ग्राहक बढाउँदै जिनर्जी

नवीन पोखरेल

लन्डन — भूपू गोर्खाहरूको उल्लेख्य लगानी रहेको बेलायतस्थित ऊर्जा कम्पनी जिनर्जीले छोटो समयमै ग्राहकको संख्या बढाउँदै लगेको छ । सन् २०१४ को २४ नोभेम्बरदेखि औपचारिक रूपमा ग्यास र बिजुली आपूर्ति गर्ने काम थालेको कम्पनीले यो अवधिमा बेलायतभर झन्डै ११ हजार ग्राहक बनाइसकेको जनाएको छ ।

ग्राहक बढाउँदै जिनर्जी

सन् २०२० सम्म कम्तीमा ३० हजार ग्राहक पुर्‍याउने लक्ष्य कम्पनीको छ । भूपू गोर्खाहरूले व्यवस्थापन गरिरहेको उक्त कम्पनीमा २४ जना गोर्खा परिवारका युवा कार्यरत छन् ।

फार्नबोरोमा शनिबार आयोजित पत्रकार सम्मेलनमा जिनर्जीका प्रमुख कार्यकारी मेजर रिटायर्ड टिकेन्द्र दल देवानले बढ्दो विश्वसनीयता र गुणस्तरीय सेवाका कारण कम्पनी नाफा गर्न सफल भएको दाबी गरे ।

इच्छुक नेपालीलाई जिनर्जीमा लगानीको अवसर रहेको जानकारी दिँदै देवानले झन्डै चार वर्षको अवधिमा कम्पनीको कारोबार १ करोड २० लाख पाउन्ड पुगेको र करिब दुई सयभन्दा बढीले २८ लाख पाउन्ड लगानी गरिसकेको जानकारी दिए ।

‘नेपाली समुदायका घरमा सस्तो र सुलभ दरमा ग्यास र बिजुली आपूर्ति हाम्रो मुख्य प्राथमिकता छ,’ देवानले भने, ‘हामी विशुद्ध नेपाली कम्पनी भएकाले सबै नेपालीले गर्व गरी साथ दिनुहोस् । हामीसँग नेपाली भाषामै बोल्ने १८ स्नातक उत्तीर्ण युवा छन् र उनीहरूको माध्यमबाट सजिलै सेवा लिन सक्नुहुन्छ ।’

देवानले नाफा मात्र आफूहरूको उद्देश्य नभई नेपाली समुदायको हितका लागि काम गरिरहेको पनि बताए । बेलायतका कुनै पनि नेपाली संघसंस्थाले न्यूनतम १० घरलाई जिनर्जीको ग्राहक बनाउन सके ती संघसंस्थालाई प्रतिघर २० पाउन्ड रोयल्टी प्रदान गरिने बताए । साथै हरेक वर्ष ती ग्राहकको संख्याअनुसार उक्त संस्थालाई फेरि पनि प्रत्येक घरबमोजिम २० पाउन्ड दिइने कम्पनीले जनाएको छ ।

कम्पनीले अमेरिकी कम्पनी मसिनिस्ट्स यूएसए इंक तथा नेपालमा जलविद्युत् क्षेत्रका उसका साझेदारहरूसँग र वेल्समा विद्युत् उत्पादनको क्षेत्रमा सहकार्य गरिरहेको जनाएको छ ।
जिनर्जीले आफूले सहकार्य गरिरहेका समूहसित मिलेर नेपालमा हाइड्रोपावर प्रोजेक्ट सञ्चालनको तयारी गरिरहेको समेत जनाएको छ ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?