१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बन्दरगाह निर्माणले गति लियो

ठाकुरसिंह थारू

नेपालगन्ज — नेपाल–भारत सीमा नाका जयसपुरमा सुख्खा बन्दरगाह निर्माण कार्यले गति लिएको छ । बन्दरगाहलाई जोड्ने ३ सय १५ मिटर पहुँच मार्ग ग्राबेल गरिएको छ । बन्दरगाह निर्माणस्थलदेखि नेपालगन्जको चौलिकासम्मको दूरी २ हजार ७ सय मिटर छ । त्यसका लागि गत वर्ष सरकारले ४० लाख रुपैयाँ बजेट छुटयाएको थियो ।

बन्दरगाह निर्माणले गति लियो

नेपालगन्जको चार लेनको चौलिकादेखि सुरु हुने पहुँच मार्ग जीर्ण भएका कारण मर्मत गरिएको हो । थप पहुँच मार्ग निर्माणलगायतका काम भारतीय पक्षले गर्ने सम्झौता छ । त्यस्तै सुरक्षाका लागि अस्थायी सुरक्षा पोस्ट पनि निर्माण गरिएको छ । यसअघि निर्माण गरिएको सुरक्षा पोस्ट जीर्ण बनेको थियो ।


चालु आर्थिक वर्षमा भने मर्मत सम्भार गरिएको छ । भारत सरकारको सहयोगमा दुई मुलुकको सीमामा सुक्खा बन्दरगाह निर्माण सुरु गरिएको हो । नेपाल सरकारले स्थानीयबासीलाई मुआब्जा दिएर जयसपुर क्षेत्रमा ९० बिघा जग्गा अधिग्रहण गरी तारबार गरिसकेको छ ।


त्यस्तै भारत सरकारले पनि आफ्नो क्षेत्रमा जग्गा अधिग्रहण गरी पर्खाल निर्माणको कामलाई तीव्रता दिएको छ । नेपालतर्फको ९० बिघा जग्गामध्ये २७ बिघामा सडक निर्माण गरिनेछ । पहुँच मार्गको चौडाइ ६० मिटर रहने नेपालगन्जस्थित सहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले बताए । उक्त पहुँच मार्ग ६ लेनको हुनेछ । उनका अनुसार बन्दरगाहका लागि आवश्यक पर्ने भौतिक संरचनाका लागि भारत सरकारले छिट्टै ठेक्का दिने तयारीमा छ ।


‘नेपाल सरकारले गर्नुपर्ने आवश्यक काम करिबकरिब पूरा भएको छ । भारतीय पक्षले टेन्डर खोल्ने प्रक्रियामा छ,’ भुसालले भने, ‘हामीले गर्नुपर्ने काम गरिसक्यौं । भारतीय पक्षले सबै भौतिक निर्माणको काम गर्नेछ ।’ बन्दरगाहलाई नेपालगन्जको चार लेन सडकसँग जोड्न चौलिकासम्म ६ लेन पहुँच मार्ग निर्माण गर्ने लक्ष्य छ ।


सुख्खा बन्दरगाह निर्माण भएपछि त्यहाँ दुई मुलुकले एकीकृत सुरक्षा पोस्ट (आईसीपी) सञ्चालन गर्नेछन् । सुख्खा बन्दरगाह निर्माण भएपछि आधुनिक भन्सारको काम सुरु हुनेछ । बन्दरगाहसम्म रेल्वे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल–भारतका सुरक्षाकर्मीहरूले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउनुका साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ ।


बन्दरगाह निर्माणपछि व्यापारी व्यवसायीले पनि बिनाझन्झट भारतबाट विभिन्न सामान निर्वाध रूपमा आयात गर्न सक्ने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा आईसीपी कार्यान्वयनका लागि भारतीय पक्षले प्रतिबद्धता जनाएको थियो । त्यसयता सीमामा एकीकृत सुरक्षा पोस्ट कार्यान्वयनका लागि काम अगाडि बढेको हो ।


अहिले सीमामा छामछुमका भरमा सुरक्षा जाँच हुँदै आएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक्सरे मेसिनबाट सुरक्षा जाँच गर्दै आएको छ । भारतले निर्माण गर्ने भनेको बन्दरगाह एक दशकदेखि अलपत्र पर्दै आएको थियो ।


भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालको नेपालगन्जमा बन्दरगाह आवश्यक रहेको भन्दै जयसपुरलाई रोजिएको हो । बन्दरगाह सञ्चालन भए भारतबाट विभिन्न सामग्री नेपालमा सहजै आयात हुने र नेपालका जडीबुटी र उत्पादनहरू भारतमा निकासी गर्न सरल हुने जनाइएको छ । त्यसका लागि चार लेन राजमार्ग र चार गेज रेलवे लाइन विस्तार गर्ने लक्ष्य छ ।

प्रकाशित : श्रावण २८, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?