कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘किबी जोन’ बन्दै इलाम

२ करोड बजेट विनियोजन
विप्लव भट्टराई

इलाम — किबी खेती प्रवद्र्धन गर्न जिल्लालाई ‘किबी जोन’ बनाइने भएको छ । अघिल्लो वर्ष नै किबी जोनको कार्यक्रम सञ्चालन हुने जानकारी गराइए पनि बजेट अभावमा हुन सकेको थिएन । भदौको पहिलो सातादेखि यसको काम सुरु हुने भएको छ ।

‘किबी जोन’ बन्दै इलाम

यसका लागि करिब दुई करोड बजेट विनियोजन भएको साविक जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ साहले बताए । प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत सुरु हुने किबी जोनका लागि पहिलो चरणमा सञ्चालक समिति गठन हुनेछ ।

केन्द्रीय तहबाट भएको योजना किसानसँगको छलफलपछि कार्यान्वयनको चरणमा जाने साहको भनाइ छ । किबी जोनका लागि पाँच सय हेक्टर जमिनमा किबी खेती भएको हुनुपर्नेछ । जिल्लाका विभिन्न स्थानमा व्यावसायिक किबीमा कृषकले खेती बढाउँदै गएकाले जोनका लागि पर्याप्त बगान छ ।

साहका अनुसार औद्योगिकीकरण गर्दै प्रोसेसिङ, बजारीकरण र व्यवसायीकरणमा किबी जोनको कार्यक्रमले किसानलाई सहयोग गर्नेछ । १ हजार २ सय मिटरदेखि २ हजार ५ सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने किबीको उत्पादन जिल्लाका विभिन्न गाउँमा उल्लेख्य उत्पादन हुने गरेको छ ।

एक बोटमा ५० किलोसम्म किबी फल्ने हुँदा किसानका लागि यसको खेती फाइदाजनक देखिएको छ । ‘आफ्नै प्रयासले किबी खेती थालेको झन्डै दशक भयो,’ सन्दकपुर २ माइमझुवाका पुरण गुरुङले भने, ‘जोनका रूपमा नै सरकारले सहयोग गरे कृषकलाई आम्दानी बढाउन थप सहज हुनेछ ।’

छाँटकाँट, उचित समयमा मल र पानीको व्यवस्था गर्न सक्दा एकपटक रोपेको बिरुवाले वर्षौं आम्दानी दिने भएकाले पनि कृषकहरूको आर्कषण थपिँदो छ । जिल्लाका सुलुबुङ, माइमझुवा, सााखेजुङ, मंगलबारे, पञ्चकन्या, जमुना, प्याङ, माईपोखरीलगायत क्षेत्रमा किबीको व्यावसायिक खेती गर्ने कृषक उल्लेख्य छन् ।

कृषकले आफ्नै प्रयासमा बिरुवा खोजेर खेती बढाउँदै लगेका हुन् । यसअघि व्यावसायिक कृषि तथा बजार आयोजनाले कृषकस्तरमा खेती विस्तारसँगै प्रशोधनमा पनि सघाएको थियो । केही कृषकले यसबाट प्रत्यक्ष फाइदा लिए पनि कार्यक्रम छोटो अवधिको भएकाले धेरैले अवसर पाउन सकेका छैनन् । जोनको कार्यक्रमले खर्च र मेहनत धेरै गर्ने कृषकलाई रोप्नेदेखि, माच व्यवस्थापन, प्रशोधन र बजारीकरणसम्म सहयोग पुर्‍याउनुपर्ने सााखेजुङका अगुवा कृषक गंगा विष्टको भनाइ छ ।

किबी खेतीमा लागेका कृषकले अझै पनि अब्बल जातको बिरुवा पहिचान गर्न सकेका छैनन् । प्राविधिक ज्ञानको अभाव, माच व्यवस्थापनमा समस्या र भण्डारणको अभाव र व्यवस्थित बजार नहुनुले कृषकले चाहेअनुसार उत्पादन बढाउन सकेका छैनन् । फलहरूमा अब्बल मानिएको किबी कात्तिकदेखि मंरिसम्ममा टिप्नुपर्छ ।

‘एकैपटक सबैतिर टिपिने भएको तर लामो समयसम्म त्यतिकै राख्न नमिल्दा भण्डारण पहिलो आवश्यकता भएको छ,’ व्यवसायी तारमणि खतिवडाले भने, ‘जोनको कार्यक्रम आएपछि यसलाई प्राथमिकतामा राख्नुपर्छ ।’ इलामको एक मात्र शीतभण्डार सञ्चालनमा नआएकाले कृषकलाई समस्या छ ।

ठूला व्यवसायीहरूले झापा तथा विराटनगरसम्मको शीतभण्डारमा लगेर भए पनि काम चलाउँदै आएका छन् । कृषकले किबी बगानभित्र अलैंची, तरकारी र जडीबुटीजस्ता खेती पनि गर्दै आएका छन् । एउटै कृषकले ६ सय धेरै बिरुवा लगाएर उत्पादन लिन थालेका छन् । ‘प्राविधिक पक्षमा सबै कृषकले ध्यान पुर्‍याएका छैनन्,’ साँखेजुङ र माइपातलमा बगान सञ्चालन गर्दै आएका देउकुमार राईले भने, ‘सवै व्यवसायी एकै ठाउँ भएर प्रविधिमैत्री खेती गर्दै दिगो बजार व्यवस्थापनमा लाग्नुपर्छ ।’

कृषकले छिटो आम्दानी लिने प्राविधिक ज्ञानको अभावमा राम्रो नपाकी किबी बजारमा ल्याउँदा मिठो नहुने भएकाले बजारमा गम्भीर असरसमेत परेको छ । किबीवाट जाम, जुस, वाइनलागतय सामग्री बनाएर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकिने भएकाले नयाँ कार्यक्रमले एकमुष्ठ समेट्नुपर्ने सरोकारवालाको भनाइ छ ।

प्रकाशित : भाद्र ३, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?