एउटै खोलामा पाँच आयोजना

विमल खतिवडा

सोलुखुम्बु — सोलु खोलामा जलविद्युत् आयोजना निर्माणमा प्रतिस्पर्धा चलेको छ । एउटै खोलामा ५ वटा आयोजना निर्माणका क्रममा छन् । ती आयोजनाबाट २१४.५ मेगावट विद्युत् उत्पादन हुनेछ ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका ११ स्थित तिङलामा ८२ मेगावाटको लोवर सोलु जलविद्युत् आयोजनामा बाँध निर्माण गरिदै । तस्बिर : विमल । कान्तिपुर

आयोजनामा करिब ५० अर्ब रुपैयाँ लगानी हुँदै छ । उत्पादित विद्युत् सोलु कोरिडोरमा निर्माणाधीन प्रसारण लाइनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ । ५ देखि ८६ मेगावाटका आयोजना निर्माणका क्रममा छन् । सोलु दूधकुण्ड नगरपालिकाका अनुसार ५ मेगावाटको दोभान जलविद्युत्, १८ मेगावाटको बेनी जलविद्युत्, २३.५ मेगावाटको अपर सोलु, ८२ मेगावाटको लोवर सोलु र ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

‘निर्माण सुरु भएको एक वर्ष भयो,’ लोवर सोलु जलविद्युत् आयोजनाका प्रबन्धक एवं प्रशासक कविराज पौडेलले भने, ‘अहिलेसम्म ६५ प्रतिशत निर्माणको काम भएको छ, २०१९ डिसेम्बरमा निर्माण सम्पन्न हुनेछ ।’ उनका अनुसार उक्त नगरपालिकाको वडा नम्बर ११ स्थित तिङलामा नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन निर्माण गरिरहेको छ ।

Yamaha

तिङलादेखि सिराहाको मिर्चैयासम्म ९० किमि ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ । निर्माणपश्चात् त्यही लाइनको १ सय ३२ केभीए प्रसारण लाइनमा उत्पादित विद्युत् जोडिनेछ ।

‘सबै खोलाबाट विद्युत् उत्पादन हुँदैन तर यो खोलामा पानीको प्रवाह गति बढी छ,’ उनले भने, ‘त्यसैले पानीको फ्लोबाट विद्युत् उत्पादन गर्न सहज छ ।’ उनका अनुसार सबै आयोजना निजी क्षेत्रको प्रयासबाट निर्माण भइरहेका छन् । खोलामा जताततै विद्युत् निर्माणको काम सुरु भएपछि स्थानीय दंग छन् । जिल्लामा अझै केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार हुन सकेको छैन । अधिकांशले स्थानीय लघु जलविद्युत् उपभोग गर्दै आएका छन् । अहिले उत्पादन भइरहेको विद्युत् जिल्लामा खपत हुने छैन । यो केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।

‘अहिले सोलु खोला ऊर्जा खोलो भएको छ,’ सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले भने, ‘यसले जिल्लामा फाइदा छ, स्थानीय तहले २५ प्रतिशत रोयल्टी पाउनेछ ।’ उनका अनुसार जिल्लामा ठूला आयोजना निर्माण हुनु गौरवको कुरा हो । ग्रामीण विद्युतीकरणका लागि ३३ केभीए प्रसारण लाइन ल्याउनका लागि काम सुरु भएको छ ।

‘ओखलढुंगाबाट यो लाइन विस्तार गरिनेछ,’ उनले भने, ‘अहिले पोल र तार टाँग्ने काम सुरु छ ।’ उनका अनुसार मंसिरसम्म नगरपालिका–११ स्थित तिङलामा लाइन विस्तार भइसक्नेछ । धेरै आयोजना निर्माणाधीन अवस्था भए पनि रोजगारीमा स्थानीयको पहुँच पुग्न सकेको छैन । ‘हामीले स्थानीयलाई रोजगारी दिनुपर्छ भनेर धेरै कुरा गर्‍यौं,’ उनले भने, ‘कामदार महँगा भए, भनेजस्तो म्यानपावर नभएकाले बाहिरबाट ल्याउनुपरेको भन्ने जवाफ आउने गरेको छ ।’

पहिले प्रमोटर सेयर अति प्रभावित, प्रभावित तथा नगरबासीलाई नदिएको भन्दै स्थानीयबासीले निर्माणाधीन आयोजनामा तालाबन्दी समेत गरेका थिए । ‘प्रमोटर सेयर पनि स्थानीयबासीलाई दिने भनेपछि ताला खुलेको हो,’ मेयर शेर्पाले भने, ‘अहिले सेयरबारे छलफल भइरहेको छ, दिने निर्णय भएको छैन ।’ तर, विवाद भएर निर्माणको काम नरोकिएको उनले बताए । उता निर्माण कम्पनीहरूले स्थानीयको मागलाई सकारात्मक रूपमा लिएको जनाएका छन् ।

आयोजना निर्माण सुरु भएपछि सोलुबासी विकासको लहर आएको भन्दै दंग छन् । ‘एउटै खोलामा यति धेरै हाइड्रो बन्नु खुसीको कुरा हो,’ फाप्लुका पर्यटन व्यवसायी आङ निङमा लामाले भने, ‘यसले जिल्लामा विकासको लहर ल्याएको छ ।’

Esewa Pasal

प्रकाशित : भाद्र २, २०७५ ०८:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

माइक्रोफाइनान्सबाटै फड्को

‘स्थायी शान्ति तबसम्म हासिल गर्न सकिन्न जबसम्म ठूलो जनसंख्यालाई गरिबीबाट बाहिर निकाल्न सकिने तरिका हामी खोज्न सक्तैनौं’
दिनेश यादव

काठमाडौँ — एकजना बंगलादेशी सामाजिक उद्यमी, बैंकर, अर्थशास्त्री र नागरिक समाजका नेता हुन्– मुहम्मद युनुस । बंगलादेशको एउटा दुर्गम गाउँमा जन्मे, त्यहीँ आफ्नो बाल्यकाल बिताए । एकजना ज्वेलर्स (सुनका गहना बनाउने) का छोरा हुन्– उनी ।

आमाचाहिँ गृहणीसँगै समाज सेवामा पनि सक्रिय थिइन् । नौ सन्तानमध्ये युनुस तेस्रा हुन् । उनले सञ्चालनमा ल्याएको माइक्रोफाइनान्स प्रणाली धेरैका लागि अनुसरणीय मात्रै बनेको छैन, आर्थिक रूपमा धेरैलाई माथि उठ्न सहयोग पनि गरेकै छ । उनले सञ्चालन गरेको ग्रामीण बैंक र आफूले अघि सारेको ‘माइक्रोफाइनान्स’ प्रणालीका कारण नोबेल पुरस्कारसमेत जित्न उनी सफल भए ।

अमेरिकी अखबार ‘फोर्ब्स’ का अनुसार युनुस माइक्रोक्रेडिटको अवधारणा अघि सारेरै चम्केका हुन् । उनको ग्रामीण बैंकले गरिब महिलाहरूलाई रकम दियो, यो काम अन्य कसैले त्यसअघि गरेका थिएनन् । आज तिनै महिलाहरूसँग बैंकको ९७ प्रतिशत हिस्सा छ ।

उनले एउटा पाइलट परियोजना सञ्चालनमा ल्याएका थिए, जसले भिख माग्नेहरूलाई कुकिज र क्यान्डिज जस्तो व्यापार गर्नका लागि ५ अमेरिकी डलर ऋण प्रदान गरेको थियो । युनुसले यो परियोजनामा एक हजार भिखारी सहभागी हुने अपेक्षा गरेका थिए । तर, एक लाखभन्दा बढी सहभागी भइदिए । दुई वर्षभित्रै २५ हजारभन्दा बढी भिखारीले भिख माग्नै बन्द गरे । किनभने तिनीहरू टाढाटाढासम्म ‘डोर टु डोर’ व्यापार गर्दै मनग्ये आम्दानी गर्न सफल भए । मानिसलाई अवसर दिएमा उसले आफ्नो क्षमताअनुसार काम गर्छ भन्ने भनाइ युनुसको छ ।

२८ जुन १९४० मा बंगलादेशको चटगाउँको बथुवा गाउँमा एउटा बंगाली मुस्लिम परिवारमा युनुसको जन्म भएको हो । बुबा हाजी दुला मिया सौदागर एकजना ज्वेलर्स थिए, आमा सोभियाचाहिँ समाजसेवी । युनुसको बाल्यकाल गाउँमै बित्यो । सन् १९४४ मा उनको परिवार चटगाउँ सहर बसाइ सरेपछि बल्ल उनको औपचारिक अध्ययन सुरु भएको हो । त्यहाँ उनलाई लामाबजार प्राइमर स्कुलमा भर्ना गरियो ।

स्कुलमा पढ्ने बेला आमा मनोवैज्ञानिक रूपमा रोगी थिइन् । त्यसले कहिलेकाहीँ उनलाई तनाव हुने गरे पनि पढाइमा भने आफूलाई अब्बल बनाइराख्न कुनै कसर बाँकी राखेनन् । त्यसैको परिणाम थियो, उनी तत्कालीन पूर्वी पाकिस्तानमा ३९ हजार विद्यार्थीहरूबीच १६ औं स्थानका साथ चटगाउँ कलेजिएट स्कुलबाट म्याट्र्रिक परीक्षा उत्तीर्ण गरे । स्कुले जीवनमा उनी ‘स्काउट व्वाय’ का रूपमा सक्रिय रहे । उनी सांस्कृतिक गतिविधिहरूमा पनि उत्तिकै सक्रिय रहे, नाटकमा समेत सहभागी भए । त्यसक्रममा धेरै पुरस्कारसमेत जित्न सफल भएका थिए ।

सन् १९५२ मा पश्चिम पाकिस्तान र भारतको यात्रा गर्ने अवसर पाए । त्यसक्रममा उनले धेरै कुरा सिके । सन् १९५५ मा जाम्बोरिजमा सहभागी हुन क्यानाडा जाने मौका पनि उनले पाए । सन् १९५७ मा उनले ढाका विश्वविद्यालयमा अर्थशास्त्र विभागमा भर्ना भए । सन् १९६० मा उनले स्नातक र सन् १९६१ स्नातकोत्तरसम्मको पढाइ पूरा गरे । स्नातक उत्तीर्णपछि युनुस प्रोफेसर नुरुल इस्लाम र रहमान शोभानको अर्थशास्त्र शोधको सहायकका रूपमा अर्थशास्त्र ब्युरोमा सहभागी भए ।

पछि सन् १९६१ मा चटगाउँ कलेजमा अर्थशास्त्रको लेक्चररका रूपमा नियुक्त भए । त्यसैबेला उनले आफूलाई आर्थिक रूपमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्याकेजिङ कारखानासमेत सञ्चालनमा ल्याए । उक्त कारखाना नाफामा गयो । त्यसबाट उनको आर्थिक अवस्था पनि सुदृढ हँुदै गयो । आज तिनै युनुसको कुल सम्पत्ति १ अर्ब रुपैयाँभन्दा बढी रहेको विभिन्न सञ्चार माध्यमहरूले जनाएको छ ।

युनुसले माइक्रोक्रेडिट र माइक्रोफाइनान्सको अवधारणाको नेतृत्व गर्दै विश्वको ध्यान आफूमाथि केन्द्रित गर्न सफल भए । ग्रामीण बैंकको स्थापनाले उनी थप चर्चित बनेका हुन् । पारम्परिक बैंक ऋणका लागि योग्य रहेकादेखि गरिब र उद्यमीलाई समेत उनको बैंकले ऋण उपलब्ध गराउँथ्यो । सन् २००६ मा युनुस र उनको ग्रामीण बैंकलाई संयुक्त रूपमा ‘नोबेल शान्ति पुरस्कार’ प्रदान गरिएको थियो ।

गरिबीको रेखाभन्दा तल रहेकाहरूको आर्थिक र सामाजिक विकासमा माइक्रोक्रेडिट माध्ययबाट महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नर्वेली नोबेल समितिले त्यसताका भनेको थियो, ‘स्थायी शान्ति तबसम्म हासिल गर्न सकिन्न जबसम्म ठूलो जनसंख्यालाई गरिबीबाट बाहिर निकाल्न सकिने तरिका हामी खोज्न सक्तैनौं ।’

युनुस र ग्रामीण बैंकले गरिबहमध्येमा पनि सबैभन्दा बढी गरिबले समेत आफ्नो काम र विकास आफैं गर्न सक्ने संस्कृतिको विकास गर्न सहयोग गरेकाले यो पुरस्कार प्रदान गरिएको समितिले जनाएको थियो । युनुसले अन्य कयौं राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान पाइसकेका छन् । तीमध्ये सन् २००९ मा अमेरिकी स्वतन्त्रता राष्ट्रपति पदक र २०१० मा कंग्रेसनल स्वर्ण पदक प्राप्त गरेका थिए । सन् २००८ मा उनले ‘टप १०० ग्लोबल थिंकर्स’ को विदेश नीति पत्रिकाको सूचीमा नम्बर २ मा परेका थिए ।

बीबीसीको एक रिपोर्टमा ‘युनुसको क्रान्तिकारी माइक्रोक्रेडिट प्रणालीबाट विश्वका ७० लाख गरिब लाभान्वित भए, ती मध्ये अधिकांश बंगलादेशका थिए’ उल्लेख छ । चटगाउँ विश्वविद्यालयमा प्राध्यापक छँदा सन् १९७६ मा उनलाई माइक्रोफाइनान्सको विचार आएको थियो । पहिलोपटक उनले जारी गरेको ऋणको मूल्य ३ हजार (२७ अमेरिकी डलर) रुपैयाँ मात्रै रहेको थियो । विश्वविद्यालय नजिकैको जोब्रा गाउँका ४२ जना महिलाले पहिलोपटक ऋण पाएका थिए । त्यसअघि ती महिलाहरूले स्थानीय साहुबाट चर्को ब्याजमा ऋण लिने गर्थे ।

सन् २०११ फेब्रुअरीमा युनुसले सास्किया ब्रुस्टन, सोफी एइसेनम्यान र हंस रिट्जसँग मिलेर युनुस सोसल बिजनेस–ग्लोबल इनिसिएटिभ्स (वाईएसबी) को स्थापना गरे । वाईएसबीले विश्वभर सामाजिक समस्याहरू हल गर्न तथा सामाजिक व्यापारलाई सशक्त बनाउन सहयोग गर्छ । मानवीय पुंजीवाद युनुसको दृष्टिकोणका लागि अन्तर्राष्ट्रिय कार्यान्वयन शाखाका रूपमा वाईएसबी विकासशील देशहरूमा सामाजिक व्यवसायहरूका लागि इन्क्युबेटर फन्डको व्यवस्थापन गर्छ । कम्पनी, सरकार, फाउन्डेसन तथा गैरसरकारी संगठनलाई सल्लाकार सेवा प्रदान गर्छ ।

सन् २०१२ मा स्कटल्यान्डको ग्लासगोव क्यालेडोनियन विश्वविद्यालयको चान्सलरसमेत बने । त्यसअघि उनी बंगलादेशको चटगाउँ विश्वविद्यालयमा अर्थशास्त्रका प्रोफेसर थिए । उनले आफ्नो वित्तीय कार्यसँग सम्बन्धित कयौं पुस्तकहरूसमेत प्रकाशित गरेका छन् । उनी ग्रामीण अमेरिका र ग्रामीण फाउन्डेसनका संस्थापक बोर्ड सदस्य हुन्, जसले माइक्रोक्रेडिटलाई समर्थन गर्छ । युनुस संयुक्त राष्ट्र फाउन्डेसनका निर्देशक मण्डलमा रहेर पनि काम गरिसकेका छन् । सन् १९९८ मा अमेरिकी परोपकारी टेड टर्नरलाई संयुक्त राष्ट्रसंघको उद्देश्यअनुरूप काम गर्न एक अर्ब अमेरिकी डलर सहयोग गरेको थियो ।

अमेरिकामा पढ्नका लागि युनुसले सन् १९६५ मा फुलब्राइट छात्रवृत्ति प्राप्त गरे । उनले त्यो मौका छाड्न चाहेनन् । अमेरिका गए, त्यहाँका भ्यान्डरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडीको उपाधि हासिल गरे । त्यसपछि सन् १९६९ देखि १९७२ सम्म युनुसले मिडल टेन्नेस्सी स्टेट युनिभर्सिटीमा सहायक प्राध्यापकका रूपमा काम गरे ।

सन् १९७१ मा बंगलादेश स्वतन्त्रता आन्दोलनका क्रममा युनुसले नागरिक समितिको स्थापना गर्दै स्वतन्त्रताको समर्थन बढाउनका लागि अमेरिकामा अन्य बंगलादेशीसँग मिलेर बंगलादेश सूचना केन्द्र सञ्चालनमा ल्याए । उनले न्यासभिल्लेस्थित आफ्नो डेराबाट बंगलादेश न्युजलेटरसमेत प्रकाशनमा ल्याएका थिए । युद्ध समाप्तिपछि उनी बंगलादेश फर्के । नुरुल इस्लामको नेतृत्वमा रहेको सरकारले योजना आयोगमा उनलाई नियुक्त गर्‍यो । त्यहाँ काम गर्न मन नलागेपछि उनले राजीनामा दिएर चटगाउँ विश्वविद्यालयमा अर्थशास्त्र विभागको प्रमुखको जिम्मेवारीमा काम गर्न पुगे ।

सन् १९७४ मा मुलुकमा अकाल परेको देखेपछि उनी गरिबी कम गर्ने उद्देश्यले ग्रामीण आर्थिक कार्यक्रमको स्थापना गरी एउटा शोध परियोजना सञ्चालनमा ल्याए । सन् १९७५ मा उनले नाबाजुग (नयाँ युग) तेभागागा खामार (तीन सेयर फर्म) को स्थापना गरे, जसलाई सरकारले प्याकेजका लागि इनपुट कार्यक्रमका रूपमा अपनायो ।

‘सेलिब्रेटी नेट वर्थ’ र ‘द फेमस पिपुल डटकम’ का अनुसार युनुसको कुल सम्पत्ति (१५ डिसेम्बर २०१६ मा) १० मिलियन अमेरिकी डलर (एक अर्बभन्दा बढी रुपैयाँ) रहेको छ । ‘द फेमस पिपुल डटकम’ ले पनि १५ डिसेम्बर २०१६ मा युनुसको नेट वर्थ १० मिलियन डलर रहेको छ ।

सन् २०११ मा बंगलादेश सरकारले युनुसलाई ग्रामीण बैंकबाट हटाइदियो । कानुनको उल्लंघन र आयु सीमाका कारण उनलाई हटाएको बताइएको थियो । तर, सानो स्तरमा वित्त प्रदान गर्ने अवधारणा (माइक्रोफाइनान्स) लाई नयाँ आयाम दिने युनुसलाई त्यसताका अवहेलना मुद्दा परेको थियो । त्यही क्रममा उनलाई अदालतमा समेत पेस हुनुपरेको थियो ।

उनले एक अन्तर्वार्तामा ‘बंगलादेशमा राजनीतिकर्मीहरू रकमका लागि मात्र काम गर्छन्, यहाँ कुनै विचारधारा छैन’ भनेको आरोप लगाउँदै राजनीतिक दलका नेताले अवहेलना मुद्दा दर्ता गरेका थिए । त्यही विवादका कारण बैंकबाट हटाइएको थियो ।

(एजेन्सीहरू)

प्रकाशित : भाद्र २, २०७५ ०८:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT