कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरियो चियापत्ती भारततर्फ

कारखानाबीच तीव्र प्रतिस्पर्धा
विप्लव भट्टराई

इलाम — जिल्लामा चिया प्रशोधन कारखाना थपिँदै गए पनि हरियो चियापत्ती भारतीय कारखानामा जाने क्रम घटेको छैन । पूर्वी सीमावर्ती क्षेत्रमा उत्पादित हरियो चियापत्ती भारततर्फ जाने गरेको हो ।

हरियो चियापत्ती भारततर्फ

जसका कारण सीमावर्ती क्षेत्रका उद्योगमा क्षमताभन्दा कम चियापत्ती प्रशोधनका लागि आउने गरेको छ । दार्जिलिङको ओकाइटी, मिरिक, चारमाइललगायत स्थानमा रहेका बगानमा रहेका कारखानालाई पूर्वी गाउँका कृषकले हरियो चियापत्ती बिक्री गर्ने गरेका हुन् ।

अन्तु क्षेत्रबाट मात्र दैनिक झन्डै एक दर्जन गाडीमार्फत चियापत्ती पारिका कारखाना लगिने गरेको छ । ठाउँठाउँमा संकलन केन्द्र राखेर नै एजेन्ट चिया संकलन गर्ने गरेका छन् । सडक भएको स्थानबाट गाडीले र अन्यत्रबाट घोडामा बोकाएर संकलन केन्द्रसम्म हरियो चियापत्ती पुर्‍याइने गरेको छ । नेपालतर्फका कारखानाको तुलनामा केही बढी मूल्य दिने भएकाले धेरै कृषकले उताको चिया कारखानालाई बिक्री गरेका हुन् ।

सूर्योदय नगरपालिका क्षेत्रमा न्यूनतम मूल्य ४० रुपैयाँ तोकिएको छ । अब्बल चियाको मूल्य ४० तोकिएपछि सीमापारिका कारखानाले पनि प्रतिकिलो न्यूनतम १० रुपैयाँ बढी दिएर पत्ती खरिद गर्ने गरेका हुन् । अन्तु क्षेत्रमा मात्र आधा दर्जन ठूला चिया कारखाना सञ्चालनमा छन् । त्यस्तै साना कारखाना पनि खुल्ने क्रम बढ्दो छ ।

यहाँको चियाको फ्लेभर राम्रो हुने भएकाले त्यहाँका चिया काखानाले निकै खर्च गरेर भए पनि चियापत्ती लैजाने गरेका छन् । सीमापारिका कारखनाले बढी मूल्य दिने भएकाले कृषकलाई फाइदा छ ।

जिल्लामा नै धेरै चिया उत्पादन गर्ने इलाम टीले क्षमताअनुसार चियापत्ती आउन नसकेको जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा २५ हजार किलो तयारी चिया उत्पादन कम भएको इलाम टी प्रोडयुसर्सका मेनेजर ओम काफ्लेले जनाकारी दिए । अन्तु र पञ्चकन्यामा रहेका दुईवटा कारखानामा गरेर यो सिजनमा नै झन्डै ५० हजार किलो तयारी चिया कम उत्पादन भएको हो । ‘अन्तुबाट भारतीय कारखानामा चियापत्ती जाने र पञ्चकन्या क्षेत्रमा तीव्र प्रतिस्पर्धाका कारण क्षमताअनुसार प्रशोधन हुन सकेको छैन,’ काफ्लेले भने ।

इलाम टीको एउटा कारखानाको क्षमता दैनिक १५ हजार किलोसम्म छ । तर, दुवै कारखनामा क्षमताको आधा मात्र चियापत्ती आउने गरेको छ । उत्तिकै क्षमताको फिक्कल डाक्टखोलास्थित स्मल टीमा पनि आधा मात्र चिया आउने गरेको छ । ‘पूर्वका अधिकांश कारखानाको अवस्था उस्तै छ,’ स्मल टी का मेनेजर दीपक प्रधानले भने ।

अधिकांश ठूला चिया कारखानामा क्षमताअनुसार चियापत्ती आउन सकेको छैन । जिल्लामा दुई दर्जन ठूला चिया कारखाना छन् । तर, पछिल्लो समयमा कृषकस्तरबाट पनि कारखाना खुल्ने क्रम बढेको छ ।

उन्नति समावेशी वृद्धि कार्यक्रमले चिया उद्योग खोल्ने कृषकलाई प्रत्यक्ष सहयोग प्रदान गरेपछि साना र मझौला चिया कारखानाको संख्या बढेको हो । चिया धेरै उत्पादन हुने अधिकांश क्षेत्रमा कारखाना खुलेकाले सबै ठूला कारखानाले कम मात्र चियापत्ती पाउने गरेका छन् ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?