बैंकहरूको सेयरमा आकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्ला केही सातायता वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । साप्ताहिक कारोबारमा बैंकिङ समूहको हिस्सा बढ्दै जानुले यो देखाउँछ ।

बैंकहरूको सेयरमा आकर्षण

सामान्यतया कुल सेयर कारोबारमा बैंकिङ समूहको हिस्सा औसत ४५ देखि ५० प्रतिशतमा रहँदै आएको छ । तर, करिब तीन महिनायता (खासगरी बैंकहरूले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेपछि) बैंकिङ समूहको साप्ताहिक कारोबार हिस्सा करिब २८ प्रतिशतको झर्‍यो ।

उक्त अवधिमा बिमा र लघुवित्त समूहको हिस्सा बढेको थियो । उक्त अवधिमा वाणिज्य बैंकहरूको मुनाफा मात्र होइन सेयरधनीको प्रतिफल (आरओई) मा पनि उल्लेख्य कमी आएको थियो । यही कारण ती कम्पनीहरूको सेयरमा लगानीकर्ताको आकर्षण घटेको हो ।

यो साता कुल कारोबारमा बैंकिङ समूहको हिस्सा ४३.१२ प्रतिशत रह्यो । गत साता यो समूहको यस्तो हिस्सा ३५.८७ प्रतिशत थियो ।अहिले परिस्थिति बदलिँदै छ । बैंकहरूले धमाधम गत आर्थिक वर्षको अन्तिम त्रैमासको वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । तेस्रो त्रैमासको तुलनामा वित्तीय विवरणहरू सुधारिएका छन् । तीनै वित्तीय विवरणका आधारमा बैंकहरूले गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने हो । बैंकहरूबाट आकर्षण लाभांश घोषणा हुने संकेत वित्तीय विवरणहरूले देखाएकाले ती कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढेको धितोपत्र ब्रोकरहरू बताउँछन् ।

गत साताको तुलनामा यो साता कुल कारोबारमा बिमा समूहको हिस्सा घटेको छ । यो साता कुल कारोबारमा बिमा समूहको हिस्सा १३.९२ प्रतिशत छ । गत साता यो १५.७३ प्रतिशत थियो । यसैगरी, उक्त अवधिमा कुल साप्ताहिक कारोबारमा संस्थापक सेयरको हिस्सा १०.२१, लघुवित्तको ९.०६, विकास बैंकको ८.८२ र जलविद्युत्को हिस्सा ६.८७ प्रतिशत रहयो ।

साताभर बजारमा १ अर्ब ७ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम १.९४ प्रतिशत बढी हो । उक्त अवधिमा करिब १५ हजार ३ सय कारोबारबाट १ सय ८१ कम्पनीका ४० लाख ८४ हजार ५ सय २० कित्ता सेयर खरिद–बिक्री भए । गत साता ३९ लाख ४५ हजार ७ सय ६० कित्ता सेयर कारोबार हुँदा १ अर्ब ५ करोड ६२ लाख रुपैयाँ परिचालन भएको थियो । यसले साप्ताहिक रूपमा कारोबार रकम करिब स्थिर रहेको स्पष्ट हुन्छ ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?