दूधको आपूर्ति विगतका वर्षको दाँजोमा दोब्बर भएकाले प्रोसाहन रकम कटौती गरी त्यसको सट्टामा दाना वितरण गरिने बताए ।

चैतदेखि भदौ महिना दूध उत्पादनका लागि सुक्खा सिजन मानिन्छ । तर, यस वर्ष सुक्खा सिजनमै डीडीसीले दोब्बर दूध संकलन गर्नुपरेको उनले बताए । ‘हामी दैनिक एक लाख लिटर हाराहारी दूध संकलन गथ्र्यौं तर यसपटक दोब्बर मात्रामा दूध आयो,’ न्यौपानेले भने, ‘दूध उत्पादन बढेकाले यसपटक हामीले ८० करोड हाराहारीको मक्खन र धूलो दूध उत्पादन गरेर गोदाममा राखेका छौं ।’

बजारीकरण तथा अन्य निजी उद्योगसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले मिल्क पकेट क्षेत्रमा दुग्ध उत्पादक सहकारी संस्थामार्फत विगतमा इन्सेन्टिभ/अतिरिक्त मूल्य उपलब्ध गराउनुपरेको डीडीसीले जनाएको छ ।

डीडीसीको सञ्चालक समितिका अनुसार तीन वर्षअघि डीडीसीले आफ्नो च्यानलमा दूधको मात्रा बढाउन राजधानी आसपाससहितका ६ वटा जिल्लाका सहकारीलाई मात्रै प्रतिलिटर दूधमा ३ रुपैयाँ अतिरिक्त मूल्य थपेर दिने निर्णय गरेको थियो । यो निर्णयअनुसार दैनिक कम्तीमा ५ हजार लिटर दूध डीडीसीलाई बिक्री गर्ने इलाम, धनकुटा, चितवन, मकवानपुर, रूपन्देही, काभ्रे र भक्तपुरका दुग्ध उत्पादक सहकारीलाई मात्रै दिइन्थ्यो ।

यो शीर्षकअनुसार डीडीसीले वार्षिक ५ करोड हाराहारी रुपैयाँ किसानलाई नभई सहकारीलाई दिन्थ्यो । तर, २०७५ असार १६ गतेदेखि लागू हुने गरी यो रकम कटौती गर्दै डीडीसीले अब सहकारीलाई नभई किसानलाई दाना दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

निमित्त महाप्रबन्धक न्यौपानेका अनुसार डीडीसीले दैनिक देशका १ हजार २ सय सहकारीबाट दैनिक ९० हजारदेखि १ लाख लिटर हाराहारी दूध संकलन गर्छ । यो संस्थासँग १ लाख हाराहारी किसान आबद्ध छन् ।

प्रकाशित : श्रावण १९, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?