डलर भाउ हालसम्मकै उच्च

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १ सय १२ रुपैयाँ ५५ पैसा तिर्नुपर्ने भएको छ । यो हालसम्मकै उच्च हो । यसको अर्थ डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्ने हो ।

गत सोमबार एक अमेरिकी डलरको विनिमयदर १ सय १२ रुपैयाँ २० पैसा पुगेको थियो ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो । बुधबार एक अमेरिकी डलरका लागि भारु ७० रुपैयाँ खर्चनुपरेको थियो । यसको नेपाली मुद्रामा सीधा असर परेको हो । नेरु र भारुबीच स्थिर विनिमयदर छ । भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेकाले अमेरिकी डलरको तुलनामा भारु कमजोर हुँदा नेरु पनि कमजोर र बलियो हुँदा बलियो हुन्छ । अहिले पनि त्यही भएको हो ।

Yamaha

अमेरिका र चीनबीचको व्यापार युद्धका कारण यसै पनि कमजोर बन्दै गएको भारुलाई टर्कीको संकटले थप कमजोर बनाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र अल्मुनियममा लाग्दै आएको भन्सार महसुल दोब्बर बनाएसँगै टर्कीको अर्थतन्त्रमा समस्या देखिएको हो । यसले टर्कीको मुद्रा लिरा पनि अवमूल्यन भएका सामाचारहरू प्रकाशित भएका छन् । यसको असर युरोपेली बैंकहरूमा पनि पर्न सक्ने अनुमान उनीहरूको छ ।

पछिल्लो समयमा सबै उदीयमान राष्ट्रका (इमर्जिङ कन्ट्री) को अर्थतन्त्रमा समस्या देखिन थालेका छ । अमेरिकी अर्थतन्त्रमा आएको सुधारसँगै ती राष्ट्रको आर्थिक गतिविधि प्रभावित हुन पुगेको हो । यही असर भारतीय अर्थतन्त्रमा पनि परेकाले डलरको तुलनामा भारु कमजोर बन्दै गएको विज्ञहरू बताउँछन् । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतको चालु खाता घाटा त्यहाँको कुल गार्हस्थ उत्पादन (जीडीपी) तुलनामा २ प्रतिशतभन्दा बढी पुगेको छ । यो पनि हालसम्मकै उच्च हो ।

राष्ट्र बैंकले शुक्रबारका लागि प्रकाशित गरेको विनिमयदरअनुसार एक अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ ९५ पैसा छ । यो पनि हालसम्मकै उच्च हो ।

प्रकाशित : भाद्र १, २०७५ ०७:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

छिटो फल लाग्ने महँगो स्याउ बोट

उच्च घनत्व स्याउ खेती प्रविधिबाट लगाएको एक वर्षमै फल्ने
विमल खतिवडा

काठमाडौँ — सोलुखुम्बु दूधकुण्ड नगरपालिका २ स्थित इविङमका आङनुरी शेर्पाले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ५ वर्ष भयो । सुरुमा रिच ए रेड र गोल्डेन डेलिसियस जातको स्याउ लगाए । यो स्याउ अझै फलेको छैन । फल्न अझै ६ वर्ष लाग्छ ।

सोलुखुम्बुको फाप्लुस्थित बागबानी केन्द्रमा परीक्षणका रूपमा लगाइएको उच्च घनत्व खेती प्रविधिमार्फत फलेको स्याउ देखाउँदै प्राविधिक । तस्बिर : विमल । कान्तिपुर

तर, गत वर्ष उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत लगाएको स्याउ एक वर्षमै फलेपछि उनी दंग छन् । अघिल्लो वर्ष १ सय ५० बोट बिरुवा लगाएका उनले यो वर्ष ५ सय १० बोट थपे ।

‘सुरुमा कस्तो हुने हो भनेर थोरै बिरुवा लगाएँ,’ शेर्पाले भने, ‘तर, एकै वर्षमा राम्रो फल्यो, त्यही भएर यो वर्ष बिरुवा थपें ।’ पछि लगाएको स्याउमा पनि फल लागेको छ ।

तर, बिरुवा किनेर रोप्ने ठाउँसम्म ढुवानी गर्दा एउटै बोटको २ हजार पर्छ । ‘बिरुवा इटालीबाट आयात गरेको हो,’ उनले भने, ‘धेरै महँगो पर्ने हुँदा थप्ने चाहना हँदाहुँदै पनि सकिएको छैन ।’ गाउँमा अन्य किसानले पनि थोरै मात्रमा उच्च घनत्वको स्याउ लगाएका छन् । ‘यो ठाउँमा पर्यटक धेरै आउँछन्,’ उनले भने, ‘त्यसैले स्याउको माग पनि धेरै छ, गाउँघरमै यसको खपत बढी छ, बजारको समस्या छैन ।’ उनले उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत गोल्डेन डेलिसियस, फुजी, गाला, रेड डेलिसियस जातका स्याउ लगाएका हुन् ।

बागबानी केन्द्र सोलुका प्रमुख चन्द्रमान श्रेष्ठका अनुसार जिल्लाभर उच्च घनत्वको स्याउ प्रविधिमा ४ हजार बोट स्याउ लगाइएको छ । ०७३/०७४ सालबाट बागबानी केन्द्रमा यो प्रविधिमा स्याउ लगाइएको हो । ‘अहिले यस केन्द्रमा गोल्डेन डेलिसियस र फुजी जातको स्याउ लगाइएको छ,’ उनले भने, ‘परीक्षणका रूपमा लगाएको हो, राम्रो फलेको छ ।’ उनका अनुसार उच्च घनत्वको स्याउ प्रविधिमा स्याउ लगाउने बिरुवा नेपालमा उत्पादन हुँदैन । इटालीबाट आयात गर्ने गरिएको छ । यो समस्या सोलुको मात्र होइन । स्याउ उत्पादनको पकेट क्षेत्रका रूपमा रहेका जिल्लामा यो स्याउ लगाइएको छ ।

लगाएको एक वर्षमै फल्ने प्रविधि रोजाइमा परे पनि बिरुवा महँगो पर्ने हुँदा किसानले चाहेर पनि ठूलो परिमाणमा लगाउन सकेका छैनन् । त्यस्तै यो यो प्रविधिमा स्याउ लगाएपछि तारबारको राम्रो प्रबन्ध मिलाउनुपर्ने हुन्छ । बढी लगानी हुने भएकाले खेती किसानमैत्री बन्न सकेको छैन । किसानको माग सरकारी सहयोगमा नेपालमै बिरुवा उत्पादन गरेर सस्तोमा उपलब्ध गराउनुपर्ने भन्ने छ ।

अहिले किसानको मागअनुसार बिरुवा एग्रो मनाङले उपलब्ध गराउँदै आएको छ । एग्रो मनाङका प्रबन्ध निर्देशक युवराज गुरुङका अनुसार उच्च घनत्वको स्याउ प्रविधिमा स्याउ रोप्ने किसानलाई फोनबाट भए पनि प्राविधिक सहयोग उपलब्ध गराउने गरिएको छ । ‘बिरुवा महँगो भएकाले माग गर्ने किसान कम छन्,’ उनले भने, ‘लगानी पनि बढी पर्ने भएकाले थोरै किसानले मात्र यो स्याउ लगाएका छन् ।’ सबैभन्दा बढी एग्रो मनाङले लगाएको छ ।

प्रबन्ध निर्देशक गुरुङका अनुसार एग्रोले मनाङको भ्राताङमा उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत ५ सय ५० रोपनीमा ६८ हजार बिरुवा लगाएको छ । ‘सुरुमा इटाली र सर्बियाबाट बिरुवा ल्याएर रोपेका हौं,’ उनले भने, ‘स्याउ राम्रो फलेको छ, यो वर्ष ५ सय टन उत्पादन हुने अनुमान गरेका छौं ।’ बिरुवा ल्याएर लगाउनेदेखि काँटछाँट, कोल्ड स्टोर बनाउनसमेत गरेर अहिलेसम्म ३० करोड लगानी भएको उनले बताए ।

यति ठूलो परिणाममा उच्च घनत्व प्रविधिमा स्याउ लगाउने किसान कम छन् । गुरुङका अनुसार अन्य चारजना किसानले मनाङमा १५ रोपनी क्षेत्रफलमा लगाएका छन् । त्यस्तै सोलु, जुम्ला, हुम्ला, कालिकोट, गोरखा, रसुवामा थोरै मात्रामा उच्च घनत्व स्याउ प्रविधिमार्फत स्याउ लगाइएको छ । १० बोटदेखि ४ हजार बोटसम्म लगाउने किसान रहेको उनले बताए । ‘बिरुवा महँगो छ,’ उनले भने, ‘प्राविधिकको पनि समस्या छ ।’

उनका अनुसार एउटा बिरुवा १ हजार ३ सय ५० देखि १ हजार ४ सय रुपैयाँमा किसानलाई बाहिरबाट मगाएर उपलब्ध गराउने गरिएको छ । ‘यो ट्रायलजस्तै भएको छ,’ उनले भने, ‘सरकारले चासो दिएर नेपालमै बिरुवा उत्पादन गर्न सके किसानलाई सहुलियत हुने थियो, स्याउ लगाउने किसान बढ्ने थिए ।’ उता स्याउ सुपर जोन जुम्लाका बागबानी विकास अधिकृत जोगेन्द्र कान्दुका अनुसार उच्च घनत्व स्याउ प्रविधिमार्फत स्याउ लगाउने किसान कम छन् ।

‘नेपालमा यसको बिरुवा तयार हुँदैन,’ उनले भने, ‘तर, गुणस्तर बनाउन टिसु कल्चर ल्याब भए बाहिरबाट प्राविधिक ल्याई उत्पादन गर्न सकिन्छ ।’ एक वर्षमै फलेर लाभ लिन सकिने भए पनि बिरुवा महँगो भएकै कारण किसानले उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत स्याउ लगाउन नसकेको उनले बताए । उनका अनुसार प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले विज्ञापन गरेर १ लाख बिरुवाका लागि माग संकलन गरेको छ ।

कसरी लगाउने ?
उच्च घनत्व स्याउ खेती भनेको प्रतिइकाई क्षेत्रफलमा धेरै बिरुवा लगाउने प्रविधि हो । अहिले खेती गर्दै आएको स्याउको बिरुवादेखि अर्को बिरुवासम्मको दूरी ६ मिटर र लाइनको दूरी ६ मिटर हुन्छ । तर उच्च घनत्व स्याउको बोटदेखि अर्को बोटसम्मको दूरी १ मिटर र लाइनको दूरी ३ मिटर हुन्छ । पहिला ३ सय बोट लगाउने बिरुवा लगाउने जग्गामा यो २ हजारसम्म लगाउन सकिन्छ ।

त्यही भएर यसलाई उच्च घनत्वको स्याउ भनिएको हो । अन्य स्याउभन्दा यो १० गुणा बढी लगाएर खेती गरिने हुँदा प्रशस्त मात्रामा यसलाई प्रांगारिक पदार्थ भएको दोमट माटो चाहिन्छ । खेती गर्ने प्रविधि मात्र फरक भए पनि अन्य सबै कुरा एउटै भएकाले व्यावसायिक रूपमा हुने सबै क्षेत्रमा उच्च घनत्व प्रविधिमा स्याउ लगाउन सकिन्छ । यो समुद्री सतहबाट २ हजारदेखि ३ हजार मिटरसम्मको हिमाली क्षेत्रमा बढी उपयुक्त हुन्छ । प्रतिरोपनी ५ हजार केजी उत्पादन हुने हुँदा यसलाई व्यावसायिक रूपमा लगाएर धेरै आम्दानी गर्न सकिन्छ । यो पुस–माघमा रोपिन्छ ।

कसरी चाँडै फल्यो ?
कलमी गरेर बिरुवा बनाइएको हुन्छ । स्याउविज्ञ चुटराज गुरुङका अनुसार जुन करिब ९ फिटको हुन्छ । फल्ने हाँगा अर्कै जातको हुन्छ । बिरुवा अग्लो र फल्ने हाँगा रोप्ने भएकाले चाँडै फल्छ । नर्सरीमा बिरुवा तयार पार्दा फल्ने हाँगा तयार भएकाले एक वर्षमै फल्छ । एम नाइन (जराको नाम) रुट स्टकमा फल्ने विभिन्न जातको स्याउको हाँगा कलमी गरेर जोडी बिरुवा तयार पारिन्छ । रोप्ने बिरुवा तयार गर्न २ वर्ष लाग्छ ।

प्रकाशित : भाद्र १, २०७५ ०७:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT