कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तरकारीको भाउ ४ गुणासम्म बढयो

४५ प्रतिशत तरकारी भारतकै भर
बिचौलियाले हुन सक्छ, अनुगमन तीव्र बनाउँछांै : आपूर्ति विभाग
राजु चौधरी

काठमाडौँ — बर्खा, बिचौलिया र भारतबाट कम आयात भएपछि तरकारी भाउ अस्वाभाविक रूपमा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा थोकमै चार गुणासम्म भाउ बढेको छ ।

तरकारीको भाउ ४ गुणासम्म बढयो

‘भारतबाट मात्रै वार्षिक ४५ प्रतिशत तरकारी भित्रिन्छ । आलु प्याज र कागती ९० प्रतिशत भारतकै भर हो,’ समितिका उपनिर्देशक विनय श्रेष्ठले भने, ‘अहिले भारतबाट आयात भएको छैन । स्वदेशी उत्पादन मात्रै हुँदा महँगो भयो ।’ उनले वर्षाका कारण पनि मूल्यमा केही असर परेको बताए । तर, पछिल्लो समय कायम मूल्य अस्वाभाविक भएको समितिको ठहर छ ।


समितिका अनुसार भारतबाट भित्रिएको तरकारी तुलनात्मक रूपमा सस्तो हुन्छ । आयात ठप्प भएपछि तरकारी केही महँगो भएको हो । ‘स्वदेशी तरकारको लागत नै बढी छ । वर्षामा तरकारी चाँडै कुहिन्छ । ढुवानी भाडा पनि महँगो पर्छ,’ उनले भने, ‘त्यसको असर देखिएको हो ।’ थोकमा भन्दा खुद्रामा बढी समस्या देखिएको उनले बताए । समितिका अनुसार थोकमा प्रतिकिलो १ सय १५ रुपैयाँ पर्ने हरियो धनियाँ अहिले ५ सय ९५ र प्रतिकिलो १९ रुपैयाँ पर्ने सानो गोलभेंडा दोब्बर बढेर ३९ रुपैयाँ पुगेको छ । काउली, आलु, प्याज, बोडी, घिउ सिमी, तिते करेला, घिरौंला, फर्सी, च्याउ, काँक्रो, खुर्सानी, लसुनलगायत तरकारीको भाउ बढेको छ ।


समितिका अनुसार कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । सामान्यत: कालीमाटी बजारमा दैनिक ६ सयदेखि साढे ६ सय टन तरकारी भित्रिन्छ । तरकारीको परिमाणमा कुनै कमी नभए पनि मूल्य भने अस्वाभाविक रूपमा बढेको हो । ‘आयात सामान्य नै छ,’ श्रेष्ठले भने, ‘तर, बजारमा ह्वात्तै बढेको छ ।’ समितिका अनुसार कालीमाटी बजारमा धादिङ, काभ्रे र दक्षिणकालीलगायत वरिपरिबाट तरकारी भित्रिएको छ । यी जिल्लाबाट भित्रिएका तरकारीको मूल्य बिचौलियाले तह–तहमा तोक्छन् । यसअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनमा ५ तहसम्म मूल्य तोक्दै आएको फेला परेको थियो । विभिन्न तहमा मूल्य तोकिँदा किसानले भाउ पाएका छैनन् भने उपभोक्ताले पनि चर्को मूल्य तिर्न बाध्य भएको विभागको निष्कर्ष तथा सुझाव थियो ।


समितिका अनुसार किलोको ३८ रुपैयाँ पर्ने स्थानीय काउली ७५ रुपैयाँ पुगेको छ । ४८ रुपैयाँ पर्ने बोडी बढेर ७८ रुपैयाँ पुगेको छ । ६२ रुपैयाँ पर्ने घिउ सिमी ९८ रुपैयाँ पुगेको छ । ३४ रुपैयाँ पर्ने रातो आलु ४२ रुपैयाँ पुगेको समितिको तथ्यांकमा छ । थोकमा भाउ बढेपछि खुद्रा व्यापारीले मनलाग्दी असुल्ने गरेका छन् । खुद्रा व्यापारीले पसलैपिच्छे फरकफरक मूल्य असुल्दै आएका छन् । थोकमा प्रतिकिलो ७५ पर्ने काउली कालीमाटीकै खुद्रा पसलमा सय रुपैयाँसम्म पर्छ । कालीमाटी बजार बाहिर प्रतिकिलो १ सय ४० सम्ममा
बेचिएको छ । होलसेलमा ३० रुपैयाँ पर्ने बन्दा खुद्रामा दोब्बर मूल्यमा बिक्री भएको छ । आधा किलोको प्याकेटमा पाइने डल्लो च्याउ होलसेल बजारमा १ सय ७५ रुपैयाँ पर्छ ।


बजार हस्तक्षेप, मूल्य नियन्त्रण तथा नियमन गर्ने जिम्मा पाएका वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागको हो । विभागले अन्य क्षेत्रमा अनुगमन गरे पनि तरकारी क्षेत्रमा भने अनुगमन गरेको छैन । विभागका महानिर्देशक योगेन्द्र गौचनले बिचौलियाका कारण मूल्य बढेको हुन सक्ने बताए । वर्षाका कारणले पनि मूल्यमा केही असर परेको उनले बताए । ‘किसानबाट ठेकेदारले खरिद गर्ने, त्यसपश्चात तह–तहमा मूल्य निर्धारण भई उपभोक्तालाई महँगो परेको छ,’ महानिर्देशक गौचनले भने, ‘मूल्य नियमन गर्न अनुगमन तीव्र बनाउँछौं ।’

प्रकाशित : श्रावण २८, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?