नेपालको बिजुुली सिंगापुरमा !

क्षेत्रीय प्रसारण लाइनमार्फत थाइल्यान्डसम्म पुगेको बिजुली आसिएन पावरग्रिडमार्फत मलेसिया र सिंगापुरसम्म निर्यात गर्न सकिने
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपालको बिजुली सिंगापुरमा । झट्ट सुन्दा सपनाजस्तो लाग्छ । यही ३०–३१ अगस्टमा काठमाडौंमा हुन गइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनमा ‘ग्रिड कनेक्टिभिटी’ (विद्युत् प्रसारण लाइन सञ्जाल) सम्बन्धी सम्झौतामा हस्ताक्षर भए नेपालका नदीनालाबाट उत्पादित बिजुलीलाई सिंगापुरसम्म पुर्‍याउने सपना यथार्थमा परिणत हुन धेरै वर्ष लाग्ने छैन ।

बिमस्टेकअन्तर्गत निर्माण भनिएको क्षेत्रीय प्रसारण लाइनमार्फत् थाइल्यान्डसम्म पुगेको बिजुली आसिएन पावरग्रिडमार्फत् मलेसिया र सिंगापुरसम्म निर्यात गर्न सकिनेछ । हाल आसियान पावरग्रिडमार्फत् लाओस्, म्यानमारमा उत्पादित बिजुली थाइल्यान्ड, मलेसिया र सिंगापुरसम्म आपूर्ति भइरहेको छ ।

भारतका लागि थाइल्यान्डका राजदूत छुतिन्तोन गोंग्साक्डीले पनि बिमस्टेक ग्रिड कनेक्टिभिटी सम्झौतापछि नेपाललगायतबाट पनि बिजुली आयात गर्न बाटो खुला हुने बताए । ‘विद्युत् खरिदबिक्रीका लागि व्यापार सम्झौता त समयक्रममा भई नै हाल्छ । तर, त्योभन्दा पहिले प्रसारण लाइन निर्माण हुनु महत्त्वपूर्ण कुरा हो । यसबाट नेपालसमेत बिजुली आयात गर्न मार्गप्रशस्त हुनेछ,’ राजदूत गोंग्साक्डीले कान्तिपुरसँग भने । काठमाडौं सम्मेलनमा प्रसारण लाइन सम्झौतामा हस्ताक्षर भएको खण्डमा दुई वर्षअघि भारतले सार्वजनिक गरेको विद्युत् खरिद सम्झौतासम्बन्धी निर्देशिकालाई पनि संशोधन गर्नुपर्नेछ ।

Yamaha

उक्त निर्देशिकाले भारतले अन्य मुलुकबाट विद्युत् आयात गर्दा आफ्नो देशको लगानी भएका परियोजनाबाट उत्पादित बिजुलीलाई मात्र प्राथमिकता दिने उद्देश्य राखेको भन्दै नेपाल, भुटान र बंगलादेशलगायत मुलुकले आपत्ति जनाउँदै आएका छन् । उक्त निर्देशिका नेपाल–भारतबीच सम्पन्न विद्युत् व्यापार सम्झौताको मर्मविपरीत भएको र नेपालमा लगानी गर्न इच्छुक देखिएका तेस्रो मुलुकका लगानीकर्तालाई निरुत्साहित गरेको भन्दै आलोचना हुँदै आएको छ । भारतले भने उक्त निर्देशिका अन्तिम नभएको र आवश्यक सुझाव प्राप्त भएपछि संशोधन गरिने बताउँदै आएको छ ।

भारतले बिमस्टेक सम्मेलनमा ग्रिड कनेक्टिभिटी सम्झौतामा हस्ताक्षर गरेको खण्डमा नेपालको ऊर्जा क्षेत्रका लागि निकै अर्थपूर्ण रहने अपेक्षा गरिएको छ ।

यसका साथै काठमाडौं शिखर सम्मेलनमा क्षेत्रीय सञ्जाल (कनेक्टिभिटी) सम्बन्धी गुरुयोजना, स्वतन्त्र व्यापार क्षेत्र र अन्तर्राष्ट्रिय आतंकवाद तथा अन्तरदेशीय संगठित अपराधविरुद्ध सहकार्य गर्ने लगायतका सम्झौताको तयारी पनि अन्तिम चरणमा पुगेको छ । साथै दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) कै अवधारणासँग मिल्ने किसिमको बिमस्टेक मुलुकभित्र स्वतन्त्र व्यापार क्षेत्रको अवधारणा कार्यान्वयनका लागि सम्झौताको तयारी भइरहेको परराष्ट्र स्रोतको दाबी छ ।

ती सम्झौताको अन्तिम मस्यौदा तयार भइसकेको स्रोतले जानकारी दियो । त्यसबाहेक प्रविधिक हस्तान्तरण र कूटनीति तथा परराष्ट्र मामिलाका संस्थाहरूबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुने सम्भावना रहेको बताइएको छ ।

आगामी सम्मेलनले अनुमोदन गर्ने सम्भावना रहेको कनेक्टिभिटीको गुरुयोजनालाई पनि निकै महत्त्वसाथ हेरिएको छ । यसले विशेष गरी बिमस्टेक मुलुकहरूलाई सडक र जलमार्गमार्फत् जोड्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ । यसअन्तर्गत ग्रामीण भेगलाई लक्षित गर्दै १० देखि १२ वटा ठूला सडक सञ्जाल निर्माण हुनेछन् जसबाट बिमस्टेक मुलुकका ग्रामीण क्षेत्रसमेत क्षेत्रीय सडक पूर्वाधारमा जोडिनेछन् । र, यसले ती ग्रामीण क्षेत्रमा रहेका जनतासमेत क्षेत्रीय व्यापार सञ्जालमा आबद्ध हुने कान्तिपुरसँगको कुराकानीमा भारतका लागि थाइल्यान्डका राजदूत छुतिन्तोन गोंग्साक्डीले बताए । ‘क्षेत्रीय सञ्जालहरूसँग पनि बिमस्टेकलाई जोड्नेछ । एसियान, एपेकजस्ता क्षेत्रीय सञ्जालहरूसँग जोडिनेछ ।

विशेष गरी बिमस्टेक सदस्य मुलुकहरूबीच अवरोधरहित कनेक्टिभिटीका लागि त्यो गुरुयोजना कोसेढुंगा साबित हुनेछ,’ राजदूत गोंग्साक्डीले भने । बीस वर्षअघि गठन भएको बिमस्टेकको प्रत्येक दुई वर्षमा हुनुपर्ने शिखर सम्मेलन हालसम्म तीनपटक मात्र भएको छ । यसअघि सन् २०१४ मा म्यानमारको नेपितोमा तेस्रो शिखर सम्मेलन भएको थियो ।

Esewa Pasal

प्रकाशित : भाद्र ५, २०७५ ०८:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

न्यौपानेका नाममा फेलोसिप

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले फ्याक्ट रिसर्च एन्ड एनालिटिक्स रिसर्चसँग मिलेर ‘सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसिप’को घोषणा गरेको छ ।

आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउनेबारे सेजन र फ्याक्ट्सबीच सम्झौता भएको छ । फेलासिपका लागि सुरुमा कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।

कम्पनीका अनुसार प्रत्येक वर्ष १० प्रतिशतले उक्त रकममा वृद्धि गरिनेछ । हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पारेर फेलोसिप वितरण गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।

फेलोसिपका लागि सेजनका पूर्वअध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजन अध्यक्ष या कार्यसमितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रका सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रबन्धक मनीष झाले हस्ताक्षर गरेको विज्ञप्तिमा छ । डेढ वर्षअघि निधन भएका सञ्जय न्यौपानेले सेजन उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT