कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट २ अर्ब ५८ करोड युनिट विद्युत् आयात

काठमाडौँ — राष्ट्रिय प्रसारण प्रणालीमा गत वर्ष प्राप्त कुल ऊर्जाको ३६ प्रतिशत भारतबाट आयात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ मा आफ्नो प्रसारण प्रणालीमा प्राप्त कुल ऊर्जामध्ये प्राधिकरण आफैंले ३३ प्रतिशत उत्पादन गरेको थियो । यस्तै निजी क्षेत्रबाट उत्पादित विद्युतको प्रतिशत करिब ३१ प्रतिशत छ ।

भारतबाट २ अर्ब ५८ करोड युनिट विद्युत् आयात

गत आर्थिक वर्षमा भारतबाट कुल २ अर्ब ५८ करोड युनिट विद्युत् आयात भएको प्राधिकरणले जनाएको छ । भारतबाट आयातित विद्युतको औसत मूल्य प्रतियुनिट ७ रुपैयाँ ४७ पैसा छ । भारतबाट आउने ७० प्रतिशत विद्युत् हिउँदमा आयात हुन्छ । भारतबाट आयात हुने विद्युतको खरिददर हिउँदमा नेपाली ऊर्जा उत्पादकसँग खरिद गर्ने विद्युतभन्दा सस्तो हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले हिउँदमा नेपाली ऊर्जा उत्पादनकसँग प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद गर्छ ।


प्राधिकरणले उपभोक्ताबाट प्रतियुनिट औसत १० रुपैयाँ ४ पैसा लिँदै आएको छ । प्राधिकरणले भारतबाट आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब १७ करोड युनिट विद्युत् आयात गरेको थियो ।


प्राधिकरणले शुक्रबार आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा प्रतिवेदन पेस गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो आर्थिक वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ र १४ मेगावाटको कुलेखानी तेस्रो सम्पन्न हुने बताए । प्राधिकरणले निर्माण गरिरहेको यीबाहेक निजी क्षेत्रबाट सम्पन्न हुने आयोजनाका कारण यो वर्ष कुल ६ सय मेगावाटभन्दा बढी विद्युत् राष्ट्रिय प्रणालीमा थपिने अनुमान छ ।


निर्माणाधीन केही आयोजना सम्पन्न भएसँगै वर्षायाममा नेपालमा खपत हुनेभन्दा बढी विद्युत् उत्पादन हुने अनुमानसहित प्राधिकरणले भारतसँग इनर्जी बैंकिङको अवधारणा अघि बढाएको छ ।


भारतीय निकायहरूमार्फत ‘इनर्जी बैंकिङ’ को विधि तय गर्ने प्रक्रिया जारी रहेको प्राधिकरणले जनाएको छ । वर्षायाममा नेपालमा बढी भएको विद्युत् अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत लैजाने र हिउँदमा नेपाललाई आवश्यक पर्दा पुन: ल्याउने अवधारणा नै इनर्जी बैंकिङ हो ।


सन् २०१७ को अगस्ट ८ मा नयाँ दिल्लीमा भएको ११ औं ऊर्जा व्यापार समितिको बैठकबाट हरेक वर्ष ५ दशमलव ५ प्रतिशतका दरले स्वत: वृद्धि हुने ऊर्जा खरिद दरको सट्टा निश्चित दरमा ऊर्जा खरिद गर्ने निर्णयको कार्यान्वयनबाट गत आर्थिक वर्षमा प्राधिकरणको आम्दानीमा सकारात्मक पुगेको कार्यकारी निर्देशक घिसिङको मूल्यांकन छ ।


प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत् बिक्री र ब्याजबाट ६० अर्बभन्दा बढी आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७३/७४ मा विद्युत् बिक्रीबाट प्राधिकरणको आम्दानी करिब ५२ अर्ब मात्रै थियो । गत आर्थिक वर्षमा प्राधिकरणले १ अर्बभन्दा बढी नाफा कमाएको अनुमान छ । प्राधिकरणको अन्तिम वित्तीय विवरण आउन बाँकी छ ।


प्राधिकरणको वार्षिकोत्सवमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अब विद्युत् आयोजना राजनीतिक स्वार्थ र दबाबमा भन्दा पनि त्यसले दिने प्रतिफलको आधारमा बन्ने बताए ।

प्रकाशित : भाद्र १, २०७५ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?