भेनेजुएलाको दु:ख: संकटमा अर्थतन्त्र अभाव झेल्दै जनता

एजेन्सी

काराकास, भेनेजुएला — कुनै बेला दक्षिण अमेरिकामै सबैभन्दा धनी राष्ट्र थियो, भेनेजुएला । यहाँका कामदारहरू सबैभन्दा धेरै ज्याला पाउने भाग्यमानीमा दरिन्थे । यो सन् १९७० ताकाको अवस्था हो । त्यो बेलामा विश्वकै २० धनी देशभित्र अटाउँथ्यो ।

भेनेजुएलाले चलनमा ल्याउन लागेको नयाँ नोट (माथि) । मुद्राको अत्यधिक अवमूल्यन भएपछि सरकारले यी नोटहरूबाट ५ वटा शून्य हटाएको छ । तस्बिर : एजेन्सी

तर, अहिले अवस्था फेरिएको छ, भेनेजुएलासँग आफ्नो पुरानो शान शौकत छैन् नै अवस्था यस्तो भइसकेको छ कि यहाँका ९० प्रतिशतभन्दा धेरै नागरिक गरिबीको रेखामुनी पुगेका छन् । एक अध्ययनअनुसार पछिल्ला केही वर्षमा पोषण अभावमा ७५ प्रतिशत नागरिकले औसत करिब ७ केजी तौल गुमाएका छन् ।

देशमा खाद्यान्न, पानी, औषधि अभाव छ । जनतासँग भएको पैसाले कुनै सामान किन्न नसकिने गरी महँगी बढेको छ । महँगी कति बढेको छ भन्ने यहाँको केन्द्रीय बैंकले सन् २०१५ यता तथ्यांकै प्रकाशित गर्न छाडेको छ । विज्ञहरू भेनेजुएलामा महँगी हजारौं गुणाले बढेको बताउँछन् ।

Yamaha

मानिसले एक कप कफी किन्न पनि पैसाको बिटो बोकेर हिँड्नुपर्ने अवस्था छ । हरेक सामान कालाबजारीको नियन्त्रणमा छ । पैसाको मूल्य घटेर कामदारले खाद्यान्न किन्ने नसक्ने अवस्था भएपछि सरकारले पटकपटक ज्याला वृद्धिको घोषणा गरेको छ । जसका कारण यहाँको उद्योग व्यवसाय चौपट बनेको छ ।

अर्थतन्त्रका जानकारहरू यो अवस्थाको सुरुवात तत्काल नभई पूर्वराष्ट्रपति हयुगो चाभेजले लिएको गलत नीतिको परिणाम भएको धारणा राख्छन् । अहिलेको सरकारले पनि गलत निर्णय सच्याएर अर्थतन्त्रलाई सही दिशामा डोर्‍याउन सकेको छैन ।

नीतिगत असफलता र अक्षम नेतृत्वले कसरी अर्थतन्त्र तहसनहस हुन सक्छ भन्ने उदाहरण बनेको छ भेनेजुएला । ५ वर्षमा यहाँको अर्थतन्त्र साँघुरिएर आधामा घटेको छ जबकि भेनेजुएला सबैभन्दा धेरै तेल भण्डार पुष्टि भइसकेको देशमा पर्छ ।

पछिल्लो समय भेनेजुएलामा व्यपार बन्द भएका छन् । बैंकलाई कारोबार गर्न समस्या छ र सर्वसाधारणले इन्धन भर्न तँछाडमछाड गर्छन् ।

पछिल्लो संकटलाई रोक्ने उपायस्वरूप राष्ट्रपति निकोलस माडुरोले शुक्रबार टेलिभिजनमार्फत सम्बोधन गर्दै ६ हजार प्रतिशतले ज्याला बढाउने घोषणा गरे । यहाँ महँगी यति बढेको छ कि मानिससँग भएको पैसाको कुनै महत्त्व छैन । २०१३ मा माडुरोले सत्ता सम्हालेका थिए । पूर्वराष्ट्रपति चाभेजले उनलाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार खाद्यान्न, औषधि र खानेपानी अभावले सन् २०१४ यता २३ लाख जनताले भेनेजुएला छाडेर छिमेकी देशको शरण लिएका छन् ।

भेजेजुएलाको मुद्राको मूल्य इतिहासकै कमजोर बनेको छ ।

आफ्नो मुद्रालाई अझै कमजोर बनाउने माडुरोको कदमले यहाँ महँगी एक लाखभन्दा बढी प्रतिशतले बढ्ने विज्ञहरूको अनुमान छ ।

सरकारले यो वर्षमात्रै ५ औं पटक न्यूनतम ज्याला बढाइसकेको छ । सरकारले प्रतिमहिना ३० अमेरिकी डलर पर्न जाने गरी कामदारको ज्याला बढाएको छ । सरकारले आगामी सातादेखि नयाँ मुद्रा प्रयोगमा ल्याउने घोषणा गरेको छ, जसले अहिले चल्तीमा रहेको मुद्रलाई विस्थापित गर्नेछ ।

शुक्रबार टेलिभिजन सम्बोधनको क्रममा राष्ट्रपति माडुरोले साना व्यवसायीलाई सहयोग गर्ने गरी सरकारले श्रमिकको ९० दिनको ज्याला प्रदान गर्ने घोषणा गरेका छन् तर उनले यो कहिले र कसरी वितरण गर्ने भन्ने विषय खुलाएका छैनन् ।

अर्थतन्त्रमा संकट गहिरिएसँगै माडुरो जनताबीच अलोकप्रिय बनेका छन् र केही साताअघि मात्रै उनको हत्या गर्ने उद्देश्यसहित आक्रमण पनि भयो । उनले विपक्षीलाई हत्या षड्यन्त्रको आरोप लगाउँदै जेल चलान गरिसकेका छन् जसका कारण अमेरिकासहित भेजेनुयलाको छिमेकीले आपत्ति जनाइसकेका छन् ।

नयाँ मुद्रा छाप्ने र आफ्नो मुद्रालाई डलरको तुलनामा अझै कमजोर बनाउने माडुरोको कदमले महँगी अझै बढ्ने विज्ञहरूले बताएका छन् । भेनेजुएला सरकारले अर्बौं डलर वैदेशिक ऋण तिर्नुपर्नेछ भने तेलको घटदो मूल्यका कारण उसको आम्दानी गुम्दै गएको छ । राष्ट्रपति माडुरोले छिमेकी देशमा भेनेजुएलाको इन्धन अवैध तस्करी रोक्न यसमा दिइँदै आएको सहायता पनि कटौती गर्ने बताएका छन् ।

खाद्यान्न र औषधिको अभाव
करिब डेढ दशक शासन गरेका हुगो चाभेजको शासनकालमा खाद्यान्न र औषधिको मूल्य घटाइएको थियो । कतिपय सामानको बिक्री मूल्य उत्पादन लागतभन्दा सस्तो हुन्थ्यो ।

मूल्य घटाउने सरकारी दबाबका कारण कम्पनीहरू घाटामा थिए । चाभेजको पालामा अमेरिकी डलरसँग भेनेजुएलाको मुद्राको सटहीदर स्थिर बनाइएको थियो र जनतालाई डलरको पहुँच सीमित पारिएको थियो ।

निजी कम्पनीले औषधि र खाद्यान्न उत्पादनमा घाटा भएको भन्दै अनिच्छा देखाउन थालेपछि सरकारले तेल बिक्री गरेको पैसाबाट खाद्यान्न र औषधि आयात गर्न थाल्यो ।

तर, सन् २०१४ यता लगातार घटेको तेलको मूल्यका कारण सरकारी आम्दानीमा कमी आयो र अर्थतन्त्र असन्तुलित बन्यो ।

सरकारी ढुकुटीमा रकम अभाव भएकाले आयात प्रभावित हुँदै गयो र सामानको अभाव हुन थाल्यो । सरकारले सामानहरूको निश्चित मूल्य तोकिदियो तर अभावको बेलामा यस्ता सामान पसलमा नभएर कालाबजारीको हातमा पुग्यो । तथ्यांकअनुसार भेनेजुएलामा एक सयमा ८५ वटा औषधि कालोबजारी हुन्छन् ।

महँगी वृद्धि
सरकारले पछिल्लोपटक भेनेजुएलाको मुद्रा बोलिभरलाई सामानअनुसार फरकफरक सटहीदर राखेको छ । यो अत्यावश्यक सामान, अनावश्यक सामान किन्नका लागि फरकफरक सटही दर राखिएको छ । सरकारले औसतमा प्रतिडलर ७ सय १० बोलिभर सटहीदर कायम राखेको थियो । तर, कालोबजारीका कारण प्रतिडलर बोलिभरको मूल्य ४ हजार २ सयभन्दा बढी भयो । महँगी बढेको र बजारमा पैसा अभाव भएको भन्दै सरकारले नयाँ नोट पनि छाप्दै गयो । जसका कारण पैसाको मूल्य झन् घट्दै गयो ।

चाभेजअघिको भेनेजुएला
सन् १९०० देखि १९२० सम्म भेनेजुएलाको अर्थतन्त्र वृद्धिदर करिब २ प्रतिशतको हाराहारीमा मात्रै थियो । १९४० देखि १९४८ मा यो करिब ७ प्रतिशतको हाराहारीमा थियो । १९६० देखि १९७० को दशकसम्म सरकारले सार्वजनिक कार्यक्रममा खर्च बढायो र आर्थिक अन्तरहरू पुर्ने प्रयास गर्‍यो ।

सन् १९७० सम्ममा भेनेजुएला ल्याटिन अमेरिकाको सबैभन्दा धनी देश बनेको थियो । त्यो बेला यसको प्रतिव्यक्ति आय स्पेन, ग्रिस, इजरायलभन्दा बढी भएको रिकार्डो हौसमान बताउँछन् । उनी ‘भेनेजुएला बिफोर चाभेज’ किताबका लेखक हुन् ।

सन १९८० मा तेलको मूल्य घटेपछि यो अवस्थाको अन्त्य भयो । सन् १९८२ देखि ८६ सम्म यहाँ महँगी ६ देखि १२ प्रतिशतको हाराहारीमा थियो । १९८९ मा महँगी ८१ प्रतिशतले बढयो । चाभेजले सत्ता सम्हालनु ३ वर्षअघि सन् १९९६ मा यहाँको महँगी १ सय प्रतिशत बढेको थियो । १९९५ को तथ्यांकअनुसार यहाँ गरिबीको अनुपात ३६ प्रतिशतबाट बढेर ६६ प्रतिशत पुगेको थियो ।

Esewa Pasal

प्रकाशित : भाद्र ४, २०७५ ०८:४२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मकै र फापरको उत्पादन घट्दै

कान्तिपुर संवाददाता

मलबासे (उदयपुर) — पछिल्लो समय दुर्गम पहाडी क्षेत्रमा मकै, कोदो र फापरको खेती घट्दै गएको छ । आधुनिक खेती प्रणालीसँगै मकै, कोदो, फापर र जुनेलोको विकल्पमा लागेकाले उत्पादन घट्दै गएको हो ।

रौतामाई, लिम्चुबाङ, ताप्ली गाउँपालिकाका किसानले पछिल्लो समय परम्परागत खेती छाडेका छन् । परम्परागत खेती मकै, कोदो, फापर, जुनेलो र कागुनोले गुजारा गर्न समस्या भएपछि किसान आधुनिक खेतीमा लागेका हुन् । ५ वर्षअघिसम्म पाखो बारीमा कोदो, फापर र जुनेलो खेती किसान अहिले चिया, अलैंची, आलु, काउली र टमाटार उत्पादन गरिरहेका छन् । मकै, कोदो, फापर र जुनेलेको माग बजारमा धेरै छ ।

पहाडी क्षेत्रका किसान अहिले अन्न बालीका विकल्पमा तरकारी, फलफूल, अलैंची, अदुवा र अम्रिसो खेती गर्दै आएका छन् । ‘पहिले पहिले अन्नबाली र त्यसपछि केही समय किसानले प्रतिबन्धित लागूऔषध गाँजाको समेत खेती गरेका थिए,’ ताप्लीका किसान सार्कुमान ज्यूठकुरीले भने, ‘तर, अहिले गाँजा र अन्नबाली दुवै छोडेर नगदेबालीका रूपमा तरकारी, फलफूल र मसालाजन्य वस्तु (अलैंची, तेजपात र अदुवा) खेती गरिरहेका छन् ।’

रौतामाई ६ नामनताका किसान मानबहादुर रानामगरले भने, ‘पहिले कोदो, मकैको माग थियो, अहिले फलफूल र तरकारीको माग छ ।’ त्यसैले बजारको मागअनुसार नै किसान तरकारी र फलफूल खेती गरिरहेको उनले बताए ।

जिल्लाको उत्तरी ग्रामीण क्षेत्रका सयौं किसान ५/७ वर्षयता कोदो, फापर, जुनेलो खेती छोडेर तरकारी र फलफूलमा लागेको कृषक गंगा रानामगरले बताए । ‘किसानले मकै, कोदो, फापर र जुनेलो लगाउन त के खानसमेत छोडिसके,’ उनले भने, ‘सहरमा कोदो, फापर र जुनेलोको माग अत्यधिक छ ।’ तर, मागअनुसार उत्पादन हुँदैन ।

गत वर्ष उदयपुरमा कोदो ५ हजार ३ सय ४१, मकै ३६ हजार ९ सय ४४ र गहुँ १२ हजार ८ सय २८ र धान ५५ हजार ३ सय ८० टन उत्पादन भएको थियो । उत्पादित अन्नमा सबैभन्दा कम कोदो भएको कृषि तथ्यांकमा देखिन्छ । यो क्रमश: घट्दै गएको कृषि प्राविधिक बताउँछन् ।

प्रकाशित : भाद्र ४, २०७५ ०८:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT