२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उपत्यकाबाहिर सेयर कारोबार बढ्दो

यज्ञ बञ्जाडे

काठमाडौँ — गएको आर्थिक वर्ष काठमाडौं उपत्यकाबाहिर सेयर कारोबार करिब साढे दस प्रतिशतले बढ्यो । मुलुकका प्रमुख सहरहरूमा धितोपत्र कारोबार विस्तार हुनुका साथै सर्वसाधारणमा सेयर बजारसम्बन्धी जानकारी बढेपछि उक्त अवधिमा मोफसलमा सेयर कारोबार बढेको हो ।

उपत्यकाबाहिर सेयर कारोबार बढ्दो

गत आर्थिक वर्ष उपत्यकाबाहिर मात्र २४ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष यस्तो कारोबार १८.७० प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७३/७४ मा मोफसलमा मात्र २२ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । वित्तीय साक्षरता विस्तारसँगै बजारमा भित्रिएको आधुनिक प्रविधि (आश्वा तथा सीआस्वा) को कारणले मोफसलमा सेयर कारोबार बढेको धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले बताए ।

‘डिम्याट कारोबार सुरु भएसँगै आस्वा र सीआस्वामार्फत लगानीकर्ताले आफूलाई पायक पर्ने बैंकको शाखामा गएर लगानी गर्न सक्छन्,’ उनले भने, ‘एकातिर वित्तीय साक्षरता बढ्यो, अर्कोतिर कारोबारमा पहुँच र प्रविधिले झनै सहज बनायो ।’ गत वर्ष धेरैवटा सहरमा ब्रोकरको शाखा विस्तार भएको छ । लगानीकर्ताले आफ्नो घरपायकबाटै सेयर कारोबार गर्ने सुविधा पाएपछि सेयर बजारमा आकर्षित भएको उनले बताए ।

यससँगै मुलुकभरको कुल कारोबारमा उपत्यकाबाहिरको हिस्सा पनि बढेको छ । गत आर्थिक वर्ष मुलुकभर १ खर्ब २१ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त कारोबारमा २०.२७ प्रतिशत हिस्सा (२४ अर्ब ६० करोड रुपैयाँ) उपत्यकाबाहिरको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कुल वार्षिक सेयर कारोबारमा मोफसलको हिस्सा करिब दोब्बर भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो हिस्सा १०.८५ प्रतिशत थियो । आर्थिक वर्ष ०७३/७४ मा मुलुकभर २ खर्ब ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोही अवधिमा उपत्यकाबाहिर २२ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष धेरै स्थानमा ब्रोकर शाखा विस्तार हुनु कारोबार रकम बढ्नुको प्रमुख कारण भएको स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘अहिले सेयरमा लगानी गर्दा प्रक्रियागत झन्झट छैन,’ उनले भने, ‘ आफूलाई पायक पर्ने स्थानबाटै सेयरमा लगानी गर्न सकिन्छ ।’

अघिल्लो वर्षको तुलनामा गत वर्ष मुलुकको कुल सेयर कारोबार करिब साढे ८३ अर्ब रुपैयाँले घटेको छ । उक्त अवधिका नेप्से परिसूचकसँगै कारोबार रकम पनि धेरैले घटेपछि कुल कारोबारमा कमी आएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार हाल मोफसलका १७ वटा सहरहरूमा ४१ वटा रिमोट वर्क स्टेसन (आरडब्लूएस) मार्फत ब्रोकर कम्पले सेयर खरिद–बिक्री सुविधा दिइरहेको छन् ।

ती स्थानबाट लगानीकर्ताले दोस्रो बजारमा सिधै सेयर कारोबार गर्न पाउँछन् । तर, ती शाखाबाट प्रदान हुने सेवा सुविधामा प्रभावकारिता ल्याउन नियामक निकायहरूले शाखाहरूको अवस्था, कामकारबाही, कम्प्लायन्स, सेवाको गुणस्तर लगायत पक्षको शूक्ष्म निरीक्षण गरी आवश्यक कदम चाल्नुपर्ने विज्ञहरूको सुझाव छ ।

नेपाली सेयर बजार तीव्र गतिमा आधुनिकीकरणको बाटोमा छ । सोही प्रक्रियाअन्तर्गत नयाँ आर्थिक वर्षको सुरुदेखि (यही साउन १ गते) नै नेप्सेले स्वचालित (फुल्ली अटोमेटेड) कारोबार परीक्षणका रूपमा गरिरहेको छ । केही महिनाको परीक्षण कारोबारपछि बजारलाई पूर्ण रूपमा विद्युतीय बनाउने नेप्सेले जनाएको छ । तोकिएको समयमा विद्युतीय कारोबार सुरु हुन सकेमा यो तीन दशकयताकै ठूलो र महत्त्वपूर्ण उपलब्धि हुने विज्ञहरू बताउँछन् । अनलाइन कारोबारको आगमनसँगै हाल बजारमा देखिएका बहुसंख्यक समस्या समाधान हुने उनीहरूको तर्क छ । यो व्यवस्थाले उपत्यकाबाहिरको सेयर कारोबार झनै विस्तार हुने जनाइएको छ ।

अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष सेयर बजार नयाँ लगानीकर्ता घटेका छन् । चालु आर्थिक वर्षमा सेयर बजारमा ८७ हजार २ सय ७८ जना नयाँ लगानीकर्ता भित्रिए । बजार घट्दो प्रवृत्तिमा रहेकाले नयाँ लगानीकर्ता भित्रिने क्रम घटेको हो । गत वर्ष बजारमा थपिएका नयाँ लगानीकर्ताको तुलनामा यो वर्षको संख्या करिब ६८ हजारले कम हो । आर्थिक वर्ष ०७३/७४ मा सेयर बजारमा १ लाख ५५ हजार ६ सय ८९ नयाँ लगानीकर्ता भित्रिएका थिए । हाल दोस्रो बजारमा १२ लाख ३६ हजार ५४ जना लगानीकर्ता रहेको नेप्सेको तथ्यांक छ ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?