कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

भेदभाव छिचोल्दै सफलता

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — सफलता रातारात पाइन्न, अथक संघर्ष गर्नुपर्छ । अझ विभेदमा बाँचेकाहरूले त सफलता पाउन झनै धेरै बाधा र अवरोध छिछोल्नुपर्ने हुन सक्छ । जीवनका विभिन्न बाधालाई चिर्दै सफल हुनेमा इथियोपियाका मार्कस जोर स्याम्युएल्सन पनि एक हुन् ।

भेदभाव छिचोल्दै सफलता

यिनी आफ्नै बलबुता र कठोर परिश्रमपछि सफल भए । नश्लीय भेदभावका बावजुद खानाका परिकारहरू बनाउने क्षेत्रमा आफ्नो छुट्टै परिचय स्थापित गर्दै एक सफल सेफ/होटल व्यवसायी बने उनी । विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भूपरिवेष्ठित मुलुक ‘इथियोपिया’ का नागरिक उनले जीवनमा धेरै ठक्कर खानुपर्‍यो ।

पेसाले सेफ भए पनि उनी होटल व्यवसायी, कुकबुक लेखक, खाद्य अधिकारकर्मी र परोपकारीका रूपमा समेत चिनिन्छन् । इथियोपियाको अदिस अबाबामा ४८ वर्षअघि जन्मेका यिनी स्विडेनमा हुर्के र युरोपका विभिन्न मुलुकमा प्रशिक्षित भए । बाल्यकालमै उनका बुबाले भनेका थिए, ‘अफ्रिकाका काला मान्छे सेफ बन्नु हुन्न, हामी होटल उद्योगमा लागे धेरै कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ ।’ उनले त्यस्तै भोग्नु पर्‍यो पनि । सुरुमै उनीभित्र ठूलो होटल व्यवसायी बन्ने चाहना थियो । तर, बुबाको चेतावनीयुक्त भनाइपछि उनी यो पेसामा जान केही हच्किएका थिए । पछि यसैलाई आफ्नो जीवन धान्ने व्यवसाय बनाउन उनी सफल भए ।

उनले सन् २०१२ मा अर्लान्डा विमानस्थलमा पहिलो रेस्टुरेन्ट खोले, पछि स्विडेन हुँदै नर्वेसम्म विस्तार गर्न भ्याए । विभिन्न सहरमा उनका आधा दर्जन जति चर्चित रेस्टुरेन्टहरू सञ्चालनमा छन् । ती हुन् रेड रोस्टर, गिनिज सुपर क्लब, मार्क बर्गर, रिंगो रेस्टुरेन्ट, सि–हाउस । ‘सेलिब्रेटी नेटवर्थ’ का अनुसार उनको कुल सम्पत्ति करिब ५५ करोड रुपैयाँ (५ मिलियन अमेरिकी डलर) छ । उनको सम्पत्तिको स्रोत सेफ सेवा, रेस्टुरेन्ट, पाककलासम्बन्धी पुस्तकलगायत छन् ।

‘दि फेमस पिपुल’ का अनुसार मार्कसलाई एकजना सेफले जबर्जस्ती खाना बनाउन लगाएका थिए, त्यो पनि कुकुरको । सुरुमा कुकुरकै खाना बनाउने काम थाले । त्यसक्रममा उनले धेरैपटक दुव्र्यवहारसमेत खेप्नुपर्‍यो । तर, ती सबैलाई सहन गर्दै अघि बढे । ‘मैले विभिन्न अवरोधहरूलाई छिचोल्नुपर्‍यो,’ मार्कसले एसोसिएटेड प्रेसमा हालै प्रकाशित एक लेखमार्फत भनेका छन्, ‘एक त प्रवासी, अर्को अफ्रिकी नागरिकका रूपमा मैले धेरै अवरोधहरूको सामना गर्नुपर्‍यो । तर, ती सबैले मलाई आफ्नो काममा केन्द्रित हुन सहयोगै गरे ।’ जीवनमा आइपर्ने अवरोधलाई चिर्दै अगाडि बढेमा सफलता प्राप्त गर्न सकिने उनको विश्वास छ ।

बुबाको सुझाव र कलिलै उमेरमा झेलेको समस्याका बाबजुद उनले होटल व्यवसाय नै रोज्ने निष्कर्ष निकाले । आफ्नो व्यवसायका लागि उनले अमेरिकाको न्युयोर्क सहर रोज्न पुगे । यो सहर रोज्नुको कारण थियो– ‘अन्य ठाउँको तुलनामा न्युयोर्क सहर विविधतायुक्त हुनु ।’ त्यहाँ उनले नश्लीय विभेदको सिकार हुनु परेन । त्यही सहरमा उनी व्यापार गर्दै रमाउन थाले ।

‘अचेल त यो सहर मेरा लागि घरजस्तै भएको छ, मैले त्यहाँ धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘विभिन्न नौला स्वादसहितका परिकारहरू ग्राहकलाई पस्कने निधो गर्दै ‘रेड रोस्टर’ सञ्चालनमा ल्याएँ ।’ यसमा विभिन्न संस्कृतिलाई प्रतिविम्बित गर्न उनले कुनै कसर बाँकी राखेनन् । स्वादमा विविधीकरण ल्याएकाले उनको ‘रेड रोस्टर’ रेस्टुरेन्टको लोकप्रियता बढ्दै गयो ।

आदिस अबाबा नजिकै इथियोपियाली गाउँ ‘कासाहुन सेगी’ मा २५ जनवरी १९७० मा उनको जन्म भएको हो । क्षय रोगले उनकी आमाको निधन भएपछि उनी दुई वर्षको उमेरमै टुहुरा बनेका थिए । तर, सौभाग्य नै भन्नुपर्छ, स्विडेनका एक दम्पतीले उनलाई आफ्नो काख दिए । धर्मपुत्र बनाउँदै स्विडेनको गोथेन्बर्ग लिएर गए । पछि उक्त दम्पतीले उनलाई आफ्नै नाम पनि दियो । बाल्यकालमा मार्कस खुसी थिए । तर, स्विडेनको एउटा सानो सहरमा अश्वेत भएका कारण जीवन धान्न उनलाई कठिन थियो । उनलाई यसको कुनै मतलव थिएन । त्यसैले एउटा किशोरले देखाउने सबै गुण उनमा थियो । उनले सुरुमा फुटबलमा रुचि राख्न थाले । पछि माछा मार्ने रुचि बनाए ।

यति मात्रै होइन गर्मीमा आफ्नो परिवारका साथ स्विडेनको तटीय क्षेत्र स्मोगेन भ्रमणमा जाँदा खाना बनाएर सुरक्षित तरिकाले लाने काम पनि उनी गर्थे ।

मार्कसलाई पछि इथोपिया पुर्‍याइयो । सन् २००० मा उनले आफ्ना बुबालाई भेट्ने अवसर पाए । उनले आफ्नो शिक्षा पनि परिवारकै आफन्तको सहयोगबाट पूरा गरेका हुन् ।

मार्कसले स्विडिस हजुरआमा हेल्गाबाट खानाका परिकार बनाउन सिकेका हुन् । हेल्गाले आफ्नो जीवनको अधिकांश समय घरेलु काम गरेर बिताएकी थिइन् । त्यसक्रममा उनले बनाएको रोस्टेट चिकन, विभिन्न अचार र जामहरू बजारमा लोकप्रिय थिए । मार्कसले गोथेन्बर्गस्थित कलिनरी इन्स्टिच्युटबाट उत्तीर्ण भएपछि सन् १९८९ मा स्विजरल्यान्ड हानिए, पछि अस्ट्रिया र फ्रान्सपछि अमेरिका छिरेका हुन् ।

सन् १९९४ मा स्विडिस रेस्टुरेन्ट ‘अक्वाभिट’ ले उनलाई न्युयोर्कका लागि छनोट गर्‍यो । त्यहाँ उनलाई कार्यकारी सेफको जिम्मेवारी दिइयो । उनको व्यवस्थापनमा रेस्टुरेन्टले केही महिनाभित्रै ‘द न्युयोर्क टाइम्स’ बाट ‘थ्री स्टार्स’ को उपाधि हात पार्‍यो । २३ वर्षका उनी ३ स्टार रेटिङ पाउनेमा सबैभन्दा कान्छो बन्न पुगे । बिस्तारै बिस्तारै आफ्नो अनुभव बढाउने क्रममा फ्लाट, स्पोन्जी इन्जिरा ब्रेडसमेत बनाउन सिके । संयोगबस उनले अफ्रिकी क्युसिनबारे कुकबुक पनि लेख्न पुगे । त्यसको बिक्री हवात्तै पढेपछि आम्दानीको अर्को स्रोत उनलाई जुटयो ।

सन् २००९ मा तत्कालीन राष्ट्रपति बराक ओबामाको प्रशासनले हवाइट हाउसमा आयोजना गरेको ‘फस्ट स्टेट डिनर’ का लागि अतिथि सेफका रूपमा उनले काम गरेका थिए । त्यो भोज तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको सम्मानमा आयोजना गरिएको थियो । ठूलो परिणाममा साकाहारी भोजन बनाइएको थियो ।

मार्कसले यसका लागि हवाइट हाउसको बगैंचामा लगाइएका सागपातहरूको प्रयोगसमेत गरेका थिए । सन् २०११ मा ‘रेड रोस्टर’ बाट रकम उठाउने कार्यका लागि सहयोग गरेबापत तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्मान गरेका थिए । उक्त कार्य ‘नेसनल डेमोक्रेटिक पार्टी’ का लागि रकम उठाउने उद्देश्यले गरिएको थियो । त्यहाँ १ दशमलव ५ मिलियन अमेरिकी डलर उठेको थियो ।

(एजेन्सी)

प्रकाशित : श्रावण १९, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?