चिनियाँ पर्यटक बढे

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको जुलाई (मध्य असारदेखि मध्य साउन) सम्म नेपाल आउने विदेशीको संख्या ७३ प्रतिशतले बढेको छ ।

अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा ७३ हजार विदेशी नेपाल आएका हुन् । गत वर्ष जुलाईमा ४२ हजार पर्यटक नेपाल आएका थिए । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने पर्यटकको तथ्यांक हो । विभागका अनुसार यी कम्तीमा ४२ देशका नागरिक हुन् । सार्क मुलुकहरूबाट १३ हजार, पूर्वी एसियाबाट १० हजार, युरोपबाट ९ हजार, अमेरिका/क्यानडाबाट ४ हजार ४ सय विदेशी नेपाल आएका थिए ।

सबैभन्दा धेरै पर्यटक आउने तीन मुलुकमा भारतबाट १० हजार, चीनबाट ५८ सय, अमेरिकाबाट ३८ सय थिए । योसहित यस वर्षको जनवरीदेखि जुलाईसम्म नेपाल आउने विदेशीहरूको संख्या ५ लाख ९३ हजार पुगेको छ ।

Yamaha

सन् २०१७ को यही अवधिको तुलनामा यो १८ प्रतिशत वृद्धि हो । एक महिनाको आँकडा विश्लेषण गर्दा भारतबाट हवाई मार्ग हुँदै आउनेहरूको संख्या ८० प्रतिशत र सार्क मुलुकहरूबाट आउनेहरूको दर ६६ प्रतिशतले बढेको देखिन्छ । तर, बंगलादेशबाट आउनेहरूको संख्या ९ प्रतिशतले घटेको छ । यस्तै चिनियाँ पर्यटकको आगमन १ सय २५ प्रतिशतले बढेको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र २, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

संकटमा सिमसार

२०२० सालमा ३३ मिटर गहिरो तथा १० वर्ग किलोमिटर क्षेत्रफल भएको फेवाताल अहिले ११ मिटर गहिरो तथा ४.२० वर्ग किलोमिटरमा खुम्चिएको छ ।
जुद्धबहादुर गुरुङ

काठमाडौँ — गण्डकी प्रदेशको राजधानी पोखरा अवस्थित फेवाताल दिन–प्रतिदिन पुरिँदैछ । सन् २०१२ मा प्रकशित प्रतिवेदन अनुसार फेवातालको वरिपरिका डाँडाकांँडामा वन विनाश, अनियन्त्रित भौतिक निर्माण तथा प्राविधिक नापजांँच वा विना अध्ययन बनेको ६३ किलोमिटर २५ वटा ग्रामीण सडक छन् ।

परिमाण यस क्षेत्रबाट प्रतिवर्ष २,६९,७५२ घनमिटर अर्थात् ४,२९२ घनमिटर प्रतिकिलोमिटर लेदो वा गेग्रन थुप्रिन्छन् । कास्कीको १५ औं जिल्ला परिषदले तालको किनारबाट ६५ मिटर कायम गरेको मापदण्ड विपरीत सयौं संरचना निर्माण भएका छन् । जलकुम्भी, तिलापिया जस्ता मिचाह प्रजातिको उपस्थिति तथा सहर–बस्तीको ढल निकास तथा कृषि क्षेत्रबाट उत्सर्जित रासायनिक प्रदूषण सिधै फेवातालमा पुग्छ ।

यी सबै गतिविधि लगायत जलवायु परिवर्तनको एकीकृत नकारात्मक प्रभाव ताल क्षेत्रमा परिरहेको छ । २०२० सालमा ३३ मिटर गहिरो तथा १० वर्ग किलोमिटर क्षेत्रफल भएको फेवाताल अहिले ११ मिटर गहिरो तथा ४.२० वर्ग किलोमिटरमा खुम्चिएको छ । यस बाहेक मानवीय अतिक्रमण, वातावरणीय प्रदूषण तथा मिचाह प्रजातिको अतिक्रमण तथा जलवायु परिवर्तनको नकारात्मक प्रभावले फेवातालको बिग्रँदो अवस्था तालहरू संकटमा परेको एक ज्वलन्त उदाहरण हो ।

हाम्रो वरपर देखिने वा भेटिने ओसिलो, धापिलो, थलथले, दलदले, पानी जमिरहने वा कहिल्यै पानी नसुक्ने जमिनलाई सामान्य बोलीचालीमा सिमसार भनिन्छ । अझ सरल भाषामा ‘जहाँ पानी कहिल्यै सुक्दैन र जमिन लुक्दैन’ त्यसैलाई सिमसार भनिन्छ । सिमसार सम्बन्धी महासन्धि रामसारले ४१ प्रकारका सिमसार पहिचान गरेको छ । तीमध्ये नेपालमा नदी, कुण्ड, ताल, जलाशय, धाप र धानखेत गरी ६ प्रकारका सिमसार पाइन्छन् । अन्टार्टिका बाहेक संसारका अन्य सबै महादेशमा सिमसार क्षेत्र पाइन्छ ।

दक्षिण अमेरिकाको अमेजन नदीको तटीय क्षेत्र विश्वको सबभन्दा ठूलो सिमसार क्षेत्र हो । विश्वको कुल क्षेत्रफलको ९ प्रतिशत जमिन सिमसारले ओगटेको छ भने नेपालमा ५.५७ प्रतिशत क्षेत्रफल सिमसारले ढाकेको छ । यस मध्ये खोलानाला नदीले लगभग ४८.२ प्रतिशत, धानखेतले ४८.६ प्रतिशत, धापले १.५ प्रतिशत, पानीका पोखरी, कुवा वा कुण्डहरूले ०.९ प्रतिशत, मानव निर्मित तथा प्राकृतिक तालहरूले ०.६ प्रतिशत र विद्युत उत्पादनका लागि निर्मित ठूला जलाशयले ०.२ प्रतिशत ओगटेको छ । यी मध्ये तालहरूको मात्र अभिलेखीकरण भएको छ । सामान्यतया सिमसार क्षेत्रलाई ताजा पानी तथा नुनिलो पानी भनी वर्गीकृत गरिएको छ । नेपालमा पाइने ताजा पानीका सिमसार हुन् ।

सिमसार क्षेत्रले स्थानीय सामुदायका लागि पारिस्थितिक प्रणाली कायम राख्ने महत्त्वपूर्ण कार्यको परिचालनमा आवश्यक पदार्थहरूको आपूर्ति गरिरहेका छन् । खासगरी माछा, पाहा, भ्यागुता, गंगटो, सर्पले आहार आपूर्ति सिमसार क्षेत्रबाटै गर्छन् । मानिसलाई आवश्यक पर्ने जैविक तथा गैरजैविक इन्धनको स्रोत पनि सिमसार नै हुन् । सजीवहरूलाई आवश्यक पर्ने पानीको प्रमुख स्रोत वा नुन नभएका अर्थात् ताजा पानीको प्रमुख स्रोत पनि सीमक्षेत्र नै हो ।

विभिन्न जङ्गली प्रजातिका सजीवहरूको अनुवांशिक स्रोतको रूपमा पनि सिमसार क्षेत्रलाई मानिन्छ । स्थलीय वातावरणमा सिमसार क्षेत्रले बृहत पारिस्थितिक प्रणाली परिचालन गर्न विभिन्न किसिमका सेवामूलक सहयोग प्रदान गरिरहेका छन् । यस बाहेक जलीय पारिस्थितिक प्रणाली भित्रको प्राथमिक उत्पादन खासगरी जलीय वनस्पतिहरूका लागि आवश्यक पौष्टिक तत्त्वहरू परिचालन, माटो निर्माण लगायत अन्य पारिस्थितिक प्रणाली कायम राख्ने लगायतका कार्य यिनैले गर्छन् ।

विश्वका बृहत मानव सम्यताहरूको विकास नदी किनारा वा सिमसार क्षेत्रबाट सुरु भएका अभिलेखहरू पाइन्छन् । जन्मदेखि मृत्युसम्मका धार्मिक कार्यमात्र नभई माछा मार्ने, पौडी खेल्ने, नौका विहार लगायतका विभिन्न मनोरञ्जनात्मक गतिविधि खोला, नदीनाला, ताल, पोखरीजस्ता सिमसार क्षेत्रमा नै केन्द्रित हुन्छन् । यी बाहेकका सौन्दर्य, पर्यटन, शिक्षा तथा उत्प्रेरणाको स्रोत मानव जीवनको जन्मदेखि मृत्युसम्मको संस्कार पानीमै निर्भर छ ।

हिन्दु धर्ममा आधारित प्रमुख चाडपर्वहरू जस्तै– साउने सोमबार भक्तजनहरू ‘जय बम भोले बाबा’ भन्दै काठमाडौंका कापरी लगायत अन्य समुदाय काठमाडौंको सुन्दरीजलबाट पानी बोकेर पशुपतिनाथमा चढाउने प्रचलन, बाहुन जातिका पुरुषहरू जनैपूर्णिमा स्नान गरेपछि मात्र नयाँं जनै फेर्न कुवा, खोला, पोखरी लगायत जलाशयहरूमा पुग्छन् । तराई मूलका सबै जातजाति छटपर्व मनाउन खोला, नदी, तालतलैयाको किनारमा स्नान गरी सूर्य नारायणको दर्शन गर्ने कार्यक्रम गर्छन् ।

अधिकांश हिन्दु धर्मावलम्बीहरूले माघे संक्रान्तिमा शुद्ध जलले नुहाएपश्चात् मिठा भोजन लगायत दानदक्षिणा प्रदान गर्ने प्रचलन छ । यस प्रकार सिमसार क्षेत्रहरू धर्म तथा आस्थाका केन्द्र पनि हुन् । यसैकारण मानिसहरूले सिमसारको सांस्कृतिक महत्त्व छ भनी विश्वास गर्छन् । अझ गाउँघरतिर त सिमे–भूमेको पूजा नै गरिन्छ । स्थलीय वातावरणमा बृहत पारिस्थितिक प्रणाली परिचालन गर्न खासगरी पराग सेचन, मिचाह प्रजाति कायम राख्न, जलवायु नियमन गर्न, पानी शुद्धीकरण, प्राकृतिक विपत् न्यूनीकरण गर्न, किरा तथा रोगव्याधि नियन्त्रणका लागि सिमसारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यिनै लगायत अन्य धेरै कारणले सिमसार महत्त्वपूर्ण छन् ।

नेपालको जैविक विविधता संरक्षण रणनीति योजनाले संरक्षणका लागि पहिचना गरेको ५ क्षेत्रमध्ये सिमसार पनि प्राथमिकतामा पर्छ । तर अहिलेसम्म भएका सरकारको प्रयास परिणाममुखी देखिएको छैन । तर सिमसार क्षेत्र सरकारको प्राथमिकतामा परेको छैन । त्यसैले सिमसारहरू तीव्र गतिमा मानवीय अतिक्रमणमा पारेका छन् । ताल वा नदीका किनारमा अतिक्रमण गरी होटल निर्माण गरेका छन् ।

उदाहरणका लागि पोखरास्थित फेवातालको अतिक्रमणलाई लिन सकिन्छ । विगत ३० वर्षयता फेवातालको क्षेत्रफल ६० प्रतिशत घटेको छ । अधिकांश तालतलैयामा जलकुम्भी लगायत अन्य प्रजातिका मिचाह प्रजातिका जलीय वनस्पतिहरूको विगविगी छ । पचासको दशकदेखि यता ‘आफ्नो गाउँ आफै बनाऊँ’ जस्ता सरकारी बजेट पाउने कार्यक्रमले पहाडी भेगको भिरालो जमिनमा उचित प्राविधिक अध्ययन तथा परामर्श लगायत वातावरणीय प्रभाव परीक्षण विनाको विकासे गतिविधि व्यापक रूपमा परिचालन भएका छन् ।

यस किसिमका खासगरी मापदण्ड विपरीतका सडक खन्ने डोजर आतंकले अकल्पनीय रूप लिनथालेको छ । यसले वर्षायाममा बाढी–पहिरो लगायत भूक्षयले विद्यमान नदीनालाहरू धमिलिँदै जलीय वातावरण बिग्रिनुका साथै दैनिक रूपमा बगाएर ल्याउने लेदो तथा गेग्रान थिग्रिँदै जाने प्रक्रियाले सिमसार क्षेत्र तीव्र गतिमा पुरिँदै गएको छ । मानव समुदायबाट उत्सर्जन भएका जैविक तथा अजैविक फोहोर–मैला विसर्जन गर्ने थलोका रूपमा तालतलैया, नदी, खोलाहरू अधिक प्रयोग गर्ने प्रचलनले वातावरणीय प्रदूषणको चपेटामा परिरहेका छन् । यस बाहेकका वर्तमान अवस्थामा विश्वव्यापी रूपमा फैलिएको जलवायु परिवर्तनको नकारात्मक प्रभावले सिमसार क्षेत्रहरूसमेत अछुतो नभएकाले यी क्षेत्रहरू सुकेर जमिनमा परिणत भइरहेका छन् । यी सबै समस्याको सामना पोखराको फेवातालले गरिरहेको छ ।

सन् २००९ मा गरिएको हवाई नक्सा अध्ययनले नेपालमा लगभग ५,३५८ तालहरू छन् । यी मध्ये ३ हजार मिटरभन्दा कम उचाइमा अवस्थित र एक हेक्टरभन्दा ठूला क्षेत्रफल भएका ३१३१ बटा (६० प्रतिशत) भेटिएको छ । सन् २०१६ मा सम्पन्न स्थलगत अध्ययनले ती ३१३१ मध्ये ४८५ तालहरूमात्र भएको प्रमाणीकरण गरेको छ । ती मध्ये ९७ वटा तालको सामाजिक तथा जैविक अवस्था सन्तोषजनक पाइयो भने बांँकी तालहरूको अवस्था दयनीय वा खस्किँदो अवस्थामा छ । बांँकी लगभग ८५ प्रतिशत तालहरू हराएको वा मासिएको प्रमाणित भएको छ ।

सन् २००९ को अध्ययनले भेटाएका तालहरूमध्ये तराईका १० वटा जिल्लाको हवाई नक्सामा १०० माथि संख्यामा भेटिएको वास्तविक चित्र प्रस्तुत छ । हवाई नक्साको अध्ययनमा सबभन्दा बढी तालहरू भएको जिल्ला कपिलवस्तुमा ३५१ ताल थिए । तर ती तालहरूमध्ये ४८ वटामात्र (१४ प्रतिशत) स्थलगत अध्ययनमा भेटिएको छ । यसैगरी रूपन्देहीमा २६९ तालमध्ये २९ (११ प्रतिशत), बांँकेमा २४३ मध्ये ६ वटा ताल (३ प्रतिशत), धनुषामा २३० मध्ये २३ ताल (१० प्रतिशत), महोत्तरीका १८६ मध्ये १२ ताल (७ प्रतिशत), मोरङका १८४ मध्ये ११ ताल (६ प्रतिशत), नवलपरासीमा १६३ मध्ये २३ वटा ताल (१४ प्रतिशत), सिरहामा १४० मध्ये २३ (१६ प्रतिशत), झापा १३६ मध्ये २० (१५ प्रतिशत), कैलालीमा ११४ मध्ये ४८ (४२ प्रतिशत) भन्दा बढी तालहरू देखिएको थियो । तर स्थलगत अध्ययन गर्दा माथि उल्लेखित १० जिल्लामा ८६ प्रतिशतभन्दा बढी ताल भेटिएन । यो ताल संरक्षणको क्षेत्रमा ज्यादै गम्भीर चुनौती हो ।

सिमसार क्षेत्रको यस किसिमको डरलाग्दो अवस्थालाई मध्यनजर राखी सरकारले संरक्षणका महासन्धिहरूमा हस्ताक्षर गरी पक्षराष्ट्रमा दर्ता भएका छन् । उदाहरणको लागि रामसार महासन्धि १९७१, जैविक विविधता महासन्धि १९९२, मरुभूमिकरण रोक्ने महासन्धि १९९२ लगायतका छन् । यस बाहेक नेपालको संविधानको अनुसूची–५ मा संघीय सरकारको जिम्मामा सिमसार क्षेत्रलाई राखेको छ । राष्ट्रिय संरक्षण रणनीति १९८८, सिमसार नीति २०१३, वन नीति २०१५, वातावरण संरक्षण ऐन १९९७, स्थानीय स्वायत्त शासन ऐन तथा जलाधार ऐन १९८२, विद्युत ऐन १९९२, जलस्रोत ऐन १९९२, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन १९७३ लगायत अन्य केही नीति तथा ऐनहरूले सिमसार संरक्षणमा सहयोगी भूमिका निर्वाह गरेका छन् । यतिले मात्र लक्षित संरक्षण प्राप्त गर्न सकिँदैन ।

सन् २००७ मा सरकारले विकास समिति ऐन २०१३ मा आधारित भई राष्ट्रिय ताल संरक्षण तथा विकास समिति गठन गरेको थियो । यसले सिमसार संरक्षण राष्ट्रिय रणनीति तथा देशभरका तालहरूको सामाजिक तथा जैविक सूचना सहितको विस्तृत अभिलेख तयार गरेको छ । तर २०७५ असार २० गतेको संघीय मन्त्रिपरिषदको निर्णयले लगभग ५०० जति विकास समिति, आयोग तथा प्रतिष्ठान खारेज गरेपछि यो समिति पनि प्रभावित भएको छ ।

नेपालका सिमसारहरू खासगरी तालहरू ताजा पानीका हिमाली तालहरू हुन् । क्षेत्रफलका हिसाबले नेपालका तालहरू साना छन् । त्यसैले साना तालहरूमा मानवीय तथा प्राकृतिक प्रभावद्वारा बढी जोखिममा हुन्छन् । माथि उल्लेखित अध्ययनहरूद्वारा प्राप्त प्रमाणले यी साना तालहरूले बढी जोखिमको सामना गर्नुपरेकोले छोटो समयमा मासिने क्रम तीव्र भइरहेछ । यस गतिलाई अलि कम वा न्यूनीकरण गर्न तत्काल उचित ढांँचा वा संरचनाको खाँचो छ ।

त्यसैले तालहरूमा देखापरेका यी सामस्या प्राथमिकता राखी संरक्षणको कार्यक्रमलाई अघि बढाउन ताल संरक्षण तथा विकास प्राधिकरण गठन गर्नु जरुरी छ । यस कार्यको सम्बोधन गण्डकी प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरण गठन गर्ने नीतिगत निर्णय गरी आ.व. २०७५/७६ को बजेटमा समेत पारित गरिसकेको छ । प्राधिकरण जस्ता संरचनाले मात्र यो ताल संरक्षणमा प्रभावकारी योगदान दिन सक्छ ।

गुरुङ संरक्षण विज्ञ हुन् ।

प्रकाशित : भाद्र २, २०७५ ०८:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT