१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

युरिया मल रित्तिँदै

शंकर आचार्य

पर्सा — कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जमा युरिया मलको मौज्दात सकिन लागेको छ । २ र ३ नम्बर प्रदेशका जिल्लाहरूमा रासायनिक मलको वितरण गर्दै आएको कार्यालयका अनुसार धानबालीको सिजन भएकाले माग उच्च छ ।

युरिया मल रित्तिँदै

विशेषगरी तराईका जिल्लाहरूमा अहिले धानबालीमा यो मल छरिँदै छ । यो क्रम आउँदो भदौ महिनासम्म पनि जारी रहन्छ ।

तर मल आपूर्तिकर्ता कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जसँग यत्तिको अवधिलाई धान्ने मलको मौज्दात छैन । हाल कम्पनीको वीरगन्जका विभिन्न गोदाममा गरी करिब ८ सय टन मात्र युरिया मलको मौज्दात रहेको छ । क्षेत्रीय कार्यालय प्रमुख अजयकुमार श्रीवास्तव पनि यति मलले मुस्किलले एक साता माग धान्ने स्विकार्छन् ।

हाल साताको २ पटक कार्यालयबाट मल वितरण भइरहेकामा यत्तिको मौज्दातले अब एक साता मात्रै माग धान्ने अवस्था रहेको उनले बताए । ‘यस्तै अवस्था रहे मलको हाहाकार पनि हुन सक्छ,’ उनले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेसनसँग मल छ भने उसले किसानको माग धान्नुपर्छ अहिले ।’ असार लागेयता आइतबारसम्म कार्यालयले ४ हजार ४ सय ३५ दशमलव ५ टन युरिया मल माग भएका जिल्लाहरूमा परिचालन गरिसकेको उनले बताए । हाल रौतहट, सर्लाही, महोत्तरी, धनुषा आदि जिल्लामा युरियाको माग बढिरहेको छ ।

कार्यालयसँग हाल १ हजार ९ सय २८ टन डीएपी मल मौज्दात रहे पनि यो मलको माग अहिले नरहेको उनले बताए । यसबाहेक एक रेल्वे र्‍याक युरिया मल एक/दुई दिनभित्रै सिर्सिया सुक्खा बन्दरगाहमा आइपुग्न लागेको उनले बताए । गौर नजिकको भारतीय रेल्वे स्टेसन घोडासनमा कम्पनीको डीएपी मल बोकेको एउटा रेल्वे र्‍याक ४ दिनदेखि आएर बसेको उनले बताए ।

कम्पनीको युरिया मल आउने क्रममा रहे पनि त्यसमा भइरहेको ढिलाइले समस्या भएको श्रीवास्तव बताउँछन् । कम्पनी वीरगन्ज क्षेत्रीय कार्यालयले पाउने १० हजार टन युरिया मल भारतको विशाखापट्टनम् बन्दरगाहमा आएर थन्किएको उनले बताए । भारतकै इन्डियन पोटास लिमिटेडले ग्लोबल टेन्डरबाट नेपालसम्म ल्याउन लागेको मल वीरगन्ज ल्याउन रेल्वे र्‍याक नपाएर ढिलाइ भइरहेको उनले बताए । यदि समयमै र्‍याक पाएर उक्त मल वीरगन्ज आए युरिया मलको अभाव नहुने उनले बताए ।

यता साल्ट ट्ेरडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय वीरगन्जमा पनि युरिया मलको मौज्दात करिब १ महिनाअघि नै सकिएको कार्यालय स्रोतले बताएको छ । कर्पोरेसनको थप युरिया मल आउने तालिका तत्कालका लागि नरहेकाले कृषि सामग्री कम्पनीले नै तत्काललाई मलको आपूर्ति गर्नुपर्ने अवस्था रहेको पनि स्रोतले बतायो ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?