पर्यटक उद्धार अब प्रहरीले गर्ने
काठमाडौँ — पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरूलाई फर्जी बिरामी बनाई बिमा शुल्कमार्फत चर्को रकम असुल्दै आएका ट्रेकिङ एजेन्सी र हेलिकप्टर कम्पनीहरूले गर्दै आएको खोज तथा उद्धार कार्य अब नेपाल प्रहरीमार्फत हुने भएको छ ।
पर्यटन मन्त्रालयले गठन गरेको कार्यदलले गत साता मन्त्री रवीन्द्र अधिकारीलाई बुझाएको प्रतिवेदनले उद्धारजस्तो मानवीय कार्यलाई अबदेखि प्रहरीमार्फत गराउन यस्तो सिफारिस गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता प्रकाश शर्माका अनुसार यसै शरदकालीन सिजन (सेप्टेम्बर–नोभेम्बर) देखि लागू हुने गरी नेपालभित्र हुने पर्यटक उद्धार सम्बन्धी सबै कार्य नेपाल प्रहरीबाट गराउन कार्यदलले सिफारिस गरेको छ ।
मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वको कार्यदलले यस विषयलाई मन्त्रिपरिषद्बाट निर्णय गराउन बाँकी छ । मन्त्रिपरिषद्ले पारित गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटक उद्धार समन्वय कक्ष’ हुनेछ । त्यहाँ राखिने टोल फ्री नम्बर टेलिफोनबाट प्राप्त हुने सूचनाका आधारमा प्रहरीले उद्धारका लागि हेलिकप्टर उडाउने अनुमति पाउनेछ ।
हाल केही ट्ेरकिङ कम्पनीहरूले पर्यटकको खोज तथा उद्धार कार्यलाई व्यापारीकरण गर्दै आएका छन् । नेपालको पदयात्रा र पर्वतारोहणमा भएका उद्धारका घटनाबारे विश्व पर्यटन बजारमा नकारात्मक सन्देश प्रवाह भएपछि पर्यटनमन्त्री अधिकारीले जेठ २१ गते मन्त्रालयका सहसचिव उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदललाई असार १५ भित्र प्रतिवेदन बुझाउने भाका दिँदै मन्त्रालयले पर्यटन क्षेत्रमा हुँदै आएका उद्धारसम्बन्धी समस्या समाधानका सुझाव सिफारिस गर्न कार्यादेश दिएको थियो ।
कार्यदलले पर्वतारोहण तथा पदयात्रा खोज तथा उद्धारसम्बन्धी कार्यविधि १५ दिनभित्र बनाई लागू गरिसक्नुपर्ने भनेको छ । कार्यदलले सार्वजनिक खरिद ऐन/नियमावलीअनुसार प्रहरीले उद्धारका लागि प्रतिस्प्रर्धामार्फत हेलिकप्टर कम्पनी र अस्पताल छनोट गर्नुपर्ने भनेको छ । तत्काल प्रहरीले आफ्नो कल्याण कोषबाट खर्च गर्नुपर्ने पछि बिमा दाबी गरी सोधभर्ना गर्नुपर्नेछ ।
पर्यटकलाई नियोजित रूपमा बिरामी बनाउने, खानेकुरामा अखाद्य वस्तु मिसावट गर्ने, एउटै उडानमा धेरै पर्यटकको उद्धार गर्ने तर बिमा कम्पनीमा दाबी रकम माग्दा व्यक्तिपिच्छे बिल जारी गरेर बढी रकम लिने गर्थे । यसैबीच कार्यदलले विदेशी मुद्रा कारोबारको अनुमति नलिई पर्यटक उद्धारमा भाडाबापत अमेरिकी डलर भुक्तानी दाबी गर्ने ५ कम्पनीलाई छानबिन गरी कारबाही गर्न भनेको छ । त्यसैगरी पर्यटकको अत्यधिक महँगो उपचार शुल्क लिने छवटा अस्पताललाई पनि छानबिन गरी कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरिएको छ ।
कार्यदलले उजुरीका आधारमा १० वटा हेलिकप्टर कम्पनी, छवटा अस्पताल, ३६ वटा ट्राभल/ट्ेरकिङ/उद्धार एजेन्सीमाथि अनुसन्धान गरेको थियो । ती कम्पनीहरूको विवरणअनुसार उद्धारजस्तो मानवीय कार्यमा बेमनासिव ढंगले अत्यधिक नाफा आर्जनका लागि उच्च मूल्यमा उद्धार गरी बिमा दाबी गर्ने आठ ट्राभल/ट्ेरकिङ/उद्धार एजेन्सी, चार अस्पताल र तीनवटा हेलिकप्टर कम्पनीको कारोबारमा राजस्व चुहावट देखिएकाले छानबिन गर्नुपर्ने देखिएको औंल्याइएको छ ।
‘१ हजार ५ सय डलरको भ्रमण प्याकेजलाई ६/७ सय डलरमा बिक्री गर्ने केही व्यवसायीहरूले पर्यटकलाई फर्जी बिरामी बनाई हेलिकप्टर उद्धारमार्फत कमाउ धन्दा चलाएका थिए । यसरी हेलिकप्टरबाट उद्धार गर्दा पर्यटकले बिमा गरेको कम्पनीबाट कम्तीमा २ हजारदेखि २० हजार डलरसम्मको बिल बनाई बिमा दाबी लिन्थे,’ टानका एक पदाधिकारीले केही समयअघि कान्तिपुरसँग भनेका थिए । टानमा १ हजार ५ सय हाराहारी ट्रेकिङ एजेन्सी सदस्य छन् ।