कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राधिकरणको नाफा १ अर्ब

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड खुद नाफा कमाएको छ । अन्तिम लेखा परीक्षण गर्न बाँकी भए पनि प्राधिकरणले यति खुद नाफा हुने अनुमान गरेको हो ।

प्राधिकरणको नाफा १ अर्ब

प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब ८६ करोड सञ्चालन नाफा गरेको थियो । वित्तीय र प्रशासनिक सुधारका कारण प्राधिकरण नाफामा गएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।


प्राधिकरणले आफैंले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र सहायक कम्पनीमार्फत निर्माण भइरहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षमा विद्युत् उत्पादन थाल्ने भएकाले प्राधिकरणको आम्दानी यो आर्थिक वर्षमा झनै बढ्ने उनले बताए ।


प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ मा विद्युत् बिक्री र ब्याजबाट ६० अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको छ । लोडसेडिङ अन्त्य र आफ्नो स्वामित्वमा रहेका विद्युत्गृहको कुशलतापूर्वक सञ्चालनले प्राधिकरणको आम्दानी बढेको घिसिङले जानकारी दिए । आर्थिक वर्ष २०७३/७४ मा प्राधिकरणले विद्युत् बिक्री र ब्याजबाट ५१ अर्ब ७० करोड आम्दानी गरेको थियो ।


लोडसेडिङ अन्त्य हुँदा सहरी क्षेत्रका ठूला गार्हस्थ तथा व्यापारिक र औद्योगिक ग्राहकतर्फबाट हुने आम्दानी बढेको प्राधिकरणको विश्लेषण छ । प्राधिकरणले गत आर्थिक वर्षमा भारतबाट २ अर्ब ५८ करोड युनिट विद्युत् आयात गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा भारतबाट २ अर्ब १७ करोड युनिट विद्युत् आयात गरिएको थियो ।


भारतबाट आयात हुने विद्युत्को औसत खरिद दर नबढेको प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षमा भारतबाट आयात गरिएको विद्युत्को औसत आयातदर ७ रुपैयाँ ४७ पैसा रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले उपभोक्ताबाट औसतमा प्रतियुनिट १० रुपैयाँ ४ पैसा लिइरहेको छ ।


‘भारतबाट आयात हुनेमध्ये करिब ७० प्रतिशत हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आपूर्ति हुन्छ, जसको खरिददर हामीले नेपालका निजी ऊर्जा उत्पादकलाई हिउँदका लागि दिँदै आएको प्रतियुनिट ८ रुपैयाँ ४० पैसाभन्दा कम छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।


नदीनालामा पानीको बहाव घटदा प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत्गृहबाट गत वर्ष करिब २० प्रतिशत उत्पादन घटे पनि ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना सञ्चालनमा आएका कारण विद्युत् आपूर्ति बढेको प्राधिकरणले जनाएको छ ।


गत आवमा ७० मेगावाटको मध्य मस्र्याङदी विद्युत्गृह मर्मत सम्भारका लागि ५ दिन र कुलेखानी दोस्रोको एउटा युनिट (१६ मेगावाट) मा समस्या आउँदा उत्पादन बन्द भएको थियो । कुलेखानी पहिलोको पनि एउटा युनिट (३० मेगावाट) मात्रै चलाइएको थियो । यसले गर्दा कुलेखानी पहिलो र दोस्रोको ४६ मेगावाट विद्युत् प्राणालीबाट विच्छेद भएको थियो ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?