न्यौपानेका नाममा फेलोसिप

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले फ्याक्ट रिसर्च एन्ड एनालिटिक्स रिसर्चसँग मिलेर ‘सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसिप’को घोषणा गरेको छ ।

आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउनेबारे सेजन र फ्याक्ट्सबीच सम्झौता भएको छ । फेलासिपका लागि सुरुमा कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।

कम्पनीका अनुसार प्रत्येक वर्ष १० प्रतिशतले उक्त रकममा वृद्धि गरिनेछ । हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पारेर फेलोसिप वितरण गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।

Yamaha

फेलोसिपका लागि सेजनका पूर्वअध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजन अध्यक्ष या कार्यसमितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रका सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रबन्धक मनीष झाले हस्ताक्षर गरेको विज्ञप्तिमा छ । डेढ वर्षअघि निधन भएका सञ्जय न्यौपानेले सेजन उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

Esewa Pasal

प्रकाशित : भाद्र ५, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

औद्योगिक क्षेत्र सञ्चालनमा समस्या

अवधेशकुमार झा

राजविराज — सप्तरीको विकाससँग जोडिएको गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्रमा विवाद चुलिएको छ । विद्युत्, पानी, सुरक्षालगायतका सुविधा नभएको भन्दै उद्योगीहरूले औद्योगिक क्षेत्रमा तालाबन्दी गरेका छन् ।

सम्बन्धित निकायले समस्या समाधानको प्रयास नगर्दा तालाबन्दी गरिएको उद्योगीहरूले बताएका छन् । उनीहरूले आफूहरूले न्यूनतम सुविधासमेत नपाएको गुनासो गरेका छन् । प्रशासनले भने केही उद्योगीहरू वर्षौंदेखि भाडा नतिरेर जबरजस्ती गर्न खोजेको प्रतिक्रिया दिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले औद्योगिक क्षेत्रमा तालाबन्दीबारे जानकारी आएपछि प्रहरीलाई ताला खोल्न निर्देशन दिइसकेको बताए । औद्योगिक क्षेत्रभित्र सेवा सुविधामा कमी रहेको स्विकार्दै उनले भने, ‘केही उद्योगीले वर्षौंदेखि भाडा नतिरेर जबरजस्ती गर्न खोजेको पनि जानकारीमा आएको छ ।’

गत साउन २९ मा उद्योगीहरूले औद्योगिक क्षेत्र व्यवस्थापनलाई ज्ञापन पत्र बुझाउँदै आफूहरूको मागबारे जिम्मेवार बन्न आग्रह गरेको थियो । यसैबीच औद्योगिक क्षेत्रका कार्यालय प्रमुख दीपकराज आचार्य गत शुक्रबारदेखि कार्यालयमा आएका छैनन् । ‘शुक्रबार गएदेखि हाकिम साब आउनुभएको छैन,’ वरिष्ठ सहायक लेखा धीरेन्द्रलाल श्रेष्ठले भने, ‘म नयाँ आएको छु, धेरै कुरा थाहा छैन ।’

हाल औद्योगिक क्षेत्रमा ११ वटा मझौला उद्योग सञ्चालनमा छन् । सञ्चालनमा रहेका उद्योगहरूमा मिलन डेरी, कृष्णा खाद्य, कोसी पोलिमर्स, एटीएनटीटी मलखाद्य, महालक्ष्मी प्लास्टिक, महालक्ष्मी खाद्य, भगवती कृषि, उषा जल, पद्मा ज्योति प्लास्टिक र कान्तिपुर प्लास्टिक लगायतका छन् । करिब ३०–३५ करोड रुपैयाँको लागतमा सञ्चालित यी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको मिलन डेरी उद्योगका सञ्चालक मिलन सिंहले बताए । ‘हाम्रा उद्योगहरू न्यूनतम सुविधाको अभावमा बन्द हुने अवस्था सृजना भएको छ,’ उनले भने, ‘औद्योगिक क्षेत्र व्यवस्थापनलाई पटकपटक जानकारी गराए पनि कुनै सुनुवाइ भएन।’

पछिल्लो दुई दिनदेखि औद्योगिक क्षेत्रमा विद्युत् सेवा नियमित छैन । उद्योगहरू बन्द छन् । औद्योगिक क्षेत्रका लागि छुट्टै फिडरबाट विद्युत् सेवा दिने गरी व्यवस्था मिलाइएको छ । तर ६ महिनाअघि औद्योगिक क्षेत्र भित्रको ट्रान्सफर्मरमा समस्या देखिएपछि मर्मत–सम्भार हुन सकेको छैन । ‘औद्योगिक क्षेत्रभित्रको फिडरमा समस्या भयो, हाम्रो उद्योगलाई रायपुर फिडरबाट ग्रामीण क्षेत्रमा जाने विद्युत्मा जोडियो’ कोसी पोलिमर्सका संचालक प्रमेश यादवले भने, ‘नयाँ फिडर जडान गर्न नसक्दा विद्युत् अनियमिताको समस्याले हाम्रो उद्योग सञ्चालन गर्नै गाह्रो भयो ।’

मिलन डेरीका सञ्चालक सिंहले अघिल्लो साता ३ दिन लगातार विद्युत् नहँुदा डिजेल हालेर जेनेरेटरबाट उद्योग नियमित गर्नुपरेको प्रतिक्रिया दिए । औद्योगिक क्षेत्रका वरिष्ठ सहायक लेखा धीरेन्द्रलाल श्रेष्ठले विद्युत् प्राधिकरण राजविराजको लापरबाहीले नया फिडर जडान गर्न नसकिएको बताए ।

औद्योगिक क्षेत्रमा पानीको समस्या पनि उस्तै छ । गत चैत २२ मा बोरिङ फेल भएपनि अझै सम्म त्यसलाई वनाउन सकिएको छैन् । ‘एकातिर सामान्य बाढीमा हाम्रा उद्योगमा पानी पस्छ, अर्कोतर्फ आवश्यक पानीको अभावमा उद्योग सञ्चालन हुन सक्ने अवस्था छैन,’ उद्योगी सिंहले भने । साताअघि तीन दिनसम्म पानी पर्दा औद्योगिक क्षेत्र जलमग्न भएको थियो । अधिकांश उद्योगहरूमा पानी पसेको थियो । जमेको पानी उद्योगभित्र पस्दा कोसी पोलिमर्समा कच्चा पदार्थ नष्ट हुनुका साथै केमिकलहरूलाई समेत क्षति पुगेको थियो ।

तत्कालीन राष्ट्रप्रमुखको हैसियतमा ०३५/३६ मा तत्कालीन राजा वीरेन्द्र सप्तरी आउँदा कृषि र वन पैदावारमा आधारित औद्योगिक क्षेत्र राजविराजमा स्थापना गर्ने घोषणा गरेका थिए । औद्योगिक क्षेत्रको विधिवत् स्थापना कार्य भने ०४४ बाट भारतीय सहयोगमा थालिएको हो । ०५१ मा उक्त औद्योगिक क्षेत्र नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । मन्त्रिपरिषद्को निर्णयले ०६२ मा यसको नाम परिवर्तन गरी गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्र राखिएको हो ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT