भूमिगत प्रसारण लाइन: आधा काम सकियो

बाँकी काम २ महिनामा सक्न निर्देशन
कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनमध्ये भूमिगत गरिने खण्डको काम करिब आधा सकिएको छ । नेपालमै पहिलोपटक १ हजार ३ सय ९ मिटर लामो भूमिगत प्रसारण लाइन निर्माणाधीन छ ।

भूमिगत प्रसारण लाइन: आधा काम सकियो

यो प्रसारण लाइनको मातातीर्थ क्षेत्रमा भूमिगत रूपमा तार बिछयाइएको हो । भूमिगत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

हालसम्म करिब ६ सय ३० मिटर भूमिगत प्रसारण लाइन बिछयाउने काम सकिएको आयोजनाले जनाएको छ । २४ वटा तार राख्न मिल्ने गरी संरचना बनाइएको छ ।

आइतबार आयोजनास्थलको निरीक्षण गर्दै ऊर्जामन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले आयोजनाको बाँकी काम २ महिनाभित्र सक्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति र वन क्षेत्रको समस्या तत्काल समाधान भए दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । निर्माणका लागि अहिले २ सय ७० श्रमिक परिचालित छन् ।

रूख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका थिए ।
‘स्थानीयलाई मिलाउँछौं, गृह मन्त्रीसँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौं, रूख कटानमा रहेको समस्या समाधान गर्छौं,’ मन्त्री पुनले भने, ‘सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नुपर्छ ।’

मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्ने ६ सय ८२ वटा रूख काट्न स्वीकृति दिएको थियो । तर, अहिले प्रसारण लाइनको रुट केही परिर्तन हुँदा काट्नुपर्ने रूखको संख्या घटेर ३ सय ३६ वटा मात्र छ ।

रूख कटान स्वीकृतिका लागि फाइल वन विभागमा पुगेको छ । रूखको संख्या घटेकाले स्वीकृतिका लागि पुन: पेस गर्नुपरेको आयोजनाले जनाएको छ । काट्नुपर्ने रूखमा टाँचा लगाइसकिएको छ ।

भूमिगत लाइनका लागि सडक खन्दा हिलो भएको भन्दै स्थानीयले काममा अवरोध गर्दै आएका छन् ।

हिलो बाटोमा ढुंटागिट्टी हालेर समस्या समाधान गर्न पनि ऊर्जामन्त्री पुनले निर्देशन दिएका छन् ।

प्रसारण लाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली ‘ए’ को विद्युत् काठमाडौं ल्याउन निर्माण गरिएको हो । माथिल्लो त्रिशूली ‘ए’ को निर्माण आगामी पुसभित्र सक्ने लक्ष्य राखिएको छ । त्यसले पनि प्रसारण लाइन सोही अवधिभित्र बनाइसक्नुपर्ने दबाब छ । ४५ किलोमिटर लामो प्रसारण लाइनका १ सय ४० वटा टावरमध्ये १ सय २७ को जग हालिसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए ।

यो प्रसारण लाइन आगामी दिनमा त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रसारण लाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा बनिरहेको हो ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?