कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुणस्तरहीन खाद्य छयापछयाप्ती

प्रताप विष्ट

हेटौंडा — मध्यतराईका केही जिल्लामा गुणस्तरहीन खाद्य वस्तुहरू बिक्री वितरण भइरहेको पाइएको छ । पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ । हेटौंडास्थित क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कारबाही थालेको हो ।

गुणस्तरहीन खाद्य छयापछयाप्ती

उसले सम्बन्धित जिल्ला प्रशासनमा ११९ थान मुद्दा दायर गरेको छ । तर, जनशक्ति अभावमा कार्यालयले उत्पादन तथा बिक्रीमा रोक लगाउन सकेको छैन ।


साधन, स्रोत र पहुँच अभावमा गणुस्तरहीन खाद्य वस्तुको उत्पादन र बिक्री नियन्त्रण गर्न समस्या भएको कार्यालयले जनाएको छ । ९ वटा जिल्लामा कार्य क्षेत्र रहेको क्षेत्रीय कार्यालयले ०७४/७५ मा ११९ थान मुद्दा जिल्ला प्रशासनमा दायर गरेको छ । ‘गुणस्तरहीन खाद्य वस्तुहरू उत्पादन र बिक्री गर्नेहरूको विरुद्ध सम्बन्धित जिल्लाको प्रशासनमा मुद्दा दायर गरेका छौं,’ गुण नियन्त्रण कार्यालय प्रमुख राजकुमार रिजालले भने, ‘सीमित साधन/स्रोत भए पनि गुणस्तरहीन खाद्य वस्तु उत्पादन र बिक्री गर्नेहरूलाई कारबाहीको दायरामा ल्याएका छौं ।’


नमुना संकलन गरेका कयौं खाद्य वस्तुहरूको परीक्षण गर्न काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको उनले बताए । मकवानपुरमा ३५ थान मुद्दा प्रशासनमा दर्ता छन् । बारामा ३४ र पर्सामा २१ वटा मुद्दा परेका छन् । यसंगरी सर्लाही र धनुषामा १०/१० एवं रौतहटमा ६ मुद्दा दर्ता गरेको गुण नियन्त्रण कार्यालयले जनाएको छ । चितवनमा गत वर्ष नमुना संकलनमा प्रतिकूल धेरै देखिए पनि सोधपुछ प्रक्रियामै रहेकाले मुद्दा दर्ता भएको छैन । ‘यो वर्ष खाद्यमा प्रतिकूल देखिएकाहरूविरुद्ध मुद्दा दर्ता हुन्छ,’ प्राविधिक अधिकृत अनुप हलवाईले भने ।


अन्य तराईका जिल्लामा न्यून संख्यामा मुद्दा दर्ता भएका छन् । रौतहटमा एउटा मात्र मुद्दा परेको छ । महोत्तरी र सिन्धुलीमा खाद्य निरीक्षक भर्खरै मात्र पुगेका छन् । बीचमा खाली थियो । ०७३/७४ मा विभिन्न जिल्ला प्रशासन कार्यालयमा ४० वटा मात्र मुद्दा दर्ता भएका थिए ।


स्थानीय प्रशासनले बजार अनुगमन गर्न चासो नदिएका जिल्लामा मुद्दा पनि थोरै दर्ता भएका छन् । गुण नियन्त्रण कार्यालयको पहुँच र स्थानीय प्रशासन सक्रिय भएका जिल्लामा मुद्दा धेरै दर्ता भएका छन् । त्यस्ता जिल्लामा नमुना संकलन पनि धेरै हुने भएकाले प्रतिकूल पनि धेरै फेला परेका छन् ।


अघिल्लो वर्ष ९ जिल्लामा ६ सय १ वटा नमुना संकलन गरी परीक्षण गर्ने क्रममा ८१ वटाजति वस्तुमा प्रतिकूल फेला परे । नमुना संकलन गरेकामध्ये करिब १३ प्रतिशत खाद्य वस्तु गुणस्तरहीन फेला परे ।


नमुना संकलन गरेकामध्ये सबैभन्दा वढी गुणस्तरहीन तेल तथा घिउमा फेला परेको कार्यालयले जनाएको छ । त्यसपछि दूध तथा दूधजन्य वस्तुमा फेला परेको हो । ०७३/७४ मा ६ सय ११ वटा वस्तुको नमुना संकलन गर्दा ६५ वटा खाद्य वस्तु मात्र गुणस्तरहीन फेला परेका थिए ।

प्रकाशित : श्रावण २८, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?