१ सय ४३ टावर थपिँदै

हरिहरसिंह राठौर

बेनीघाट (धादिङ) — सडक र आकाश, मात्रै हैन राजधानीलाई बढ्दो बिजुलीको माग पुर्‍याउन ल्याउनुपर्ने बिजुलीका ठुलठूला टावरका फलामे संरचना पनि धादिङभरि निर्माण गरिएका छन् ।

भारतबाट चितवन हुँदै ल्याइने बिजुली, गोरखा र मस्र्याङदीवाट ल्याइने बिजुली होस् वा जिल्लामै निर्माण भएका आयोजना हुन् केन्द्रीय प्रसारण लाइनमा जोड्न हरेक डाँडाकाँडा, बेंसी, टार, खेतपाखा, जंगल, जताततै बिजुलीकै फलामे टावर मात्रै देखिन्छन् । बिजुलीका ठूला टावर विशेषगरी पृथ्वी राजमार्ग वरपरका भूभागमा धेरै छन् ।

फलामे टावर थप्ने क्रम भने अझै रोकिएको छैन । मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनले धादिङमा मात्रै १ सय ४३ वटा प्रसारण लाइनका टावर निर्माण गर्दै छ । जिल्लाका तत्कालीन जोगीमारा, बेनीघाट, सलाङ, कुम्पुर, पिडा, बैरेनी, कल्लेरी गोगनपानी, केवलपुर थाक्रे र नौबिसे गाविसमा ५३ किलोमिटर प्रसारण लाइन जोडिने प्रसारण लाइन आयोजनाले जनाएको छ । जिल्लामा निर्माण हुने १ सय ४३ मध्ये ७६ वटा टावर निर्माण भइसकेका छन् भने ४० वटा टावर निर्माणाधीन छन् ।

Yamaha

मस्र्याङदी करीडोरमा निमार्ण भइसकेका र भविष्यमा निर्माण हुने आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि हाल प्रयोग भइरहेको १३२ केभी प्रसारण लाइनको क्षमताले धान्न सकेको छैन । उक्त करीडोरमा उत्पादन हुने विद्युत् काठमाडौंसम्म सहज प्रसारण गर्नका लागि मस्र्याङदी—काठमाडौं २२० केभी प्रसारण लाइनको धमाधम जडान कार्य भइरहेको छ ।

भारतमा चलनचल्तीका मोडलमा निर्माण गरिएका फलामे टावर ४० मिटरदेखि ४५ मिटरसम्म उचाइका छन् । उक्त निर्माण कार्यको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्टले २०७३ भदौ २३ गते आरम्भ गरी २०७६ फागुनसम्म निर्माण सक्ने जिम्मा लिएको छ । कुल २ अर्ब लागत रहने यस आयोजना तनहुँको मार्किचोकदेखि गण्डकी, नारायणी र वाग्मतीका तनहुँ, गोरखा, चितवन, धादिङ र काठमाडौंका जम्मा ८६ किमि प्रसारण लाइन हुनेछ ।

प्रकाशित : भाद्र ७, २०७५ ०८:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

काखभरि चौंरी

हरिहरसिंह राठौर

धादिङ — तिप्लिङको पाङसाङ र सोमदाङ लेक चौंरीगोठले भरिएका छन् । चौंरीको पोसिलो आहार मानिने बुकीले लेकमा हरियाली छाएको छ । गोठमा ब्याएका चौंरी र तिनका बाच्छाबाच्छी स्याहार्न किसानलाई भ्याइनभ्याइ छ ।

चौंरीपालन यहाँको परम्परागत पेसा हो तर अहिले युवाले व्यवसायका रूपमा अघि बढाएका छन् । स्थानीय दिनेश घले, जस थापालगायत युवाको अग्रसरतामा करिब ५४ वटा गोठमा ३ सयभन्दा बढी चौंरी पाल्न थालिएको छ । दिनेश दिनभरि चौंरी हेरचाह, चरन र दुग्धजन्य पदार्थ (छुर्पी, पनिर, चिजलगायत) उत्पादनमा व्यस्त हुन्छन् । उनीसँग भएका ३५ वटा चौंरीमध्ये १४ वटाले बाच्छाबाच्छी पाएका छन् । काम खोज्न बिदेसिनुभन्दा गाउँमै केही गरौं भनेर चौंरीपालन सुरु गरेको उनले बताए ।

उत्तरी धादिङका तिप्लिङ, सेर्तुङ, लापाका युवा पनि चौंरीपालनमा लाग्न थालेका छन् । घिउ, दूध र चिजलगायत उत्पादन रसुवागढी नाका हुँदै चीन निकासी गरेर उनीहरूले मनग्य आम्दानी लिइरहेका छन् । त्यसबाट मासिक ५० हजारदेखि ८० हजारसम्म कमाइ हुने गरेको दिनेश बताउँछन् ।

‘बच्चा पढाउन र घरखर्च गर्न पुगेको छ,’ उनले भने । पहिले दूध र मोही मलखादमा पोख्ने किसान अहिले उत्पादित वस्तुले बजार पाउन थालेकामा खुसी छन् । आफ्ना उत्पादन खर्कबाटै बिक्री हुन थालेपछि चौंरीपालनमा आकर्षण पनि बढेको छ । किसानले आफ्नै पहलमा खर्कमै डेरी उद्योगसमेत सञ्चालन गरेका छन् । उद्योगले प्रतिलिटर ६० रुपैयाँमा दूध खरिद गर्छ । छुर्पी, घिउ र चिज नेपाली ठेकेदारले रसुवागढी हुँदै चीनको व्यापारिक केन्द्र केरुङसम्म पुर्‍याउँछन् । उद्योग सञ्चालकले भने मासिक ३ देखि ६ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

चौंरीपालनप्रति आकर्षण बढाउन र आर्थिक आम्दानी गर्न चरन खर्कको विकास कार्यक्रम लागू गरिएको छ । पशु आहार विकास कार्यक्रमअन्तर्गत तिप्लिङका परम्परागत चौंरी गोठालालाई गोठको सुधार, चरन र खर्क विकाससँगै चौंरीबाट लिन सकिने आम्दानीका स्रोतबारे तालिमसमेत दिइएको छ । चौंरी खर्क संरक्षण र विकासका लागि दिनेशकै संयोजकत्वमा खर्क उपभोक्ता समूहसमेत गठन गरिएको छ ।

प्रकाशित : भाद्र १, २०७५ ०७:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT