डीडीसीले मिसावट दूध नष्ट गर्ने

दूध फिर्ता गर्दा पुन: बजारमा आउन सक्ने जोखिम
सुरज कुँवर

काठमाडौँ — सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी दिनमा दुग्ध उत्पादक सहकारीमार्फत संकलन हुने मिसावटयुक्त दूध नष्ट गर्ने निर्णय गरेको छ ।

डीडीसीले मिसावट दूध नष्ट गर्ने

डीडीसीको सञ्चालक समितिका विषय विशेषज्ञ सदस्य डा. विशाल बाँस्तोलाका अनुसार भदौदेखि डीडीसीले बासी दूधको आयु बढाउन प्रयोग गरिने न्युट्रलाइजरहरू कास्टिक सोडा, चिनी, नुन, माल्टोज, गुलकोजलगायतका मानव स्वास्थ्यलाई हानिकारक रासायनिक तत्त्व भेटिएमा त्यस्तो दूधलाई तत्काल नष्ट गर्ने र रकम पनि भुक्तानी नदिने भनेको छ । ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहको केन्द्रीय प्रयोगशाला र राष्ट्रिय दुग्ध विकास बोर्डका प्रतिनिधिको रोहबरमा दूषित र मिसावट दूध नष्ट गर्ने निर्णय गरेका छौं,’ पशु चिकित्सक बाँस्तोलाले कान्तिपुरसँग भने ।

डीडीसीले खरिद गर्ने दूधको गुणस्तर बालाजुस्थित आफ्नै आयोजनाको प्रयोगशालामा जाँच्नेछ । पहिलो चरणमा दैनिक कम्तीमा ५ हजार लिटर दूध डीडीसीलाई बिक्री गर्दै टीएस (टोटल सोलिड) शीर्षकमा प्रतिलिटर ३ रुपैयाँ अतिरिक्त पाउँदै आएका दुग्ध उत्पादक सहकारीको दूध जाँच्ने भनेको छ ।

यो शीर्षकमा ०७५ असार १५ सम्म इलाम, धनकुटा, चितवन, मकवानपुर, रूपन्देही, काभ्रे र भक्तपुरका दुग्ध उत्पादक सहकारीले अतिरिक्त रकम पाउँथे । यो शीर्षकमा मात्रै डीडीसीलाई वार्षिक ५ करोड रुपैयाँ अतिरिक्त खर्च भार थियो ।

‘प्रतिलिटर दूधको न्यूनतम समर्थन मूल्य ४९ रुपैयाँ हाराहारी छ । तर, डीडीसीले किसानका सहकारीलाई दूधमा हुने चिल्लो पदार्थ (फयाट) र ठोस वस्तु (एसएनएफ) को मात्राका आधारमा अधिकतम प्रतिलिटर ६० रुपैयाँसम्म दिन्छ । यसबाहेक डीडीसीले आफूलाई दैनिक ५ हजार लिटर दूध उपलब्ध गराउने ६ जिल्लाका मात्रै सहकारीलाई टीएस शीर्षकमा प्रतिलिटर ३ रुपैयाँ सहकारी सञ्चालन खर्च र ३ रुपैयाँ अतिरिक्त गरी ६ रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

तर, डीडीसीले असार १६ देखि लागू हुने गरी दुग्ध उत्पादक सहकारीलाई प्रतिलिटरमा ३ रुपैयाँका दरले दिँदै आएको ‘अतिरिक्त रकम’ कटौती गरी अब उप्रान्त यो मूल्य बराबरको दाना उपलब्ध गराउने भएको छ । यसरी अतिरिक्त सुविधा लिने दुग्ध सहकारीकै दूधमा मिसावट देखिएपछि डीडीसीले भदौदेखि लागू हुने गरी यिनै सहकारीबाट दूधको गुणस्तर जाँच्ने र दूषितलाई नष्ट गर्ने निर्णय गरेको हो ।

‘कृषिमन्त्रीले पनि दूषित दूध नष्ट गर्न निर्देशन दिनुभएको छ,’ डीडीसीका सञ्चालक समितिका एक अधिकारीले भने, ‘हामीले दूषित दूध फिर्ता गर्ने निर्णय गरेका थियौं । फिर्ता गर्न अव्यावहारिक भएकाले नष्ट गर्ने कार्यविधि बनाएका छौं ।’ ती अधिकारीका अनुसार यदि फिर्ता गरिए पुन: बजारमा साना डेरीमार्फत उपभोक्तासमक्ष उक्त दूध आउन सक्ने भएकाले नष्ट गर्ने निर्णय गरिएको हो ।

यसैबीच डीडीसीले गुणस्तरहीन र मिसावट भएको दूध बुझ्ने कर्मचारीलाई पनि निलम्बन गर्ने नियम बनाएको छ । ‘पहिले संस्थानको विनियम यसबारे मौन थियो । अब भने कुनै कर्मचारीमार्फत दूषित दूध भित्रिए कर्मचारीलाई निलम्बनसम्मको कानुन समितिबाट पारित गरेका छौं,’ सञ्चालक समितिका सदस्य डा. बाँस्तोलाले भने ।

डीडीसीले दैनिक १ लाख लिटर हाराहारी दूध बजारमा पठाउँछ । यसमध्ये सबैभन्दा धेरै दूध बालाजु आयोजनामा प्रशोधन हुन्छ । त्यहाँ दैनिक ६० देखि ७० हजार लिटर दूध प्रशोधन हुने गर्छ । मुलुकमा सबैभन्दा धेरै दूध र दुग्ध पदार्थ बिक्री गर्ने डीडीसीले देशभरका १ हजार २ सय सहकारीबाट दैनिक ९० हजारदेखि १ लाख लिटर हाराहारी दूध संकलन गर्छ । यो संस्थासँग १ लाख हाराहारी किसान आबद्ध छन् ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?