मुख्य सिजनमै चियाको उत्पादन कम

विप्लव भट्टराई

काठमाडौँ — हरियो चियापत्ती उत्पादनको प्रमुख सिजनमा नै चियाको मुना कम पलाएको छ । यो वर्ष अघिल्ला वर्ष जस्तो बगानमा मुना नपलाएको कृषकले बताए । बर्खामा चिया उत्पादन बढी हुन्छ ।

मुख्य सिजनमै चियाको उत्पादन कम

चैतको दोस्रो सातादेखि कात्तिकसम्म टिपाइ हुने भए पनि यो सिजनको उत्पादनले जिल्लाका कृषक र कारखानालाई राम्रो आम्दानी दिने गर्छ । उत्पादन धेरै हुने भएकाले कारखानाले मूल्यसमेत कम दिने गरेका थिए । चिया उत्पादन धेरै हुने सूर्योदय नगरपालिकामा चियाको समर्थन मूल्य कम्तीमा ४० रुपैयाँ तोकिए पनि अन्यत्र त्यो नियम छैन । जिल्लाका अधिकांश कृषकले चियाको मूल्य चित्तबुझदो नभएको गुनासो गरिरहँदा उत्पादन पनि कम भएकाले समस्या भएको बताए ।


यो वर्ष चिया उत्पादन हुने उत्तरी र पश्चिमी क्षेत्रमा पनि चियाको उत्पादन घटेको छ । ‘योपटक चियाका लागि मौसम अनुकूल भएन,’ इलामनगरपालिका १ सााखेजुङका मोतीराम दाहालले भने, ‘चैत–वैशाखमा भएको प्रतिकूल मौसमका कारण अहिले उत्पादन बढी हुने सिजनमै हरियो पत्तीको उत्पादन कम भइरहेको हो ।’ यो सिजनमा घाम र पानीको अवस्थाले यो सिजनको उत्पादन निर्धारण गर्ने प्राविधिकहरूको भनाइ छ ।


कृषकहरूका अनुसार अघिल्ला सिजनभन्दा यो वर्ष अधाभन्दा कम मुना पलाए । एउटा बगानमा गत वर्ष दैनिक एक सय किलो पत्ती टिप्दै आएकामा अहिले दैनिक ३० देखि ३५ किलो मात्रै टिप्दै आएका छन् । उत्पादन कम भएका कारण अधिकांश कारखानामा चिया प्रशोधनमा पनि कमी आउने गरेको छ । ‘एकातिर उद्योग धेरै भएकाले तीव्र प्रतिस्पर्धा छ भने उत्पादनमा पनि कमी आएकाले कृषकदेखि कारखानासम्मलाई असर परेको छ,’ सूर्योदय नगरपालिकाको फिक्कलस्थित स्मल टीका मेनेजर दीपक प्रधानले भने ।


उन्नति समावेशी वृद्धि कार्यक्रमअन्तर्गत जिल्लामा करिब ६ दर्जन कारखानालाई प्रत्यक्ष सहयोग पुगेको छ । जसका कारण नयाँ कारखाना थपिएका छन् भने पुरानाले पनि क्षमता विस्तार गरेकाले आवश्यकताअनुसार पत्ती पाउन सकेका छैनन् ।


मुख्य सिजनमै उत्पादन कम भएकाले मागअनुसार बजारमा तयारी चिया पुर्‍याउन नसकिएको व्यवसायीको भनाइ छ । साउन र भदौ महिनामा पानी धरै परेसँगै उत्पादन पनि बढ्ने गर्छ । यस सिजनमा साताको एकपटक पत्ती टिपाइ हुने गरेको छ । फस्ट र सेकेन्ड फलसमा भने हरियो पत्तीको उत्पादन सन्तोषजनक भएको थियो ।


जिल्लाका २ दर्जन ठूला र १ सयभन्दा बढी साना कारखानामार्फत वार्षिक ३५ लाख किलो तयारी अर्थोडक्स चिया उत्पादन हुँदै आएको छ ।

प्रकाशित : श्रावण २३, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?