१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फेरि दियालोकै भर

१९ जलविद्युत् योजना बन्द, साढे चार सय घरधुरी अँध्यारोमा
राजबहादुर शाही

मुगु — ‘माइक्रो हाइड्रोबाट बत्ती बलेपछि दियालो बाल्न छाडियो, फेरि दियालोकै भर पर्नुपर्ने बाध्यता छ’ यो भनाइ सुम्ली गाउँका कर्ण भण्डारीको हो । उनका अनुसार आर्थिक रूपमा सम्पन्न घरधुरीले सोलार प्यानल जडान गरे । तर, अधिकांश नहुनेहरूले सल्लाकै दियालो बाल्ने गर्छन् ।

फेरि दियालोकै भर

रोवा गाउँका दल कामीको भनाइ पनि उस्तै छ । ‘गाउँमा बत्ती बलेपछि कालो धूवाँबाट मुक्ति पाइयो भन्ने लागेको थियो,’ उनले भने, ‘बत्ती बिग्रिँदा फेरि उस्तै अँध्यारोमा रात बिताउनुपर्ने बाध्यता छ ।’ भण्डारी र कामीका यी प्रतिनिधि भनाइ मात्र हुन् । धेरैको भोगाइ र प्रतिक्रिया यी दुईभन्दा फरक छैनन् ।

यो अवस्था यहाँका १९ वटा लघु तथा साना जलविद्युत् योजना अलपत्र परेपछि आएको हो । ३ किलोवाटदेखि १३ किलोवाटसम्मका अधिकांश बिग्रिएका छन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा निर्मित योजनाहरू अलपत्र हुँदा साढे चार सय घरधुरी अँध्यारोमा बस्न बाध्य छन् ।

सुम्ली, सालिम, नाके, हयाङलु, श्रीकोट, केराई, धैनकोट, कालैलगायत गाउँका विद्युत् योजना लामो समयदेखि बन्द छन् । जिल्ला समन्वय समितिका अनुसार कम्फा, आम, सेरी, रुम, मुर्माका विद्युत् योजना पनि अलपत्र छन् । योजना अलपत्र परेपछि विभिन्न निकायबाट गरिएको करिब ४ करोड लगानी खेर गएको छ । गरिबी निवारण कोष, जिल्ला ऊर्जा विकास समिति, दुर्गम क्षेत्र विकास समिति र केयर नेपालले विद्युत् योजना निर्माण गरेका हुन् ।

रोवा गाउँको २५ किलोवाटको नाके जलविद्युत्, १३ किलोवाटको सालिम खोला लघु जलविद्युत्, ३ किलोवाटको कम्फा माइक्रो हाइड्रो बन्द छन् । गरिबी निवारण कोषको २४ लाख लगानीमा ७ वर्षअघि निर्मित सालिम खोला लघु जलविद्युत् तीन वर्षदेखि मर्मत अभावमा रोवा, सालिम र र्‍याङच्याकाटी गाउँका १ सय ६८ घरपरिवार विद्युतबाट वञ्चित छन् । त्यस्तै दुर्गम क्षेत्र विकास समितिको सहयोगमा ०५४ मा निर्माण भएको नाके जलविद्युत् बन्द भएपछि गाँडपानी, चराप जिउला, झाकोट र घट्टलेख गाउँका करिब दुई सय परिवार अँध्यारोमा बस्न विवश छन् ।

कम्फामा ३ किलोवाट र त्रिपको ७ किलोवाट, लुमको ७ किलोवाट र सुम्लीको ३ किलोवाटको जलविद्युत् योजना लामो समयदेखि बन्द छन् । खत्याड गाउँपालिकाको हयाङलु हाइड्रो, गम्था जलविद्युत्, श्रीकोटको चिमाढुंग्री योजना पनि लामो समयदेखि अलपत्र छन् । गाउँमा कम लागतमा निर्माण भएका अधिकांश साना र लघु जलविद्युत् योजनाको दिगोपना नभएको कच्चे गाउँका कलबहादुर कार्कीले बताए ।

गरिबी निवारण कोषको सहयोगमा निर्माण भएको माथिल्लो धैनकोटको १४ किलोवाटको योजना बन्द भएपछि दुई सय घरधुरी उज्यालोबाट वञ्चित छन् । जिल्लाभर अवरुद्ध भएका साना जलविद्युत् र माइक्रो हाइड्रो पुन: सञ्चालनमा ल्याउन रकम अभाव भएको जिल्ला ऊर्जा तथा वातावरण शाखाका निमित प्रमुख जीवनकुमार मल्लले बताए । उपभोक्ताले मर्मत सम्भार नगर्दा धेरै योजना अलपत्र परेको उनको भनाइ छ ।

शाखाका अनुसार छायानाथरारा नगरपालिकाको बाममा निर्माणाधीन दख्र्या खोला लघु जलविद्युत् योजना सुरु भएको १२ वर्षसम्म निर्माण हुन सकेको छैन । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा ३ सय परिवारका लागि १९ किलोवाटको विद्युत् उत्पादन गर्न लागिएको हो । विद्युत् उत्पादनका लागि हेलिकप्टरबाट उपकरण ढुवानी गरिएको थियो ।

सामान ढुवानी तथा खरिदमा मात्रै करिब ३० लाख रुपैयाँ बजेट खर्च भइसकेको छ । ‘योजना सुरु भएको १२ वर्षसम्म पनि बत्ती बल्न सकेन,’ बाम गाउँका कर्णसिंह बोहोराले भने, ‘बत्ती बाल्ने आशा मारिसकेका छौं ।’ उनका अनुसार बत्ती उत्पादनका लागि ढुवानी भएका मेसिनहरू आयोजनास्थलमै खिया लागेर काम नलाग्ने भएका छन् । विद्युत् अभावमा बालबालिकाको पढाइ प्रभावित भएको उनले बताए । दियालो बाल्दा स्थानीयलाई दमको रोग बढी देखिने गरेको छ ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?