कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एप्पल १० खर्ब डलरको कम्पनी

एजेन्सी

काठमाडौँ — आइफोन निर्माता एप्पल १० खर्ब डलर मूल्य भएको संसारकै पहिलो पब्लिक कम्पनी बनेको छ । आफ्ना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै एप्पलले पहिलो ट्रिलियन डलर कम्पनी बन्ने सफलता हात पारेको हो ।

एप्पल १० खर्ब डलरको कम्पनी

बिहीबार कम्पनीको मूल्य १० खर्ब डलर कटेको हो । यसको सेयरको मूल्य २ सय ७ डलर पुगेपछि कम्पनीको मूल्य बढेको हो । कम्पनीको सेयर मंगलबारदेखि लगातार बढिरहेको छ । एप्पलले संसारकै पहिलो १० खर्ब डलर मूल्य भएको कम्पनी बन्न अमेरिकी प्रतिस्पर्धी अमेजन र माइक्रोसफ्टलाई पछि पारेको छ ।

सन् २००७ मा पहिलोपटक आइफोन सार्वजनिक गरेयता कम्पनीको सेयर मूल्य ११ सय प्रतिशतले वृद्धि भएको छ । आइफोनले विश्व हल्लाउनुअघि एप्पल म्याक पर्सनल कम्युटरका कारण चर्चित थियो । सहसंस्थापक स्टिभ जबले सन् १९७६ मा ग्यारेजबाट सुरु गरेको कम्पनी विभिन्न आरोह–अवरोध पार गर्दै विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ ।

सन् २०११ मा स्टिभ जब्सको निधन भएपछि कम्पनीको नेतृत्व टिम कुकले गर्दै आएका छन् । सन् २००६ मा कम्पनीले वर्षभरि करिब २० अर्ब डलर बराबरको बिक्री गरेको थियो । त्यो वर्ष एप्पलको कुल नाफा करिब २ अर्ब डलर थियो । २००१ मा यसको बजार मूल्य जम्मा ६ अर्ब डलर मात्रै थियो । २०१० मा यसको मूल्य १ सय ७४ अर्ब डलर थियो । त्यसयता भने कम्पनीको मूल्य तीव्र रूपमा बढदै आएको छ ।

सन् २०१७ मा कम्पनीले कुल २ सय २९ अर्ब डलरको व्यापार गरेको थियो जसमा उसले नाफा मात्रै ४८ अर्ब डलरभन्दा बढी रहयो । एप्पलले गरेको नाफा अमेरिकी कम्पनीले एक वर्षमा गरेको सबैभन्दा धेरै थियो । एप्पलले अघिल्लो वर्ष सार्वजनिक गरेको महँगो स्मार्टफोन आइफोनको माग बढेपछि पछिल्लो समय उसको नाफामा धेरै वृद्धि भएको हो ।
संसारभरकै पब्लिक कम्पनीमध्ये १० खर्ब डलर मूल्य भएको पहिलो कम्पनी बने पनि एप्पल धेरै दिनसम्म एक्लो कम्पनी हुने छैन ।

अमेजन, अल्फाबेटजस्ता कम्पनीलाई चाँडै उसलाई भेट्टाउन सक्ने विश्लेषकको अनुमान छ । साथै धेरै विश्लेषकको बुझाइ छ कि एप्पलले आफ्नो बजारको सर्वोच्च तहमा पुगेको छ । आगामी दिनमा उसलाई बजार विस्तारको थप चुनौती हुनेछ ।

अहिले अमेजनको कुल मूल्य ८ खर्ब ६८ अर्ब डलर छ । यसको सेयर मूल्य एप्पलको भन्दा तीव्र गतिमा बढिरहेको छ । अल्फाबेट पनि १० खर्ब डलरको कम्पनी बन्ने दौडमा छ ।

फेसबुक र चिनियाँ ई–कमर्स कम्पनी अलिबाबा यो दौडको आधा बाटो पुगेका छन् । दुवै कम्पनीको मूल्य ५ सय अर्ब डलर छ । तथ्यांक चोरी भएको पछिल्लो विवादका कारण फेसबुकको सेयर घटेर कम्पनीको मूल्य ५ सय अर्ब डलरमा झरेको हो ।

प्रकाशित : श्रावण १९, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?