कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

खाद्यान्न र स्याउ कुहिन थाल्यो

रसुवागढी नाका ठप्प
बलराम घिमिरे

रसुवा — चीनसँगको प्रमुख व्यापारिक नाका धुन्चे–रसुवागढी सडक खण्डमा तीन साताअघि गएको पहिरोको कारण यातायात अबरुद्ध हुँदा खाद्यान्न, स्याउ तथा लत्ताकपडा बोकेका सयौं कन्टेनर बाटैमा अलपत्र परेका छन् ।

खाद्यान्न र स्याउ कुहिन थाल्यो

व्यापारिक कारोबार ठप्प छ भने दिनैपिच्छे पहिरो जाने क्रम नरोएिपछि स्थानीयमा थप त्रास उत्पन्न भएको छ । व्यापारिक सामान मात्र होइन मुगु, हुम्ला र डोल्पाका लागि झिकाइएका ७४ कन्टेनर खाद्य सीमा क्षेत्र टिमुरे, स्याफ्रु, राम्चे र कालिकास्थनमा रोकिएका छन् । नुवाकोटतर्फको पासाङ ल्हामुमार्ग र रसुवाको स्याफ्रुबेसी सडक खण्डका पुल तथा संरचनाहरू भत्कने क्रम रोकिएको छैन ।

गोसाइँकुण्ड गाउँपालिका २ घट्टेखोलाको पुलमा बाढीले क्षति पुर्‍याएपछि रसुवागढी नाकामा तीन सातादेखि ठप्प भएको हो । सीमा नजिकै आएको ठूलो पहिरो विस्फोटक पदार्थको प्रयोग नगरी तत्काल खोल्न नसक्ने जानकारी स्थानीय प्रशासनले दिएको छ । वर्षा नरोकिएकाले बाढीले क्षति पुर्‍याएको पुल तत्काल मर्मत गरे सञ्चालन गर्न कठिन भएको हो । बाढीले पुलको जगमा क्षति गरेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

ढुवानीकर्ता राजकुमार प्याकुरेलका अनुसार हिमाली जिल्लाका लागि झिकाइएको चामल, तेल र नुन बाटैमा अलपत्र छ । ‘पानी चुहिएर चामल र नुन बिग्रन थालेको छ, प्याकुरेलले भने, सामान ओरालेर लैजाने अवस्था छैन । हिँड्ने बाटो पनि छैन । बोकेर ढुवानी गर्दा झन् महँगो पर्छ ।’ चामल ४०, नुन ३० र ४ कन्टेनर तेल रहेको उनले जानकारी दिए । यो नाका भएर चीनबाट खाद्यान्न ल्याउँदा मुगु, हुम्ला र डोल्पा लैजान सजिलो हुने गरेको छ । तीन वर्षदेखि यहाँबाट खाद्यान्न ढुवानी गर्न थालिएको हो । चीनबाट आयात गरिएको स्याउ, लसुनलगायतका सामग्री कुहिन थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पुल भत्किएको र पहिरोले जोखिम बढाएकाले यातायात सञ्चालनमा रोक लगाइएको छ । साना ठूला दुवै किसिमका सवारी साधन सञ्चालनमा रोक लगाइएको उनले जानकारी दिए । सामान कुहिन थालेपछि व्यापारीहरूले स्याउको ढुवानी बोकाएर गर्न थालेका छन् ।

भूकम्पले तातोपानी नाका बन्द भएपछि २०७२ देखि रसुवागढी नाकाबाट सामान आयातमा तीव्रता आएको हो । रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार यातातयात बन्दपछि व्यापारिक कारोबार ठप्प छ । साउनका लागि तोकेको राजस्व लक्ष्य पूरा भएन । उक्त महिनामा ५० करोड लक्ष्य राखेकामा २६ करोड संकलन भएको छ । भदौमा ९० करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।

दसैं नजिकिँदै गर्दा चीनको केरुङमा ३ सयभन्दा बढी सामान बोकेका कन्टेनर नेपाल आउने तयारीमा छन् । सबै कन्टेनरमा दसैंका लागि झिाकाइएका तयारी पोसाक, जुत्तालागायतका सामान छन् । व्यापारी शैलेश पौडेलले भने, ‘सडक अवरुद्ध भएपछि भन्सार यार्डमा राखेका सामान पनि चोरी हुन थालेको छ ।’ सिल लगाएका कन्टेनरका सामान चिनियाँ भूभागबाटै चोरी भएको पौडेलले जानकारी दिए । सामान आयात रोकिँदा केरुङमा अहिले गोदामसमेत खाली छैन । पुल मर्मत सम्पन्न भएको एक साताभित्र यातायात सञ्चालनमा ल्याउने दाबी सडक कार्यालयले गरे पनि सोही अनुसारको तयारी देखिँदैन ।

प्रकाशित : भाद्र ४, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?