कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सिंगो गाउँ नै तरकारी खेतीमा

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका ६, भलाम सेराका किसान काउली, बन्दा, गोलभेंडालगायतको बेर्ना जमाउन र सार्न व्यस्त छन् । जग्गा भाडामा लिएर गाउँलेले तरकारी खेती थालेका छन् ।

सिंगो गाउँ नै तरकारी खेतीमा

यसअघि आफ्नै बारीमा सागसब्जी फलाउने किसानहरू यस वर्षदेखि सामूहिक खेतीमा लागेका हुन् । बेमौसमी तरकारी खेतीका लागि २३ वटा प्लास्टिक घर तयार पारेका छन् । ६० वटा प्लास्टिक घरमा तरकारी खेती गर्ने योजना उनीहरूको छ । भर्खर उमारिएको बेर्नाको स्यहारसुसार साथै खनजोत गरिएको बारीमा बेर्ना सार्ने कार्यमा सिंगो गाउँले जुटेका छन् ।

सामूहिक तरकारी खेती गर्न गाउँका कोही छुटेका छैनन् । भलामखोला सेराफाँट कृषक समूह गठन गरी २५ जनाको समूहले व्यावसायिक तरकारी खेती थालेको किसान शर्मिला थापाले बताइन् । ‘तरकारी खेतीका लागि अहिले बेर्ना सारिएको छ । अब डेढ/२ महिनापछि फल्न थाल्छ,’ उनले भनिन् ।

सुरुमा २ रोपनीबाट व्यावसायिक तरकारी खेती थालिएको छ । तरकारी लगाउने प्रविधिबारे गाउँमै सिकेर सामूहिक तरकारी खेती थालिएको किसान असरी सुयेलले बताइन् । ‘सबै कुरा सिकेर सामूहिक तरकारी खेतीमा लागेका हौं । तरकारी खेती गर्दाको समस्या, रोगव्याधी र बजार व्यवस्थापनबारे पनि जानकारी लिइसकेका छौं ।’

कृषक समूहका अध्यक्ष प्रकाश थापाका अनुसार १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती थालिएको छ । काउली, बन्दा, गोलभेंडालगायत तरकारी बालीका ५ हजार बिरुवा तयार पारिएको उनले बताए । ‘सुरुमा प्लास्टिकका २३ वटा घर बनाएका छौं । त्यसपछि बढाउँदै लानेछौं,’ उनले भने । पहिलो चरणमा समूहमा आबद्ध १० जनाले ५०/५० हजार रुपैयाँ लगानी गरेर प्लास्टिक घर निर्माण गरेको उनले बताए । उनका अनुसार बिस्तारै अन्य सदस्यले पनि लगानी गर्नेछन् । लगानी गर्न नसक्नेको व्यवस्थापन समूहले गर्ने उनले बताए ।

यसअघि आफ्नै सानो करेसामा तरकारी फलाउँदै आएकामा सामूहिक रूपमै व्यावसायिक तरकारी खेतीमा जुटेको किसान गीता भुजेलले बताइन् । ‘एक्लै गर्दा सबैकुरा एक्लैलाई भयो । सामूहिक रूपमा गर्दा एउटाले नजानेको अर्कोले जानिन्छ । आवश्यक तालिम तथा ज्ञान लिन सजिलो हुन्छ,’ उनले भनिन् । उनीहरूका लागि बेंसीसहर नगरपालिकाले कृषि पाठशाला सञ्चालन गरेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख कृषि प्रसार अधिकृत राजेश्वर सिलवालका अनुसार पाठाशालामा अधिकांश महिला सहभागी छन् । पाठशाला सञ्चालनपछि महिला तरकारी खेतीमा हौसिएको उनले बताए ।

कृषकका अनुसार खेत खनजोत, बिरुवा जमाउने, गोडमेल, हुर्काउने, सिँचाइ, प्रांगारिक मल बनाउने, प्रयोग गर्ने तरिका साथै रोगव्याधीले आक्रमण गरे अपनाउनुपर्ने तौरतरिका, विषादी प्रयोग लगायतबारे सिकेका छन् । मौसमी तथा बेमौसमी तरकारी खेतीबारे ज्ञान पाएको उनीहरूले बताएका छन् । बेंसीसहर नगरपालिकाले किसानका लागि १६ हप्ते कृषक पाठशाला संचालन गरेको सिलवालले बताए ।

उनका अनुसार पाठशाला हरेक शनिबार बिहानको समय ३ घण्टा सञ्चालन गर्ने गरिएको छ । बेंसीसहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले कृषकलाई फर्म सञ्चालनका लागि बेंसीसहर नगरपालिकाले १ लाख १५ हजार रुपैयाँ सहयोग गरेको बताए ।

प्रकाशित : भाद्र ३, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?