१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लाङटाङ आउने पर्यटक बढ्दै

बलराम घिमिरे

रसुवा — लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकहरूको संख्या भूकम्पपछि क्रमिक रूपमा बढ्दै गएको छ ।
भूकम्पपछिको तीन वर्षमा करिब २९ हजार विदेशी पर्यटकले लाङटाङ क्षेत्रको भ्रमण गरेका छन् । सार्क र अन्य राष्ट्र गरी २९ हजार १ सय १९ पर्यटक निकुञ्ज भित्रिएका हुन् ।

लाङटाङ आउने पर्यटक बढ्दै

लाङटाङ राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार भूकम्प गएको वर्ष ४ हजार २ सय ९२, आर्थिक वर्ष २०७३/७४ मा ११ हजार ६८ र आर्थिक वर्ष २०७४/७५ मा १३ हजार ७ सय ५९ पर्यटकले लाङटाङ क्षेत्रको भ्रमण गरेका छन् । भूकम्प जानुभन्दा अगाडि करिब १६ हजार पर्यटक लाङटाङ घुम्न आएका थिए ।

भूकम्प गएको वर्ष घुम्न आउने पर्यटक घटेर ४ हजारमा झरेको थियो । अहिले लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकहरूको संख्या बढेर भूकम्प जानुभन्दा अगाडिकै अवस्थामा पुगेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए ।

२०७२ वैशाख १२ गतेको भूकम्पले लाङटाङ क्षेत्रको पर्यटनमा ठूलो क्षति पुगेको थियो । लाङटाङ क्षेत्र अहिले पुनर्निर्माणसँगै पुरानै अवस्थामा पुगेको छ । भूकम्पले भत्काएका तीनवटै पर्यटकीय पदमार्गहरूको मर्मत तथा सुधार तथा होटलहरू पुनर्निर्माण भएका छन् । बस्ती नजिकैबाट लाङटाङ ग्लासियर र हिमालको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा लाङटाङ क्षेत्र पर्ने गरेको लाङटाङका स्थानीय पर्यटन व्यवसायी तेम्बा लामाले बताए । ‘काठमाडौंबाट छोटो र सजिलो पदमार्गमा लाङटाङ क्षेत्र पर्छ,’ उनले भने, ‘थोरै दिनमा एकैपटक धेरै कुरा हेर्न सकिन्छ । त्यसैले लाङटाङ घुम्न पर्यटकले मन पराउँछन् ।’

भूकम्पपछि लाङटाङको अवस्था हेर्न आउने पर्यटकहरू धेरै रहेको लामाले भने । नेपालको तेस्रो पर्यटकीय पदमार्गका रूपमा लाङटाङ क्षेत्रलाई लिइन्छ । पुनर्निर्माण सँगै पुरानै अवस्थामा फर्किसकेको घोडातबेलाका होटल व्यवसायी ढिन्डुप तामाङले बताए । ‘पर्यटक बस्नका लागि सुरक्षित होटल र घर बनिसके,’ उनले भने, ‘भूकम्पले भत्काएको गोरेटो बाटो र पुल पनि निर्माण भइसक्यो ।’

निकुञ्जमा आउने पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ तथा क्यान्जिन घुम्न जाने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अजित पराजुलीले बताए । निकुञ्जभित्र पर्यटक भित्र्याउनका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड गाउँपालिकाले ‘पर्यटन प्रवद्र्धन’ का कार्यक्रम सञ्चालन गरिरहेका छन् । पर्यटकका लागि रसुवामा घुम्न तीनवटा पदमार्ग छन् ।

प्रकाशित : श्रावण २४, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?