१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तरकारीमा सिन्डिकेट: व्यापारी पक्राउको विरोधमा कालिमाटी बजार सुनसान, बल्खुमा सामान्य

दैनिक करिब ६ सय ५० टन तरकारी भित्रिने कालिमाटी बजारमा आज करिब १०० टन तरकारी मात्रै

काठमाडौँ — अनुगमनका क्रममा अवरोध गर्ने कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउको विरोधमा आज व्यापारीहरुले किसानहरुबाट तरकारी खरिद गरेनन् ।

तरकारीमा सिन्डिकेट: व्यापारी पक्राउको विरोधमा कालिमाटी बजार सुनसान, बल्खुमा सामान्य

म‌ंगलबार बिहानै अनुगमनमा गएको आपूर्ति विभागको टोलीका प्रमुख दीपक पोखरेलका अनुसार अन्य दिन करिब ६ सय ५० टन तरकारी भित्रिने कालिमाटी बजारमा आज करिब १०० टन तरकारी मात्रै भित्रिएको छ ।


सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति विभागको टोलीलाई भित्र थुनेर व्यापारीले अवरोध गरेका थिए । उक्त टोलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो ।


नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनसगमन टोलीले कब्जामा लिएको २ गाडी सामान फिर्ता गर्न र पक्राउ गरिएका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघले सोमबारै साँझ विज्ञप्ति जारी गरी माग पूरा नगरिए मंगलबारदेखि नै देशव्यापी रुपमा तरकारी फलफूल बेचबिखन नगर्न व्यवसायीलाई अपिल गरेको छ ।


यो पनि पढ्नुहोस् - भान्सासम्मै सिन्डिकेट : बिचौलियाले ५ पटकसम्म मूल्य थप्छन्

पक्राउ गरिएका व्यावसायीलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।


विवाद बारे बुझ्न सोमबार दिउँसो नै आपूर्ति मन्त्री मातृका यादव र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली कालीमाटी बजार गएका थिए ।


त्यहाँ पुगेर मन्त्री यादवले जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकारले कडाइका साथ अनुगमन गर्ने बताएका थिए । घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गरी जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकार कडाइका साथ लागेको बताएको थियो ।


मन्त्रालयका सहसचिव प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘किसानलाई कम मूल्य दिई उपभोक्तासँग बढी मूल्य लिने बिचौलियालाई नियन्त्रण गरी तरकारीका उत्पादक र उपभोक्ताबीचको दूरी न्यून गर्न नियमित अनुगमन गर्छौं ।’


यसैगरी बल्खु कृषि तथा तरकारी बजार भने अरु दिनको जस्तो सामान्य छ । तरकारी व्यापारीहरुका अनुसार बिहान यहाँबाट थोक तथा खुद्रा दुवैको किनमेल भएको थियो ।







प्रकाशित : भाद्र ५, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?