कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सिन्डिकेट अन्त्यपछि गाडी थप्ने होड

वीरेन्द्र केसी

अर्घाखाँची — यहाँका पहाडी कच्ची बाटोमा सिन्डिकेट अन्त्यपछि बस, जिप र टयाक्सी थप्ने होडबाजी चलेको छ । सुरुमा पश्चिम नेपाल बस व्यवसायी समितिले सन्धिखर्क–बुटवल–काठमाडौं दैनिक बस सञ्चालन गर्थ्यो । १० वर्षअघि देउराली यातायात व्यवसायी समितिले जिप चलायो ।

सिन्डिकेट अन्त्यपछि गाडी थप्ने होड

बस जान नसक्ने यहाँका कच्ची बाटोमा जिप चल्दा संघलाई त्यति चासो थिएन ।


जब देउरालीले सन्धिखर्क–बुटवल जिप सञ्चालन गर्न खोज्यो संघले अवरोध गर्‍यो । यात्रु लिएर सन्धिखर्कबाट बुटवलतर्फ लागेका गाडी बीच बाटोमै रोकिए । एक वर्षको संघर्षपछि जिप चले । यात्रुको चाप बढदै गएपछि हाइस थपियो । संघले पुन: बाटो छेक्ने काम गर्‍यो ।


चार वर्षअघि सन्धिखर्क नगरपालिका भएपछि नगर बस सञ्चालन गर्न व्यवसायी सरोज पौडेलको नेतृत्वमा पाँचवटा मिनी बस भित्रिए । तर, समिति जिल्ला प्रशासनमा दर्ता हुनै सकेन । सन्धिखर्क भित्रिएका नगर बस संघ र देउरालीले चल्न दिएनन् । छुट्टै समिति दर्ता गरेर चलाउन नसकेपछि पौडेलले संघसँग समझदारी गरेर बस चलाएका थिए ।


सडकका हिसाबले अर्घाखाँची देशकै नमुना जिल्ला हो । टोलैपिच्छे सडक सञ्जाल छ । सहजै रूपमा गाउँमा साना गाडी चल्न सक्ने बाटो भएपछि ०७० सालमा टयाक्सी सञ्चालनमा आएका थिए । सुरुमा दसवटा टयाक्सी भित्रिए । तर, महिनांै दिनसम्म यत्तिकै थन्किए । संघ र देउरालीले टयाक्सी चल्न नदिन बाटो छेक्ने, यात्रु ओराल्ने काम गरे । जिल्ला प्रशासनले दर्ता गरिदिएन । बुटवल टयाक्सी व्यवसायी समिति र श्रीनगर यातायातले समेत टयाक्सी चल्न नदिन साथ दिए । नेपाल राष्ट्रिय यातायात महासंघले रुट परमिटका लागि जिल्ला प्रशासनलाई सिफारिस नै गरेन ।


‘टयाक्सी चलेपछि बस र जिपले यात्रु पाउँदैनन् भनेर संघ र देउरालीले चल्न नदिने प्रयास गरेका थिए,’ अध्यक्ष भुसालले भने, ‘हालै सरकारले सिन्डिकेट अन्त्यको घोषणा गरेपछि धेरै राहत भएको छ ।’ टयाक्सीको माग बढदो भएकाले गाडी अझै थपिने उनले बताए । ‘टयाक्सीमा चार यात्रु अट्छन् । हामीले त एम्बुलेन्सको काम गरेका छौं,’ उनले भने, ‘गाउँमा पुगेर बिरामी ल्याएका छौं । बस र जिपभन्दा टयाक्सी छिटो गन्तव्यमा पुग्छ ।’


कम्पनीमा दर्ता गरेपछि यातायातले लुम्बिनी अञ्चलका ६ जिल्लामा चल्न रुट परमिट दिएको छ । प्रदेशभरिका जिल्लामा चल्ने अनुमतिका लागि पहल भएको उनले बताए । ‘केही समयभित्रै १० वटा नयाँ गाडी थप्ने तयारीमा छौं,’ उनले भने, ‘सन्धिखर्क–बुटवल– काठमाडौं चल्ने ठूला गाडी भित्र्याउन पहल भइरहेको छ । सन्धिखर्क–दिल्लीसम्म पनि गाडी चलाउने तयारीमा छौं ।’


सरसामान किन्न सदरमुकाम झरेका गाउँले फर्कने बेला तीन–चारजना मिलेर टयाक्सी रिजर्भ गरेर लैजाने गरेको चालक चन्द्रबहादुर थापाले बताए । जिल्लाका सबै ठाउँमा गाडी लैजान सकिन्छ । ‘जिप र बस नचल्ने साँघुरा कच्ची सडकमा पनि टयाक्सी सजिलै जान्छन्,’ उनले भने, ‘त्यही भएर बन्द र गाडी बिग्रेका बेलाबाहेक कहिल्यै खाली बस्नु पर्दैन ।’

शीतगंगा नगरपालिकाका सीमलपानी, सिद्धारा, जलुके, जुकेनाबाहेक अरू गाउँ र टोलसम्म सहजै साना गाडी चल्छन् । पछिल्लो समय टयाक्सीको संख्या धेरै भएपछि रकम घटाएर लैजानुपर्ने र रिजर्भ अलि कम भएको थापाले बताए । टयाक्सी चलेपछि होटलमा बस्ने पाहुनामा कमी आएको व्यवसायीको गुनासो छ । बस र जिपमा पनि यात्रुको संख्या घटेको छ ।


जिल्ला सदरमुकामबाट वाङला–बल्कोट–ठूलापोखरा हुँदै गुल्मीको तम्घास, सन्धिखर्क–धारापानी–असुरकोटबाट प्यूठान सदरमुकाम, सन्धिखर्क–पोखराथोक हुँदै पाल्पाको तानसेन र सन्धिखर्क–दाङको भालुबाङसम्म कच्ची बाटोमा बस चल्छन् ।


‘वर्षाका बेला बसमा यात्रा गर्ने यात्रु खासै पाइँदैनन्,’ पश्चिम नेपाल बस व्यवसायी संघ सन्धिखर्क शाखा प्रमुख कमल भट्टराईले भने, ‘हिउँदमा भने सन्तोषजनक छ ।’ सन्धिखर्क–बुटवल–काठमाडौं र सन्धिखर्क–दिल्लीसहित जिल्लाका गाउँसम्म संघका १ सय ३० बस, आठ डिलक्स र एउटा नगर बस चल्ने गरेका छन् । केही दिनअघि एउटा सुविधा सम्पन्न बस थपिएको थापाले बताए । ‘पहिले सन्धिखर्कबाट बुटवल–काठमाडौं जाँदा/आउँदा बसभरि यात्रु कोचाकोच हुन्थे,’ चालक रामु विकले भने, ‘आम्दानी तेब्बर हुन्थ्यो । अहिले त कुनै महिना किस्ता बुझाउन पनि पुग्दैन ।’


देउरालीले पनि १ सय १० जिप, ३० हाइस र ५ मिनीबस सञ्चालनमा ल्याएको छ । हाइस सन्धिखर्कबाट बुटवल, काठमाडांै, दाङ, कृष्णनगर र पोखरा चल्छन् । ‘सरकारले समिति भंग गर्ने भनेपछि अलमल भएको छ,’ देउरालीका अध्यक्ष योगेन्द्र खडकाले भने, ‘गाडी थप्ने योजना त छ । तर, समिति रहने वा नरहने अन्योलले द्विविधा बढाएको छ ।’

प्रकाशित : श्रावण ३१, २०७५ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?