व्यवसाय गर्ने भए छथर जानुस् 

गाउँपालिकाद्वारा ५ लाखसम्म अनुदान दिने घोषणा
चन्द्र कार्की

तेह्रथुम — छथर गाउँपालिकामा जनसंख्या बढ्दो होइन घट्दो छ । सहरी क्षेत्रमा बसाई सराईका कारण छथरको जनसंख्या उल्लेख्य रुपमा घटेपछि अहिले स्थानीय जनप्रतिनिधिको टाउको दुखाई बनेको छ ।

व्यवसाय गर्ने भए छथर जानुस् 

बढ्दो बसाई सराई र घट्दो जनसंख्याको समस्यालाई हल गर्नेका उदेश्यले हालै मात्र गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा अनुदानको व्यवस्था गरेको छ । यसले एकतिर जनसंख्या घट्ने समस्या कम हुने अपेक्षा गरिएको छ भने अर्कोतिर जिल्लामा पुँजी र प्रविधि पनि भित्रिने संभावना बढाएको छ ।


'अन्यत्रबाट बसाई सरेर आएकालाई व्यावसायिक योजनाको आधारमा एकदेखि ५ लाख रुपैंयासम्म अनुदान दिने नीति लिएका छौं' गाउँपालिका अध्यक्ष सन्तविर लिम्वुले बताए । स्थानीय तहले अघि सारेको यो कार्यक्रम सम्भवत नेपालमै पहिलो भएको दावी गाउँपालिकाले गरेको छ ।


हाल गाउँपालिकामा १६ हजार ७ सय १५ जनसंख्या रहेको छ । अगामी पाँच वर्षमा जनसंख्या वढाएर २५ हजार पुर्‍याउने लक्ष्य लिईएको लिम्वुले बताए । न्युन जनसंख्याका कारण गाउँपालिकाको विकासमै समस्या हुन थालेपछि यस्तो नीति अघि सारिएको उनको भनाई छ ।


गाउँपालिका भित्रका जुनसुकै वडामा बसाई आउने जो कोहीले सुविधा पाउनेछन् । तर त्यसका लागि आफुले के काम गर्ने ? भन्ने व्यावसायिक योजना भने गाउँपालिकामा पेश गर्नुपर्नेछ ।


आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा नै व्यवस्था गरेर उक्त सुविधा दिन लागिएको हो । गाउँपालिकाका प्रवक्ता राजन नेपालीका अनुसार चालु आवको पहिलो चरणमा नमुनाको रुपमा १० लाख रुपैंयाको बजेट छुट्याईएको छ ।


अन्यत्रबाट बसाई आउनेको संख्याको आधारमा सो बजेटलाई बृद्धि गर्दै लैजाने अध्यक्ष लिम्वुले वताए । ‘बसाई आउनेले गाउँपालिकामा पेश गरेको व्यावसायिक योजनाको आधारमा सुविधा दिन्छौं’ अध्यक्ष लिम्वुले भने ‘साउन १ गते यता बसाई सरी आउनेले यो सुविधा पाउनेछन् ।’


अन्यत्रबाट आई गाउँपालिका भित्र तरकारी खेती, पशुपालन, कृषि तथा अन्य उद्योगलागयतका क्षेत्रमा व्यवसाय गर्नेलाई प्राथमिकतामा राखेर अनुदान दिने व्यवस्था गरिएको हो । गाउँपालिकाको पञ्चकन्या, ओख्रे, फाक्चामारा, हमरजुङलगायतका गाउँबाट बसाई सरेर अन्यत्र जानेको संख्या वर्षेनी बढ्दो छ । बसाई जानेको यो दरलाई रोक्न पनि यो कार्यक्रमले सहयोग पुर्‍याउने प्रवक्ता नेपालीले बताए ।


सुविधाको खोजिमा अन्यत्र बसाई सरेर गएका यहाँका नागरिकलाई आगामी २० वर्ष भित्रमा यही गाउँपालिकामा सुविधा खोज्दै आउने गरी बिकासका कामलाई अगाडी बढाईएको पनि अध्यक्ष लिम्बुले बताए ।


गाउँले के कारणले बसाई सर्छन् ? भनेर अध्ययन गरिएको र अध्ययन पछि यस्तो कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ । सडक, यातायात, पानी, सुरक्षा, विजुली, शिक्षा, स्वास्थ्य, रोजगार, आम्दानीलगायतको खोजीमा गाउँलेहरु बसाई सरिरहेको निष्कर्ष गाउँपालिकाले निकालेको छ ।


गाउँपालिकाले प्राथमिकतामा सडक, खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य, विद्युत र रोजगार मुलुक उद्योग स्थापनालाई राखेकफ छ । आगामी ५ वर्ष भित्रमा छथर गाउँपालिका भित्र विकासका पुर्वाधारहरु पर्याप्त मात्रामा निर्माण भइसक्ने भएकाले धैर्य गरेर वस्न नागरिकलाई गाउँपालिकाले अनुरोध समेत गरेको छ ।


ग्रामीण युवाहरु रोजगारका लागि वर्षेनी खाडीमुलुक जाँदा जन्मदर पातलिएको पनि अध्यक्ष लिम्वुले बताए । त्यसका लागि युवाहरुलाई विदेश नै जान नपर्ने गरी गाउँपालिका भित्रै रोजगारी सृजना गर्ने कार्यक्रम ल्याएको पनि उनको दावी छ ।


युवालाई व्यावसायिक बनाउन छुट्टै कार्यक्रम नै बनाएर बजेटको व्यवस्था गरिएको उनले बताए । गाउँपालिकालाई जिल्लाकै अन्य स्थानीय तह भन्दा फरक र नमुना गाउँपालिका बनाउन तरकारी, दुध, पशुपालन, बंगुरपालन, फलफुल र पर्यटन व्यवसायमा युवाहरुलाई आकर्षित गरिएको उनले जनाए।


प्रकाशित : श्रावण २१, २०७५ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?