१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मालबाहक रेलको आवागमन बढयो

शंकर आचार्य

पर्सा — सिर्सिया सुक्खा बन्दरगाहमा मालबाहक रेलको आवागमन बढेको छ । भारतको रेल्वे सञ्जालसँग जोडिएको मुलुकको एक मात्र रेल सेवामा आधारित तथा पहिलो सुक्खा बन्दरगाहमा आउने कन्टेनर र बन्द बोरा कार्गोबाहक रेलको आवागमन झन्डै २४ प्रतिशतले बढेको हो । फलाम बोक्ने रेल बीआरएनको आवागमन भने केही घटेको छ ।

मालबाहक रेलको आवागमन बढयो

बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सको तथ्यांकअनुसार गत आर्थिक वर्षमा यो बन्दरगाहमा कोलकाता, हल्दिया र विशाखापट्टनम् बन्दरगाहबाट गरी ४ सय ७२ रेल्वे र्‍याकले ४१ हजार ६ सय ६१ कन्टेनर ल्याएका थिए । एउटा रेल्वे र्‍याकले ९० वटासम्म कन्टेनर बोक्ने क्षमता राख्छ । तेस्रो मुलुकबाट आयातित मालवस्तु बोकेका कन्टेनर भारतको सामुद्रिक बन्दरगाह हुँदै वीरगन्जसम्म आइपुग्छन् । अघिल्लो आवमा ३ सय ८२ कन्टेनरबाहक र्‍याकले ३३ हजार १ सय ९६ मालबाहक कन्टेनर यहाँ ल्याएका थिए ।

नेपालबाट तेस्रो मुलुक निर्यात हुने वस्तुहरू बोकेर गत आवमा १ हजार ६ सय २० वटा कन्टेनर भारततर्फ गएका थिए । अघिल्लो आवमा १ हजार २ सय ५४ कन्टेनर गएका थिए । यो बन्दरगाह हुँदै निकासी हुने नेपाली वस्तुमा मुख्यत: धागो, वास्तुकलाका सामान, कागजका वस्तु, वाइवाई चाउचाउ हुन् ।

गत आवमा यो बन्दरगाहमा बोरा बन्द कार्गो सामान बोकेका २ सय २२ रेल्वे र्‍याक आएका थिए । जसले ५ लाख ५० हजार टन बल्क कार्गो वस्तु यहाँ ल्याएका थिए । अघिल्लो आवमा २ सयवटा रेल्वे र्‍याकले ५ लाख टन मल, चिनी, गेडागुडी आदिजस्ता बल्क कार्गो बोकेर ल्याएका थिए । तुलनात्मक रूपमा यस्तो र्‍याकको वृद्धि दर करिब ११ प्रतिशत रहेको छ ।

गत आवमा भारतका विभिन्न स्थानबाट २ सय २५ वटा फलाम बोकेका रेल्वे र्‍याकले ५ लाख ६२ हजार ५ सय टन फलाम बोकेर यो बन्दरगाह आएका थिए । अघिल्लो आवमा २ सय ४५ बीआरएन र्‍याकले ६ लाख १२ हजार ५ सय टन फलाम ल्याएका थिए ।

तेस्रो मुलुकबाट यो बन्दरगाह हुँदै आयात हुने मुख्य वस्तुहरूमा दैनिक उपभोग्य वस्तु, गेडागुडी, मदिरा, विद्युतीय उपकरण, रासायनिक मल आदि हुन् । भारतबाट भने फलाम, चिनी आदि बढी आयात हुन्छ । भारतबाट एमएस बिलेट, एचआर सिट तथा क्वायल, डब्लुआर क्वायल, स्टिल प्लेट, टीएटी, च्यानल आदि फलामजन्य वस्तु यो नाकाबाट बढी आयात गरिन्छ । टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरीले समग्रमा यो बन्दरगाहको कार्यप्रगति अत्यन्त उत्साहजनक रहेको दाबी गरे ।

प्रकाशित : भाद्र ३, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?