१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मौलाउँदै रैथाने फापर

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा रैथाने फापर खेती मौलाएको छ । प्राय: सबैजसो गाउँबस्ती छेउका खेतमा फापर लगाइएको छ । तल्लो क्षेत्रको नासों १ ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ ९ खाङसारसम्म फापर खेती गरिएको छ ।

मौलाउँदै रैथाने फापर

समुद्री सतहदेखि ३ हजार ७ सय मिटर उचाइमा रहेको खाङसारसम्म फुलेको र झुलेको फापरले स्थानीयलाई आत्मनिर्भर बनाएको छ ।


मनाङमा अन्य ठाउँबाट फापर भित्रिँदैन । बरु मनाङमा लगाइएको फापर अन्य जिल्लामा लाने गरिएको छ । धान, मकै र कोदो नफल्ने मनाङमा फापर खाद्यबालीका रूपमा दरिएको छ । मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिका साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फु
बस्तीबाहेक तल्लो क्षेत्रमा फापर खेती हुने स्थानीय बताउँछन् । यी ठाउँमा फापरको रहरलाग्दो खेती हुने गरेको छ । स्थानीयले फापरलाई पर्यटनसँग जोडेका छन् ।


चामे २ थान्चोकका नरेन्द्र घलेका अनुसार गाउँका खेतभरि फापर फस्टाएको छ । फापरको फूलले पर्यटक लोभिएको उनले बताए । ‘फापर हेर्न पर्यटक गाउँमा बास बस्ने गर्छन् । त्यही फापरको परिकार उनीहरूलाई खुवाउँछौं,’ उनले भने । उनका अनुसार फापरको पिठोबाट रोटी, ढिँडोलगायत परिकार बन्छ । मनाङ ङिस्याङ ४ की सोनाम डोल्मा गुरुङका अनुसार माथिल्लो मनाङ क्षेत्रमा अहिले रहरलाग्दो तरिकाले फापर फुलिरहेको छ । ‘मनाङमा आउने पर्यटक फापर खेतीमा रमाउँछन् । फोटो खिच्छन्,’ उनले भनिन् । हुम्डेका छिरिङ गुरुङका अनुसार फापर खेतीले गाउँको रौनक नै फेरिएको छ ।


यसअघिको कृषि कार्यालयका अनुसार मनाङका प्राय: स्थानीयले व्यवसायका रूपमा होटल चलाउँछन् । होटल व्यवसायमा आबद्ध उनीहरूले फापरको खेती गर्ने गरेका छन् । चक्रीय अन्नपूर्ण पदमार्ग भएकाले यहाँका धेरैजनाले होटल सञ्चालन गर्दै आएका हुन् । फापरका लागि कम मल चाहिने भएकाले एक वर्ष बिराएर उक्त खेती गरिन्छ । यस वर्ष खेती गरिएको ठाउँमा अर्को वर्ष गहुँ, जौ वा उवा खेती गरिन्छ । अर्को वर्ष भने फापर खेती नै गरिने स्थानीय बताउँछन् । स्थानीयले प्राय: जेठ अन्तिम साता र असारमा बीउ छर्ने गर्छन् । भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम साता र कात्तिकमा काटेर थन्क्याउने गरिएको स्थानीय किसान बताउँछन् । माथिल्लो र तल्लो मनाङमा यही मौसममा फापर खेती गरिए पनि समय भने फरक पर्छ ।


कार्यालयका अनुसार पर्यटकले फापरको परिकार मात्रै नभएर फापर खेतीलाई पनि मन पराउने गरेका छन् । चक्रीय पदमार्ग घुम्न आउने पर्यटक फापर खेती हेर्न लोभिने गरेका छन् । ०७४/७५ मा २ सय ८६ हेक्टर क्षेत्रफलमा फापर खेती गरिएकामा ५ सय ८ टन उत्पादन भएको थियो । ०७३/७४ मा २ सय ८६ हेक्टरमै खेती गरिएकामा ५ सय २ टन उत्पादन भएको थियो । ०७२/७३ मा २ सय ८५ हेक्टरमा खेती गरिएकामा ५ सय १४ टन फापर उत्पादन भएको थियो ।


कृषि प्रसार अधिकृत रामकुमार साहका अनुसार फापर खेती खासै घटबढ देखिँदैन । तर, किसानले भने पछिल्लो समय फापर खेती घटदै गएको बताएका छन् । कुल खेतीयोग्य २ हजार १ सय ५३ हेक्टर क्षेत्रफलमध्ये २ हजार १७ हेक्टर क्षेत्रफलमा विभिन्न प्रकारका खेती भइरहेको कृषिले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?