कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपालगन्ज हुँदै मरिच तस्करी

कान्तिपुर संवाददाता

नेपालगन्ज — नेपालगन्ज नाका हुँदै भारततर्फ मरिच तस्करी हुने गरेको खुलेको छ । नेपाल–भारत सीमास्थित सशस्त्र प्रहरी बल नेपालगन्ज हेडक्वाटर नम्बर ३० गणले हालै २ क्विन्टल ४० किलो मरिच बरामद गरेको छ । यहाँको नाकामा मरिच बरामद गरिएको पहिलो हो ।

नेपालगन्ज हुँदै मरिच तस्करी

अटो रिक्सामा राखेर सीमावर्ती रुपैडिहा लैजाँदै गर्दा सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ । रिक्सा चालक भने फरार भएका छन् । मरिचको बजार मूल्य नेपालमा ८ सय रुपैयाँ किलो पर्ने व्यवसायी बताउँछन् । तर, भारतमा भने दोब्बर पर्छ । नेपाली मरिचको माग भारतमा बढी हुने र दोब्बर मूल्यमा बिक्री हुने गरेका कारण भारतसँग सीमा जोडिएका सहरबाट तस्करी हुने गरेको छ । मरिच तस्करीमा अहिले महिला प्रयोग हुने गरेको पाइएको छ । तस्करीमा प्रयोग गरिने उनीहरूले सल, साडीमा पोका बनाएर मरिच भारत पुर्‍याउँछन् ।


गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले थोरैथोरै परिमाणमा तस्करी हुने गरेको बताए । तर, यति ठूलो परिमाणमा पहिलोपटक बरामद गरिएको उनले जनाए । ‘तस्करले महिलालाई प्रयोग गरी थोरथोरै परिणाममा प्ूर्वी नाकाबाट मरिच तस्करी गराउने गरेको पाइएको थियो । तर, नेपालगन्ज नाकाबाट करिब साढे दुई क्विन्टल मरिच पहिलोपटक बरामद गर्न सफल भयौं,’ उनले भने । पहाडी जिल्लामा मरिच उत्पादन हुने गरेको छ । तर, यहाँको उत्पादनले नेपाली बजार धान्दैन ।


पहाडी मरिचको माग भारतमा अत्यधिक हुने गरेकाले तस्करी हुने गरेको हो । खुला सीमाका कारण पोकापोकीमा मरिच तस्करी गरी भारतको रुपैडिहामा जम्मा हुने गरेको छ । जडीबुटी व्यवसायी संघ महासचिव टंक शर्माका अनुसार नेपालमा कम उत्पादन हुने गरेको बताए । उनका अनुसार विदेशबाट नेपाल आयात गरिएका वस्तुहरू अर्को मुुलुकमा बिक्री गर्न नमिल्ने भएकाले मरिच भारतमा बिक्री गर्न नपाइने बताए ।


नेपालगन्ज नाकाबाट बढीजसो लत्ताकपडा, दाल, चिनी, भारतीय कुखुराहरू बरामद हुने गरेको छ । भन्सार नतिरी ल्याएका समानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाउँदै आएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?