३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

हाँस–कुखुरालाई २ रुपैयाँ कर

तरकारी र मोटरसाइकलमा पोका वा झोलामा सामान राखेर विक्री गर्दै हिँड्नेलाई १० रुपैयाँ कर तोकियो
आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको आयातमा २ रुपैयाँ कर लगाएको छ । नगरवासीलाई नभइ बाहिरबाट विक्री गर्न ल्याउनेलाई कर लगाएको हो ।

हाँस–कुखुरालाई २ रुपैयाँ कर

‘हामीले कुखुरा र हाँसमा २ रुपैयाँ कर लिने निर्णय गरेका छौँ । घरमा पालिएकालाई लिने होइन । जसले बाहिरी जिल्ला वा स्थानीय तहबाट गाडीमा ल्याएर विक्री गर्न खोज्छ, उनीहरुलाई लिने भनेका हौँ,’ नगर प्रमुख गुमानसिंह अर्यालले भने ।


हाटबजार लाग्दा व्यवसायिक रुपमा विक्रीका लागि ल्याइने पन्छी तथा पशुमा पनि कर लिइनेछ । ‘सबैले करको विरोध गरेका छन् । बुझेर मात्रै विरोध गर्नुपर्छ,’ उनले भने । आलु, तरकारी तथा पोका वा झोलामा सामान राखेर मोटरसाइकलमा विक्री गर्ने हिँड्नेलाई भने १० रुपैयाँ कर तोकिएको छ ।


आर्थिक ऐन २०७५ अनुसार खसी, बोकामा प्रतिगोटा २५ रुपैयाँ र राँगा, भैंसी तथा बंगुरमा प्रतिगोटा ५० रुपैयाँ कर तोकेको छ । नगरपालिकाले अधिकतम् ३५ हजार रुपैयाँसम्म कर तोकेको जनाएको छ ।

एकीकृत सम्पत्ति करतर्फ ३ करोडदेखि ५ करोडसम्म सम्पत्ति हुनेका लागि ३५ हजार रुपैयाँ र ५ करोडमाथि सम्पत्ति हुनेका लागि प्रतिहजारमा २ रुपैयाँका दरले कर तोकेको नगरपालिकाले जनायो ।


एकीकृत सम्पत्ति करमा सबैभन्दा कम १ लाखदेखि १० लाखसम्म सम्पत्ति हुनेका लागि १ सय ५० रुपैयाँ तोकिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले सम्पत्ति कर पूर्ण रुपमा लागू भएको र अन्य कर लागू गर्ने तयारीमा रहेको बताए ।

नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ को एकीकृत सम्पत्ति कर सोही चालु आवको पुस मसान्तसम्म बुझाउनेलाई ५ प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।


अर्को आर्थिक वर्षमा बुझाए १० प्रतिशत र त्यसपछि ५ प्रतिशतका दरले बढदै जानेछ । नगरपालिकाले पटके सवारी कर नलिने निर्णय गरेको छ । यस्तै, ग्रामीण भेगबाट डोका र डालामा तरकारी तथा फलफूल राखी बजार घुमाएर बेच्ने किसानको हकमा व्यवसायिक कर नलिने नगरपालिका प्रमुख अर्यालले बताए ।


बेंसीसहरको व्यवसायिक कर उठाउने जिम्मा नगरपालिकाले लमजुङ उद्योग वाणिज्य संघलाई दिएको छ । संघले चालु आर्थिक वर्षमा व्यवसायिक करबापत उठेको रकमको २५ प्रतिशत राखेर नगरपालिकालाई बुझाउनेछ । संघका अध्यक्ष राजेश थापाले गत आर्थिक बर्षदेखि व्यवसायीलाई कर उठाउँदै आएको बताए ।


नगरपालिकाले नागरिकता सिफारिसमा वंशजको १ सय र अंगिकृतको २ हजार र राहदानी सिफारिस ३ सय रुपैयाँ तोकेको छ । जन्ममृत्यु सिफारिस १ सय, नामथर संशोधन १ सय, नाता प्रमाणित नेपालीमा २ सय ५० र अंग्रेजीमा ५ सय तोकेको छ ।


नगर प्रमुख अर्यालका अनुसार अहिलेसम्म बेंसीसहर नगरपालिकाले लगाएको करबारे विवाद र विरोध आएको छैन । ‘गत आर्थिक बर्षमै निर्णय गराएका थियौं । अहिले पनि लगभग त्यही निर्णय हो । कहींकतैबाट विरोध छैन’ उनले भने ।


नगरपालिकाले सम्पत्ति कर, भूमि कर (मालपोत), घरबहाल कर, व्यवसाय कर, जटिुबटी, कवाडी र जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, बहाल बिटोरी शुल्क, पार्किङ शुल्क, ट्रेकिङ, कायाकिङ, क्यानोनिइङ, बन्जीजम्प, जीपफ्लायर र र्‍याफ्टिङ कर, सेवा शुल्क तथा दस्तुर, पर्यटक शुल्क गरी १३ शीर्षकमा कर लिने निर्णय गरेको छ । तर, अधिकांश कार्यान्वयनमा नआएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : भाद्र ३, २०७५ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?