कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

वर्षायाममा पर्यटक चहलपहल

रमेशकुमार पौडेल

चितवन — बूढी राप्ती खोला किनारमा बुधबार बिहान सात बज्दा नबज्दै चहलपहल सुरु भइसकेको थियो । चितवन राष्ट्रिय निकुञ्ज छिर्ने मुख्य प्रवेशद्वार सौराहा आडैको बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सेनले सञ्चालन गरेको हात्ती सफारी र ढुंगा सफारीको आनन्द लिन पर्यटकहरू भेला हुन थालेका थिए । आठ बज्दा नबज्दै पाँचवटा डुंगा भरिभराउ भएर अगाडि बढे ।

वर्षायाममा पर्यटक चहलपहल

राति झमझम पानी परेको थियो । सामुदायिक वनका कर्मचारीलाई पर्यटक नआउने पो हुन् कि भन्ने लागेको थियो । डुंगा चढ्ने ठाउँमा चहलपहल बढे पनि आडैमा रहेको हात्ती चढ्ने ठाउँ सुनसान थियो । आठ बजेसम्म एउटा हात्ती मात्रै सफारीमा निस्केको थियो । तर, केही बेरमा नै पर्यटक बोकेका गाडीहरू धमाधम आउन थाले । साढे आठ बजेभित्र पर्यटक बोकेका १६ वटा हात्ती जंगलतर्फ लम्के ।

सफारीका लागि मात्रै भीडभाड लागेको थिएन । सौराहा बजारमा पनि राम्रै चहलपहल थियो । अखिल नेपाल फुटबल संघको साधरणसभाका लागि त्यहाँ देशका विभिन्न ठाउँबाट प्रतिनिधि पर्यवेक्षकहरू आएका थिए । साँझ कलाकारहरू जितु नेपाललगायतले सौराहामा नै अर्को एउटा व्यापारिक जमघटमा कार्यक्रम पेस गर्दै थिए । असार–साउन कुनै बेला सौराहाका लागि पर्यटक आउँदै नआउने अफ सिजन थियो । तर, अहिले त्यस्तो छैन ।

‘पहिला पहिला असार–साउनमा आधा तलब दिएर कर्मचारीलाई बिदा दिने चलन थियो । अब अहिले अफ सिजन भन्ने नै हुन छाडयो,’ क्षेत्रीय होटल संघ सौराहा चितवनका पूर्वअध्यक्ष रहेका पर्यटन व्यवसायी हरिभक्त घिमिरेले भने । ‘अहिले सिजन अफ सिजन भन्ने छैन, हाई र लो सिजन भन्ने चलन सुरु भएको छ,’ क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले भने, ‘०६३ सालयता बाह्रै महिना पर्यटक आउने क्रम बढेको छ ।’

असार–साउनमा पहिला पहिला पर्यटकहरू आउँदैन थिए । तर, अचेल यो महिनामा सौराहामा मात्रै प्रत्येक दिन २ सय ६३ जनाका दरले स्वदेशी तथा विदेशी पर्यटकहरू आएको चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहाका टिकट काउन्टर कर्मचारी विमल बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार साउन महिनाको ३० गते बुधबारसम्म विदेशी ६ हजार ८ सय ५६ जनासहित कुल ७ हजार ८ सय ८८ जना पर्यटक सौराहा घुम्न आएका छन् । हात्ती सफारीको टिकट काउन्टरका कर्मचारी मनोजकुमार चौधरीका अनुसार पर्यटकहरू अत्यधिक आउने महिनामा १ सय २५ वटा हात्ती जंगल जान्छन् । यो साउनमा ४६ वटा हात्तीले पर्यटक बोकेको उनले बताए ।

त्यसैगरी डुंंगा सफारी हेर्ने कर्मचारी चन्द्र पौडेल भीडभाड अत्यधिक हुने समयमा दिनमा ९ सय जनासम्मले ढुंगा सफारी गरेका हुन्छन् । वर्षायाममा दिनमा ३ सय जनासम्म हुन्छन् । सौराहा क्षेत्रमा १ सय १० वटा होटल रहेको क्षेत्रीय होटल संघका अध्यक्ष घिमिरेले बताए । ती होटलहरूमा दिनमा पाँच हजारसम्म पाहुनाहरू अटाउँछन् । तर, होटलका सबै कोठा टनाटन हुने गरेर पर्यटक आउने दिन कमै छन् ।

‘अंग्रेजी नयाँ वर्ष र नेपाली नयाँ वर्षका दिनमा भने सौराहाका सबै होटलका लगभग सबै कोठा भरिभराउ हुन्छन् । नभए हाई सिजनमा पनि पूरै कोठा भरिँदैनन् । असार साउनजस्ता लो सिजनमा होटलका १० प्रतिशतभन्दा बढी कोठा बुक हुन्छन्,’ क्षेत्रीय होटल संघका अध्यक्ष घिमिरेले भने । होटल व्यवसायी माधव ढवाडी पर्यटक मात्रै नभएर सौराहामा गोष्ठी, सेमिनार र व्यापारीका कार्यक्रमहरू पनि हुने गरेको बताउँछन् । ‘गोष्ठी, सेमिनार र व्यापारीका कार्यक्रमहरू वर्षायाममा पनि हुन्छन् । त्यसैले होटल खाली हुने अवस्था छैन,’ होटल सेभेनका सञ्चालक रहेका दवाडीले भने । सेप्टेम्बर १५ देखि डिसेम्बर १५ सम्म पर्यटक धेरै आउने सिजन हो ।

प्रकाशित : भाद्र ३, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?