ठूला उद्योग खुल्दै

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा ठूला उद्योग स्थापना हुने क्रम बढेको छ । भारतीय नाकासित नजिक र पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने भएकाले धमाधम उद्योग खुल्दै छन् ।

ठूला उद्योग खुल्दै

अहिले जर्मन प्रविधिको वास्र्टेनर बियर, पेप्सी, रुस्लान, हुलासको खाद्यान्न, अटो मोबाइल्स कागज र सिमेन्ट कारखाना सञ्चालनमा आइसकेका छन् । थप उद्योगले जग्गा किनेर भौतिक संरचना निर्माण गरिरहेका छन् ।

पछिल्लो समय जिल्लाको भुमहीदेखि रूपन्देही सिमानासम्म औद्योगिक करिडोरका रूपमा विकास भइरहेको छ । उक्त खण्डअन्तर्गत सडक दायाँबायाँ ठूला उद्योग सञ्चालन भएका छन् । ठूला लगानी बढेकाले केही वर्षमा जिल्ला औद्योगिक हब बन्ने उद्योग वाणिज्य महासंघ प्रदेश ५ का संयोजक गुणनिधि तिवारीले बताए । ‘दुई वर्षभित्र जिल्लामा २७ वटा ठूला उद्योग थपिएका छन्,’ उनले भने, ‘ठूला लगानीकर्ताले जिल्लालाई प्राथमिकता दिएका छन् । उनका अनुसार दर्जनाैं उद्योग सञ्चालनको पर्खाइमा छन् । तीन वर्षमा मात्र करिब १० अर्ब रुपैयाँ लगानी जिल्लामा भित्रिएको उनले बताए । १३ वटा ठूला उद्योग सञ्चालनमा छन् । थप १४ वटा सञ्चालनका लागि जग्गा र भौतिक संरचना निर्माणमा लागेका छन् ।

सरकारले महेशपुरलाई मूल भन्सारका रूपमा सञ्चालन गर्ने निर्णय गरेपछि लगानीकर्ता थप आकर्षित भइरहेका छन् । भैरहवा भन्सारले मात्र यस क्षेत्रमा आयात–निर्यात हुने वस्तुको भार थेग्न नसक्ने भन्दै नयाँ नाकाबाट थप सहज हुने भन्दै भुमही भैरहवाको बाइपास सडक वरपर उद्योग सञ्चालन भइरहेका छन् । भैरहवा भन्सारले मात्रै उद्योगका लागि आवश्यक कच्चा पदार्थ, उपकरणलगायत मालवस्तु ढुवानी गर्दा महिनौं सुनौली नाकामा आएर थन्किने गर्थे ।

महेशपुर भन्सार भारतको कोलकाता बन्दरगाहदेखि सबैभन्दा नजिकको नाका हो । जिल्लामा ठूला लगानीका उद्योगसँगै साना लगानीका उद्योग, लघु उद्यममा युवाहरूको आकर्षण बढेको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताए । जिल्लामा उद्योग थपिँदै गएको हुँदा अब संघले सञ्चालन गर्दै आएको तालिम केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गरेर दक्ष जनशक्ति तयार पार्न लागिपर्ने भण्डारीले बताए ।

प्रकाशित : श्रावण २२, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?