कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अमेरिका छिर्दा अंग्रेजीको ‘सु’ मात्र जान्दथे

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — ताइवानमा जन्मे, कर्मभूमिचाहिँ अमेरिकालाई बनाए । अमेरिका छिर्दा चिनियाँबाहेक अन्य भाषा फिटिक्कै आउँदैनथ्यो । अंग्रेजीको ‘सु’ (जुत्ता) शब्दचाहिँ जसोतसो जानेका रहेछन् । तर, आफ्नै पौरख, लगन र मिहिनेतले विश्वका चर्चित उद्यमी बन्न सफल भएका छन्, त्यो पनि अमेरिकामै रहेर ।

अमेरिका छिर्दा अंग्रेजीको ‘सु’ मात्र जान्दथे

डलर अर्बपति समूहका सदस्यसमेत बन्न भ्याएका छन् । दुई वर्षका छँदा बुबा गुमाए, १० वर्ष उमेरमा आफ्नो जन्मभूमि छाड्न बाध्य भए । तर, त्यही व्यक्ति आज ताइवानी–अमेरिकी इन्टरनेट उद्यमीका रूपमा लोकप्रिय छन् । उनी हुन्– जेरी याङ । ‘याहु इन्क’ का सहसंस्थापक तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा उनी बढी चिनिन्छन् ।

अमेरिका पुगेपछि मात्रै उनले अंग्रेजी भाषा सिकेका हुन् । आफ्नो भाषाको उपयोग गर्न नपाएका र भूगोलभन्दा निकै टाढा पुगेरै पनि उनी सफल भए । तीन वर्षको कठिन परिश्रमपछि उनले अंग्रेजी सिकेका हुन् । त्यसपछि प्रारम्भिक शिक्षा हासिल गर्न पाए, अमेरिकामा । स्नातक, स्नातकोत्तर र पीएचडीसम्मको पढाइ त्यहिबाटै पूरा गरे । इलेक्ट्रिकल इन्जिनियरिङमा पीजी गरेका उनले पीएचडीमा पनि त्यही विषय रोजे ।

पीएचडी गर्ने क्रममा डेभिड फिलोसँग उनको भेट भयो । केही समयपछि दुवै मिलेर त्यस ताका एकदमै नौलो विषय रहेको इन्टरनेट व्यवसाय सञ्चालनमा ल्याउने निधो गरे । सुरु–सुरुमा दुवैले वेबसाइट सञ्चालन गर्दा धेरै समस्याको सामना गर्नुपर्‍यो । पछि छुट्टै सफ्टवेयर बनाएर वेबसाइट सञ्चालनमा ल्याए । त्यसलाई विश्वव्यापी बनाउँदै केही समयमै एउटा मल्टी–बिलियन करर्पोरेसनका रूपमा रूपान्तरण गर्न सफल भए । लोकप्रियता बढदै गएपछि उनले ‘याहु इन्क’ कम्पनी खोले ।

त्यही याहु धेरैका लागि सहयोगी सिद्ध भयो । ‘याहु डटकम इमेल’ उक्त कम्पनीकै देन हो । जेरी याङ दशकसम्म कम्पनीको प्रमुख भएरै काम गरे । त्यसक्रममा अन्य ठूला कम्पनीलाई समेत आफ्नो मातहतमा ल्याउने प्रयास गरे । आफ्नै कम्पनी छँदाछँदै पनि उनी स्वतन्त्र निर्देशकको हैसियतमा रहेरै अन्य संस्थामा काम गरे । यसबाट उनी आफ्नो आम्दानी बढाउन सफल भए । एउटा अन्तर्वार्तामा जेरीले भनेका छन्, ‘जब मैले आफ्नी आमालाई पीएचडीको पढाइ छाडेर जीवनयापन गर्नका लागि कम्पनी खडा गरी ‘इन्टरनेट विज्ञापन’ बेच्नेबारे पहिलोपटक सुनाएको थिएँ, उहाँको कुनै उत्सुकता देखिनँ तर मलाई समर्थन गर्नुभयो । हिजोआज मप्रति उहाँको खासै गुनासो छैन ।’

४९ वर्षअघि ताइवानको ताइपेईमा जन्मेका जेरीका बुबाको निधन कलिलै उमेरमा भएको थियो । आमाले नै उनको पालनपोषण गरिन् । आर्थिक अवस्था ठीक नभएकाले जेरी १० वर्षको भएपछि आमा लिलीले अमेरिका जाने सोच बनाइन् । साथमा जेरीको सानो भाइ केन पनि थिए । तिनीहरू अमेरिकी राज्य क्यालिफोर्नियाको स्यान जोसे पुगे । आमा अंग्रेजी भाषाको जानकार मात्रै थिइनन्, नाटक प्रशिक्षकसमेत थिइन् । त्यहाँ लिलीले शिक्षिका र ड्रामा सिकाउने काम सुरु गरिन् ।

खासगरी बसाइसराइ गरी आएका विदेशीहरूलाई उनले अंग्रेजी सिकाउँथिन् । आमा अंग्रेजी पढाउने तर छोरा जेरीलाई चिनियाँ भाषाबाहेक अंग्रेजी आउँदै नआउने । विद्यालयमा भर्नाको समय अंग्रेजी उनका लागि एउटा बाधा बन्न पुग्यो । त्यसलाई छिचोल्ने निष्कर्षमा पुगेसँगै उनले एडभान्स लेभलको प्रशिक्षण लिए । झन्डै तीन वर्षमै उनले फर्रर अंग्रेजी बोल्न र लेख्न सिकेका हुन् । अंग्रेजी सिकेपछि उनले स्यान जोसेस्थित सिएरामन्ट मिडिल स्कुल र पिडमन्ट हिल्स हाई स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरे । त्यसपछि उनी स्टयान्डफर्ड विश्वविद्यालयमा भर्ना भई उच्च शिक्षा प्राप्त गरे ।

जेरी याङले आफ्नो कम्पनी सार्वजनिक गरेको धेरै भएको छैन । सन् १९९६ मा उनले कम्पनी सार्वजनिक गरे । कम्पनीले सर्वसाधारणका लागि सेयर लगानीको अवसर त्यही वर्ष प्रदान गर्‍यो । सेयर लिनेहरू धेरै निक्लिए । यसबाट उनी खुबै हौसिए । कम्पनी विस्तारका लागि सेयर निष्कासन कोसेढुंगा सावित भयो ।

सन् १९९५ देखि २०१२ सम्म याहुको प्रमुखका रूपमा र सन् २००७ देखि २००९ सम्म सीईओका रूपमा कम्पनीमा संलग्न रहे । यति मात्रै हैन, २००० देखि २०१२ सम्म अर्को कम्पनी ‘सिस्को सिस्टम’ मा एकजना ‘स्वतन्त्र निर्देशक’ का रूपमा समेत सेवा गर्ने मौका उनले पाए ।

सन् २००७ मा मानवीय र कानुनी सहयोग गर्ने उद्देश्यले ‘याहु हयुम्यान राइट्स फन्ड’ सञ्चालनमा ल्याए । सन २०१२ मा याहुको निर्देशक बोर्डबाट राजीनामा दिँदै एउटा छुट्टै लगानी कम्पनी ‘एएमई क्लाउड भेन्टचर्स’ सुरु गरे । उक्त कम्पनीमा टयांगो, इभरनोट, हवाटप्याडलगायत ५० वटाभन्दा बढी ‘स्टार्टअप्स’ ले आर्थिक लगानीमा रुचि देखायो । सन् २०१३ को नोभेम्बरसम्म उनले ‘वर्कडे इन्क’ को एकजना स्वतन्त्र निर्देशकका रूपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए । उनले ‘अलिबाबा ग्रुप होल्डिङ कम्पनी’ का पनि स्वतन्त्र निर्देशकका रूपमा काम गरे । सन २०१४ को नोभेम्बरसम्म लेनोभो ग्रुपका नन–एक्ज्युकेटिभ पदमा आफ्नो जिम्मेवारी निर्वाह गरे । उनी स्टयान्डफोर्ड विश्वविद्यालयको ट्रस्ट बोर्डमा रहेर आफ्नो अनुभव सेयर गर्न सफल भएका थिए ।

सन् १९९९ मा ‘एमआईटी टेक्नोलजी रिभ्यु टीआर १००’ को सूचीमा विश्वका सयजना इनोभेटर्समध्ये उनको नाम पनि सार्वजनिक भयो । यो सफलता जेरी याङले ३५ वर्षकै उमेरमा प्राप्त गरेका थिए । त्यस्तै वेब क्षेत्रमा विश्वमा रहेका २५ जना शक्तिशाली मानिसहरूको सूचीमा समेत उनी आफ्नो नाम दर्ज गराउन सफल भए । अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार जेरी याङको कुल सम्पत्ति २ दशमलव ६ अर्ब मेरिकी डलर (रियल टाइम ९ अगस्ट २०१८) रहेको छ । विश्वकै अर्बपतिहरूको सूचीमा यो वर्ष उनी ९ सय २४ औं स्थानमा परेका छन् ।

जेरीले स्टयान्फोर्ड विश्वविद्यालयमा पढ्ने क्रममा जापानी अकिको यामाजाकीसँग विवाह गरे । अकिको औद्योगिक विषयमा पढ्नका लागि क्योटो ओभर्सिज प्रोग्रामअन्तर्गत १९९२ मा अमेरिका पुगेकी थिइन् । एकजना पूर्वचिनियाँ क्यालिग्राफीका विद्यार्थीसमेत रही सकेका याङसँग मिङ र क्विङ युगका करिब २५० जति ऐतिसाहिक क्यालिग्राफी संग्रहित छन् । हाल उनी अमेरिकी राज्य क्यालिफोर्नियाको लस एल्टस हिल्समा बस्छन् ।

(एजेन्सीहरू)

प्रकाशित : श्रावण २६, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?