२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

तामाकोसीको शेयर आवेदनका लागि म्याद थप

रासस

काठमाडौँ — माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदनका लागि एक साताको म्याद थप भएको छ ।

तामाकोसीको शेयर आवेदनका लागि म्याद थप

राजधानीमा बस्दै आएका दोलखाका बासिन्दाका लागि शुक्रबारसम्मको समयावधि भए पनि एक साताको म्याद थप गरिएको हो । थप गरिएको अवधिअनुसार आगामी भदौ १ गतेसम्म राजधानीमा शेयर आवेदन दिन सकिनेछ । यही साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि भए पनि आवेदकको भीड बढेकाले एक साताको समयावधि थप गरिएको आयोजनाले जनाएको छ ।


नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले आजै एक साता समय थप गरिएको जानकारी दिए । 'स्थानीय बासिन्दा, आयोजना र बिक्री प्रबन्धकको बोर्डले एक साताको अवधि थप गरेको छ, बिक्री प्रबन्धकले शुक्रबार सूचना प्रकाशित गरेर जानकारी देलान् ।' माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले राजधानी काठमाडौँमा उत्साहप्रदरुपमा शेयर आवेदन भइरहेको जानकारी दिए ।


उनका अनुसार बुधबार साँझसम्म करिब ४५ हजारले आवेदन गरेको जानकारी बिक्री प्रबन्धकले गराएको छ । बुधबार एकैदिन १५ हजारले शेयर आवेदन गरेका थिए । बिहीबार पनि बैंक तथा वित्तीय संस्थामा ठूलो भीड लागेका कारण करीब १५ हजारको थप आवेदन परेको हुनसक्ने उहाँको भनाइ छ । बुधबार अबेरसम्म रु ९७ करोड ८६ लाख बराबरको आवेदन परेको छ । आज कतिको आवेदन प¥यो भन्नेबारेमा शुक्रबार मात्रै जानकारी प्राप्त हुनेछ । आयोजनाले स्थानीय बासिन्दाका लागि रु एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर बिक्री गर्न लागेको थियो । सरकारी नियमानुसार स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर बिक्री गरिन्छ ।


करिब पाँच गुणा बढी आवेदन पर्ने


प्रवक्ता डा न्यौपानेले राजधानीमा नै करिब दुई अर्ब बढीको आवेदन पर्ने अनुमान गरिएको छ । दोलखाका बासिन्दा खेतीपातीमा व्यस्त रहेको र आवेदन फर्म मात्रै गाउँगाउँमा पुग्दै गरेको अवस्थामा सबै संकलन हुँदा पाँच गुणाभन्दा बढी आवेदन पर्ने सम्भावना देखिएको छ । त्यो भनेको करिब रु पाँच अर्ब बराबरको आवेदन पर्ने देखिएको छ । नागरिकले आयोजनाप्रति उत्साहका साथ विश्वास व्यक्त गरेको पाइएको प्रवक्ता डा न्यौपानेले बताए ।


स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना आगामी पुस मसान्तसम्ममा निर्माण गर्ने समय तालिका तय गरिएको छ । हाल आयोजनाको ९६ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ । आयोजनाले स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर बिक्री गरेपछि सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

प्रकाशित : श्रावण २४, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?