‘सेलार स्टोर’ ले किसानलाई सजिलो

कृष्णप्रसाद गौतम

उर्थु (जुम्ला) — स्याउ भण्डारणका लागि गाउँमा ‘सेलार स्टोर’ स्थापनापछि किसानलाई सजिलो भएको छ ।स्याउ उत्पादनको पकेट क्षेत्र मानिने पातारासी गाउँपालिका ६ उर्थुमा ‘सेलार स्टोर’ स्थापनापछि गाउँमा आर्थिक उन्नति भित्रिने आशा पलाएको छ ।

‘सेलार स्टोर’ ले किसानलाई सजिलो

यसअघि भण्डारणको व्यवस्था नहुँदा किसानलाई खाल्डोमा गहुँ, जौको भूससँगै स्याउ राख्नुपर्ने बाध्यता थियो । त्यसो गर्दा पनि स्याउ कुहिने र लामो समयसम्म भण्डारण गर्न नसकिने समस्या थियो ।

उर्थुमा १५ टन क्षमताको ‘सेलार स्टोर’ निर्माण गरिएको छ । सिजनका बेला प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा बिक्री हुने स्याउ ‘सेलार स्टोर’ स्थापनापछि फागुन–चैतमा प्रतिकिलो १ सय २० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । किसानले मंसिर–पुसबाट स्याउ भण्डारण गर्ने गरेका छन् । ‘सेलार स्टोर’ मा ६ महिनासम्म स्याउ भण्डारण गर्न सकिन्छ । तर, बजारमा माग अत्यधिक हुने भएकाले तीन महिनासम्म स्याउ भण्डारण गर्ने गरिएको किसानको भनाइ छ ।

स्थानीय कृषक चैती विष्टले ‘सेलार स्टोर’ स्थापनापछि ढुक्कले लामो समयसम्म स्याउ राख्न सकिने बताइन् । ‘पहिले भण्डारण गर्ने ठाउँ नहुँदा सिजनको बेला सस्तोमा स्याउ बेच्न बाध्य थियौं,’ उनले भनिन्, ‘अहिले अरू बेला स्याउ बेच्दा आम्दानी तीन गुणाले बढेको छ ।’ उनका अनुसार स्याउ उत्पादनकै रकमले आफूहरू खलंगालगायतका व्यापारिक केन्द्रमा घरजग्गा किन्न र गुणस्तरीय जीवनस्तर अँगाल्न सफल भएको बताइन् ।

यसअघि स्याउ भण्डारण गर्ने ठाउँ नहुँदा काठको भकारीमा स्याउ राख्ने गरेको उर्थुकै बिजुला विष्टले बताइन् । ‘भकारीमा राखेको स्याउ चाउरिने र मुसाले खाने समस्या हुन्थ्यो,’ उनले भनिन्, ‘सेलार स्टोरमा राख्न थालेपछि चैत–वैशाखसम्म पनि स्याउ जस्ताकै तस्तै हुन्छ ।’ उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले दुईतले ‘सेलार स्टोर’ निर्माण गरिदिएको हो । आयोजनाको १९ लाख ९५ हजार र कालिका कृषि बहुउद्देश्यीय सहकारीको ३ लाख ८० हजार लगानीमा स्टोर स्थापना गरिएको हो ।

सेलार स्टोरबाट उर्थुका ७२ घरधुरी स्याउ उत्पादक किसान लाभान्वित भएको सहकारीका अध्यक्ष परेउ विष्टले बताए । ‘स्याउ कुहिनबाट जोगियो,’ उनले भने, ‘बेमौसममा पनि किसानले राम्रो मूल्य पाएर आर्थिक उन्नति गरेका छन् ।’ स्याउकै कमाइबाट अधिकांश किसानले जुम्ला सदरमुकाममा घरजग्गा जोडेको उनले जनाए ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले तलिउमको उम्गाड, भण्डारीवाडा, कात्र्तिकस्वामीको बारकोटवाडामा पनि सेलार स्टोर निर्माण गरेको छ । ‘शून्य शक्ति’ मा आधारित स्थानीय प्रविधि भएकाले सेलार स्टोरमा राखेको स्याउ ६ महिनासम्म जस्ताको तस्तै रहने आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले बताए । ‘सेलार स्टोरकै कारण बेमौसमा पनि जुम्लामा अर्गानिक स्याउ पाइने गरेको छ,’ आयोजना प्रमुख भारीले भने, ‘सेलार स्टोरमा लामो समयसम्म स्याउ राख्दा पनि गुणस्तरीयता कायम हुन्छ ।’

आयोजनाले कालिकोट र जुम्लामा ६९ समूह र सहकारीलाई स्याउ उत्पादन र बजारीकरणमा सहयोग गरिरहेको छ । किसानलाई स्याउ टिप्ने औजार, बोक्ने डोको र क्यारेट दिइएको छ ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?