३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अण्डा बजारमा १४ किसानलाई ७ रुपैयाँ मात्र

अर्जुन राजवंशी

दमक — मूल्य घटेपछि झापाका अण्डा उत्पादक किसान मारमा परेका छन् । किसान, अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन सकिरहेका छैनन् ।जिल्लामा अण्डाको मूल्यमा तीन महिनायता गिरावट आएको हो ।

अण्डा बजारमा १४ किसानलाई ७ रुपैयाँ मात्र

अण्डा उत्पादनमा वृद्धि तथा बाहिरी जिल्लाबाट आयातित अण्डाका कारण मूल्यमा भारी गिरावट आएको अण्डा उत्पादक संघले जनाएको छ ।

जिल्लामा अहिले अण्डा प्रतिगोटा ७ रुपैयाँ ६१ पैसामा बिक्री गरिरहेको संघका पूर्वअध्यक्ष भरत चम्लागाईले बताए । उनले गत वर्ष यही सिजनमा प्रतिगोटा ११ रुपैयाँमा बिक्री गरेको बताए । अहिले अण्डाको प्रतिकार्टुन १४ सयदेखि २ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ । चम्लागाईले यही सिजनमा गत वर्ष प्रतिकार्टुन २ हजार ४ सयदेखि २ हजार ६ सय रुपैयाँसम्ममा बिक्री गरेको बताए ।

जिल्लामा ७० वटा लेयर्स कुखुराका फार्म छन् । ती फार्ममा तीन लाख २५ हजार कुखुरा छन् । जिल्लामा दैनिक एक लाख ५७ हजार ५ सय अण्डा उत्पादन हुने गरेको छ । उक्त संख्या ७ सय ५० कार्टुन हुन्छ । तर, जिल्लामा दैनिक एक लाख ३० हजार मात्र अण्डा खपत हुने गरेको छ । चम्लागाईले भने, ‘सामग्रमा भन्नुपर्दा तीन महिनायता अण्डा उत्पादनमा प्रतिकार्टुन एक हजार ८ सय रुपैयाँ खर्च भइरहेको छ । तर, आम्दानी प्रतिकार्टुन एक हजार ६ सय रुपैयाँ मात्रै हुने गरेको छ ।’

मूल्य गिरावट तीन महिनासम्म रहँदा जिल्लाका किसानले मासिक करोडौं घाटा बेहोर्नुपरिरहेको संघका जिल्ला उपाध्यक्ष देवेन्द्र प्रसाईंले बताए । ‘तीन महिनादेखि दैनिक घाटा सकेर व्यवसाय गरिरहेका छौं,’ प्रसाईंले भने, ‘घाटा पूर्ति कसरी गर्ने कुनै उपाय देखिरहेका छैनौं । बजार मूल्य तत्काल सुध्रिएन भने हामीलाई थाम्न गाह्रो हुन्छ ।’

उनले दमक नगरपालिका १० मा ‘दमक एग्रिकल्चर फार्म’ सञ्चालन गरिरहेका छन् । उक्त फार्ममा २० हजार ८ सय लेयर्स कुखुरा छन् । फार्मबाट दैनिक १५ हजार २ सय अण्डा उत्पादन हुन्छ । उनले दुई बिघा क्षेत्रफलमा १२ वटा खोर निर्माण गरि व्यावसायिक अण्डा उत्पादन गरिरहेका छन् । उनले भने, ‘मेरो फार्म अहिले मासिक ३ लाखभन्दा बढी घाटामा चलिरहेको छ ।’ उनका अनुसार फार्ममा १७ जना कर्मचारीलाई मासिक २ लाख ६१ हजार रुपैयाँ, दानामा मासिक ३४ लाख ३२ हजार, कुखुराको औषधिमा एक लाख, अण्डा बोक्ने दुईवटा गाडी, एउटा मोटरसाइकल तथा अन्य विविध खर्च एक लाख गरी मासिक करीब ४० लाख खर्च हुने गरेको प्रसाईंले बताए । तर, तीन महिनायता अण्डा बिक्रीबाट मासिक ३६ लाख ९१ हजार रुपैयाँ मात्र आम्दानी हुने गरेको उनले बताए । ‘यस्तो अवस्थामा व्यवसाय कसरी धान्ने ? मासिक आम्दानीभन्दा खर्च नै ३/४ लाख रुपैयाँ बढी भइरहेको छ,’ उनले भने ।

अण्डाको बजार सुधार गर्न सरकारले विशेष कदम चाल्नुपर्ने संघका जिल्ला सचिव राजेन्द्रप्रसाद भण्डारीको आग्रह छ । उनले अहिलेकै अवस्था रहे ५ वर्षभित्र जिल्लाका सबै अण्डा उत्पादक किसान ठूलो ऋणको भारमा डुब्ने र टाँट पल्टिने अवस्थामा रहेको बताए ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?