ब्याज बढाएरै बैंक नाफामा 

यज्ञ बञ्जाडे

काठमाडौँ — सञ्चालनमा रहेकामध्ये २२ बैंकले गत वर्ष निक्षेप र कर्जाबीचको ब्याजअन्तर (स्प्रेड) बढाए । यो नै बैंकहरूको नाफा वृद्धिको प्रमुख कारण बन्यो । डेढ वर्षयता लगानीयोग्य पुँजीको अभाव भएको गुनासो गर्दै आएका बैंकको नाफा भने लोभलाग्दो छ । 

गएको वर्ष वाणिज्य बैंकहरूले खुद नाफा ५३ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरे । यो बैंकहरूको कुल आयबाट कुल खर्च र कर घटाएर आएको शुद्ध नाफा हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस्तो नाफा करिब २३ प्रतिशतले बढेको छ ।

यो अर्थतन्त्रको औसत वृद्धिदरभन्दा धेरै बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ती बैंकहरूको यस्तो नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकहरूको नाफा वृद्धिको प्रमुख स्रोत ब्याज आम्दानी नै छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २२ वटा बैंकहरूको कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) बढेको छ । बाँकी बैंकहरूको स्प्रेड घटेको छ । यसको अर्थ व्यवसाय विस्तारका लागि नयाँ क्षेत्र पहिचानसहित ‘नवप्रवर्तन’ ल्याउनुको साटो ऋणको ब्याजदर वृद्धिमै बैंकहरूले ध्यान केन्द्रित गरे भन्ने हो ।

केही बैंकहरूको स्प्रेड राष्ट्र बैंकले तोकिदिएको अधिकतम ५ प्रतिशतभन्दा पनि बढी छ । प्रकाशित वित्तीय विवरणअनुसार २१ बैंकहरूको स्प्रेड ४ प्रतिशतभन्दा बढी छ । जसमध्ये चारवटा बैंकको स्प्रेड ५ प्रतिशत बढी छ ।

ती बैंकहरूको स्प्रेड राष्ट्र बैंकले दिएको अधिकतम सीमाभन्दा धेरै हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशतभन्दा बढी ब्याजअन्तर राख्न पाउँदैनन् । यो वर्षको अन्त्यसम्म वाणिज्य बैंकहरूले स्प्रेड साढे ४ प्रतिशतमा झारिसक्नुपर्ने नयाँ निर्देशन छ ।

बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाबीचको ब्याजअन्तर धेरै गराएकै कारण औसतभन्दा बढी वृद्धिदर हासिल भइरहेको पूर्वसचिव रामेश्वर खनालले बताए । मुलुकको आर्थिक विकासका लागि आवश्यक लगानी (पुँजी) जुटाएर बैंकहरूले महत्त्वपूर्ण योगदान पुर्‍याए पनि उपभोक्ताले व्यवयाय विस्तारको लाभ प्राप्त गर्न नसकेको उनको भनाइ छ ।

‘बैंकहरूमा निक्षेपमा सकेसम्म कम ब्याज दिने र ऋणमा सकेसम्म बढी ब्याज उठाउने प्रवृत्ति हाबी छ,’ उनले भने, ‘यही कारण अर्थतन्त्रको औसत वृद्धिदर करिब १५ प्रतिशत हुँदा बैंकहरूको मुनाफा वृद्धिदर त्योभन्दा बढी छ ।’ यद्यपि मुलुकको आर्थिक वृद्धिमा धेरै योगदान पुर्‍याउने सेवा क्षेत्रहरूमा बैंकहरूको ठूलो लगानी केन्द्रित भएकाले त्यसले समग्र आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको उनले दोहोर्‍याए ।

‘विद्यमान परिस्थितिको फाइदा उठाउँदै केही बैंकहरूले स्प्रेड धेरै बढाए,’ पूर्वबैंकर ससिन जोशीले भने, ‘तर, यसलाई सामान्यीकरण गर्न मिल्दैन ।’ उनको विचारमा वर्षको नाफा वृद्धिदर अस्वाभाविक होइन ।’

रकमका आधारमा मात्र बैंकहरूको नाफा बढेको रूपमा हेर्न नहुने उनले बताए । ‘रकमका आधारमा अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको नाफा बढेको छ । तर, पुँजी वृद्धिको अनुपातमा निरन्तर रूपमा घटिरहेको छ,’ उनले भने, ‘अघिल्लो वर्ष १७ प्रतिशत रहेको बैंकहरूको सम्पत्तिको प्रतिफल गत वर्ष साढे १४ प्रतिशतमा झरेको छ ।’

गत वर्षमा २८ वटा बैंकहरूको चुक्ता पुँजी करिब ३४ अर्ब रुपैयाँले बढेर २ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको पुँजी १७.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकहरूको चुक्ता पुँजी १ खर्ब ९८ अर्ब ८६ करोड रुपैयाँ थियो ।

बैंकहरूको गत वर्षको खुद नाफा वृद्धिदर चुक्ता पुँजी वृद्धिदरभन्दा बढी हो । यसैगरी गएको वर्ष वाणिज्य बैंकहरूमा साढे ३ खर्ब रुपैयाँ निक्षेप संकलन गरे ।

यो अघिल्लो वर्षको तुलनामा १६.७७ प्रतिशतको वृद्धि हो । सोही अवधिमा बैंकहरूले थप ३ खर्ब ७६ अर्ब रुपैयाँ लगानी विस्तार गरे । यो २१.६७ प्रतिशतको वृद्धि हो । यसबाट बैंकहरूले सम्पत्ति र दायित्वबीच सन्तुलन मिलाउन नसकेको स्पष्ट हुन्छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलनको तुलनामा कर्जा विस्तार दर उच्च रहेकाले वित्तीय क्षेत्र असन्तुलित अवस्थामा रहेको राष्ट्र बैंकले पनि स्वीकार गरेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा यस्तो उल्लेख छ ।

गत वर्ष अधिकांश महिनाहरूमा बैंकहरूको ब्याजदर उच्च रहयो । लगानीयोग्य रकम अभाव भएको बहानामा बैंकहरूबीच निक्षेपको ब्याजदर वृद्धिको होडबाजी नै चल्यो । त्यो नियन्त्रणका लागि बैंकर्स संघले पटकपटक ब्याजदर नबढाउने सहमति (भद्रसहमति) नै गर्नुपर्‍यो । जुन अहिले पनि लागू छ ।

सोही सहमतिअनुसार अहिले पनि बैंकहरूले ग्राहकलाई मुद्दती निक्षेपमा ११ र साधारण बचतमा ७ प्रतिशतभन्दा बढी ब्याज दिन पाउँदैनन् । यसरी निक्षेपको ब्याजमा सीमा तोकिएपछि राष्ट्र बैंकको सीमामा बसेर ऋणको ब्याज बढाउन उनीहरूलाई बाटो खुला भयो । गत वर्ष अधिकांश बैंकहरूको स्प्रेड बढ्नुको प्रमुख कारण पनि यही हो ।

आधार ब्याजदर (बेसरेट) भन्दा तल ऋण दिन नपाइने राष्ट्र बैंकको निर्देशन र फराकिलो स्प्रेडका कारण गत वर्ष बैंकहरू राम्रो नाफा आर्जन गर्न सफल भएको चार्टर्ड एकाउन्टेन्ट एवं पूर्वबैंकर अनलराज भट्टराईले बताए । उच्च दरले बढेको आयातले बैंकको विदेशी विनिमयको कारोबार, प्रतीतपत्रलगायत अन्य गैरबैंकिङ आम्दानी उच्च दरले बढेकाले बैंकहरूको वृद्धिदर उच्च देखिएको उनको भनाइ छ ।

‘गएको तीन वर्षमा बैंकहरूको सञ्चालन खर्च करिब १० अर्ब रुपैयाँले बढयो, सोही अवधिमा बैंकहरूले करिब २ खर्ब रुपैयाँ पुँजी बढाए,’ उनले भने, ‘थपिएको पुँजीमा १० प्रतिशतको मात्र प्रतिफल मान्दा पनि करिब २० अर्ब रुपैयाँ बैंकहरूले कमाए । यही प्रतिफलले बैंकहरूको सञ्चालन लागतलाई धानेकाले नाफा वृद्धिदर राम्रो देखिएको हो ।’ आउँदा दिनमा बैंकहरूले हालको जत्तिकै नाफाको वृद्धिदर टिकाइराख्न मुस्किल रहेको उनको अनुमान छ ।

गएको दुई वर्षयता सेयरधनीको प्रतिफल (रिटर्न अन इक्विटी–आरओई) घटदो क्रममा छ । यो प्रवृत्ति चौथो त्रैमासको वित्तीय विवरणमा पनि देखियो । आरओईको अर्थ बैंकमा बैंकमा लगानी गरिएको पैसाले कति प्रतिफल दिन सक्छ भन्ने हो ।

गत वर्ष अधिकांश बैंकका सेयरधनीको प्रतिफल घटयो । राष्ट्र बैंकको निर्देशनअनुसार २४ महिनामा चार गुणा चुक्ता पुँजी बढाउनुपरेको र बढेको पुँजीको तुलनामा बैंकहरूको व्यावसायिक विस्तार हुन नसकेकाले आरओई घटेको बैंकरहरूको गुनासो छ । गत आर्थिक वर्षमा ५ वटा बैंकहरूको मात्र आरओई २० प्रतिशतभन्दा माथि छ । गत वर्ष एक दर्जनभन्दा बढी बैंकहरूको आरओई २० प्रतिशतभन्दा बढी थियो ।

२८ मध्ये २५ वटा बैंकहरूको वार्षिक खुद मुनाफा १ अर्ब रुपैयाँभन्दा बढी छ । जसमध्ये स्टयान्डर्ड चार्टर्ड, ग्लोबल आईएमई, हिमालयन र एभरेस्ट बैंकको मुनाफा २ अर्बभन्दा बढी छ । नेपाल बैंक, इन्भेस्टमेन्ट बैंक र कृषि विकास बैंकको मुनाफा ३ अर्ब रुपैयाँभन्दा बढी छ भने राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको मुनाफा ४ अर्ब रुपैयाँभन्दा धेरै छ । बाँकी जनता, सेन्चुरी र सिभिल बैंकको मुनाफा १ अर्ब रुपैयाँभन्दा कम छ ।

यसैगरी गत वर्ष वाणिज्य बैंकहरूले थप ८ सय ३ वटा शाखा विस्तार गरेका छन् । अघिल्लो वर्षको तुलनामा गत असारसम्मको शाखा विस्तार करिब ३८ प्रतिशतको वृद्धि हो । यस्तै गत वर्ष मात्र थप २ सय ८९ स्थानीय तहमा बैंकहरूको शाखा विस्तार भएको बैंकर्स संघले जनाएको छ । योसँगै ६ सय ३१ स्थानीय तहमा वाणिज्य बैंक पुगेको संघको तथ्यांक छ । यसका आधारमा बाँकी १ सय २२ स्थानीय तह अझै वाणिज्य बैंक विहीन छन् ।

प्रकाशित : भाद्र ७, २०७५ २०:५६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

१८ औं एसियाली खेलकुदः तेक्वान्दोको पदकविहीन ह्याट्रिक यात्रा

ध्रुव तुलाधर

जकार्ता, इन्डोनेसिया — एसियाली खेलकुदमा लगातार तेस्रोपल्ट नेपाली तेक्वान्दो पदकविहीन भएर फर्कने भएको छ । १८ औं संस्करण जारी रहँदा बिहीबार दुई नेपाली खेलाडीको खेलसँगै तेक्वान्दोको इन्डोनेसिया यात्रा सकिएको छ । एसियाली खेलकुदमा गौरवशाली इतिहास बनाएको तेक्वान्दोका खेलाडीले पछिल्ला तीन संस्करणमा पदक जित्न सकेनन् ।

तस्बिरः किरण पाण्डे

सन् २०१० को ग्वाङझाउ र २०१० को इन्चोन एसियाडबाट पनि रित्तो हात फर्केको थियो। एसियाडमा नेपाली तेक्वान्दोले एक रजत र १३ कांस्यपदक जितेको इतिहास छ।

जकार्ता एसियाडको पाँचौं दिन सकिँदासम्म नेपाल पदकको छेउसम्म पुग्न सकेको छैन। पदक आस गरिएको उसु पनि पदकविहीन भएर फर्केको छ। एसियाडमा उसुले एउटै पदक जितेको छैन। नेपालले तेक्वान्दोका १४ र उसुका १० खेलाडीलाई एसियाडमा उतारेको थियो। १ सय ८५ खेलाडीको जम्बो टोली एसियाडमा उतारेको नेपालको आस अब जुडो, बक्सिङ र कुराँस खेलमा मात्र बाँकी छ।

दक्षिण एसियाली राष्ट्र भारत र अफगानिस्तानले पदकको खाता खोलिसकेका छन्। अफगानले उसुबाट एक कांस्य जित्दा भारतले सुटिङ, कुस्ती, सेपाकटाक्रो, टेनिस र उसुबाट पदक भित्र्याएको छ। ४ स्वर्णसहित १६ पदक जितेको भारतले सुटिङबाट सबैभन्दा बढी ७ पदक जितेको छ। पदक तालिकामा चीन, जापान र दक्षिण कोरियाको प्रभुत्व हुँदा आयोजक इन्डोनेसिया ७ स्वर्ण जित्दै पाँचौं स्थानमा छ।

बिहीबार तेक्वान्दोको ६८ केजीमुनि ज्ञानेन्द्र हमालले एउटा खेल जितेका थिए। अर्को खेलमा नराम्ररी पराजित हुन पुगे। अन्तिम १६ को पहिलो खेलमा ज्ञानेन्द्र भुटानका जिग्मे वाङचुकलाई ३९–१७ अंकले हराउँदै अन्तिम १६ मा पुगेका थिए। उनले पहिलो राउन्डमै भुटानीविरुद्ध चार ह्याम्मर किक हाने र १५(११ को अग्रता बनाए।

पछिल्लो दुई राउन्डमा उनले विपक्षीलाई खासै मौका दिएनन् र खेल आफ्नो पक्षमा पारे। उनलाई क्वाटरफाइनल पुग्नका लागि भने मलेसियाका रोजाली रोजामी बाधक बने। साउथ इस्ट एसियन गेम्सका स्वर्ण तथा एसियन इन्डोर तथा मार्सल आर्टका रजत विजेता रोजालीले ज्ञानेन्द्रलाई ३०(२ को फराकिलो अंकमा हराए। आसियन च्याम्पियनसिपका वेस्ट फाइटर रोजालीले उचाइको फाइदा लिँदै तेस्रो राउन्डअगाडि नै खेल जितेका थिए।
महिला ४९ केजीमुनि तौल समूहमा अस्मिता खडका पनि इरानी प्रतिद्वन्द्वीसामु निरीह बनिन्। विश्व वरीयताको ३५ औं वरीयतामा रहेकी निहादले २८४ औं वरीयताकी खेलाडी अस्मितालाई पहिलो राउन्डमै ६ हयाम्मर किक हानेर खेललाई आफ्नो पक्षमा पारिन्। निहाद एसियन च्याम्पियनसिपमा पदक जितिसकेकी खेलाडी हुन् भने अस्मिताको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो।

प्रशिक्षक दीपक विष्टले बिहीबारको खेलबारे भने, ‘भुटानसँगको पहिलो खेलमा ज्ञानेन्द्रले जसरी खेलेका थिए, त्यसरी दोस्रो खेल खेल्न सकेनन्। पहिलोमा उनी थोरै घाइते थिए। त्यसले गर्दा पनि उनले खुलेर खेल्न सकेनन्। मलेसियाली प्रतिद्वन्द्वी अन्तर्राष्ट्रिय अनुभवी र पदकविजेता खेलाडी हुन्। उनले उचाइको एडभान्टेज लिए।’

नेपालले पदक आस गरेका तेक्वान्दो र उसु दुवैको प्रतिस्पर्धा सकिएको छ। दुवै खेल पदकविहीन बने।
पौडी
राष्ट्रिय कीर्तिमानधारी शिरीष गुरुङले पनि जारी एसियाडमा आफ्नो एउटै कीर्तिमान सुधार्न सकेनन्। बिहीबार पुरुष १०० फ्रिस्टाइल प्रतिस्पर्धा गरेका उनले ५७.९२ सेकेन्डमा दूरी पार गरे। जबकि उनी रियो ओलम्पिकमा आफैंले बनाएको कीर्तिमान सुधार्न असफल रहे। उनले सन् २०१६ मा रियो द जेनेरियोको पोखरीमा ५७.७६ सेकेन्डको कीर्तिमान बनाएका थिए।

आफ्नो हिटमा पुछारमा रहेका शिरीष समग्रमा ४७ खेलाडीमध्ये ४० औं स्थानमा थिए। शिरीषले दुई दिनअघि २० मिटर फ्रिस्टाइलमा पनि गतिलो प्रदर्शन गर्न सकेनन्। इन्चोन एसियाडमा समेत सहभागिता जनाएका शिरीषको यहाँ इभेन्ट सकिएको छ।

अर्की पौडीवाज टिसा शाक्यले महिला ५० मिटर ब्रेस्टस्ट्रोकको दूरी ३९.४६ सेकेन्डमा पार गरिन्। १०० मिटर फ्रिस्टाइलमा आफ्नो प्रदर्शन सुधारेकी टिसाले शुक्रबार ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्।

हिट चरणमा ३० खेलाडीले प्रतिस्पर्धा गर्दा उनी २६ औं स्थानमा थिइन्। ३२.३४ सेकेन्डमा दूरी पार गर्ने फाइनल चरणलाई छानिएका थिए।
भारोत्तोलन
एसियाडको भारोत्तोलनमा नेपाली खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउने क्रमलाई विकास थापाले पनि निरन्तरता दिन सकेनन्। उनले पुरुष ७७ केजीमुनि तौलमा स्न्याचमा १ सय १३ केजी र क्लिन एन्ड जर्कमा १ सय ३५ केजीसहित कुल २ सय ४८ केजी तौल उठाए। यसअघि पनि विकासको व्यक्तिगत स्कोर त्यति नै थियो। स्न्याचमा १ सय १८ केजीका लागि प्रयास गर्दा दुवै लिफ्टमा असफल भए। समग्रमा उनी पाँचौं स्थानमा रहे। विकास १२ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता हुन्।

यस तौल समूहमा कमलबहादुर अधिकारीको नाममा स्न्याचमा १ सय २२ र क्लिन एन्ड जर्कमा १ सय ६२ केजीको राष्ट्रिय कीर्तिमान छ। कमलले भने यसपल्ट तौल घटाएर ६९ केजीमुनि प्रतिस्पर्धा गरेका थिए। अघिल्लो दिन कमलले त्यसमा तीनवटा कीर्तिमान बनाए।

चार खेलाडी सहभागी रहेको भारोत्तोलनमा अब तारादेवी पुनको खेल बाँकी छ।

कबड्डी
नेपाली टोली बिहीबार पाकिस्तानसँग ३८(२० अंकले पराजित भयो। समूह ‘बी’ मा पाँच टोली रहेकोमा नेपालले एक खेलमात्र जित्यो। नेपालले अघिल्लो दिन मलेसियालाई हराएको थियो। नेपाल आयोजक इन्डोनेसिया, जापान र इरानसँग पराजित भयो।

सबै टोलीसँग प्रतिस्पर्धात्मक खेलेको नेपाली कबड्डी २४ वर्षपछि एसियाड खेल्न जकार्ता आइपुगेको थियो। नेपालले यसअघि दुई एसियाडमा कबड्डीलाई सहभागी गराएको थियो। सन् १९९० को बेइजिङमा चौथो र १९९४ को हिरोसिमा एसियाडमा पाँचौं स्थानमा रहँदै फर्केको थियो।
यसपल्ट पनि वरीयता सुधार्ने लक्ष्यमा मात्र नेपाली टोली जकार्ता आएको थियो।
पेनकेक सिलात
पेनकेकमा प्रतिस्पर्धी रहेका एक्लो नेपाली खेलाडी विवेककुमार विक पनि पहिलो खेलमै पराजित भए। बिहीबार अन्तिम १६ को ६० देखि ६५ केजीबीच तौल समूहमा प्रतिस्पर्धा गरेका विवेककुमारले इरानका मोहम्मद रहिमिबल्लाहदेजाइसँग हार बेहोरे। उनी ५(० अंकले पराजित भए। पेनकेक इन्डोनेसियाको परम्परागत मार्सल आर्टस हो। यसमा पनि पञ्च, किकबाट अंक लिइन्छ। एसियाली खेलकुदमा पनि यसले पहिलोपल्ट प्रवेश पाएको थियो।

आर्चरी
जीबीके आर्चरी फिल्डमा बिहीबार तीन नेपाली खेलाडीले रिकर्भको एकल इभेन्टमा प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फ तिलक पुन मगरले पहिलो खेलमा भुटानका निमा वाङीलाई हराएर राम्रो सुरुआत गरे। तिलकले ६(० स्कोरले खेल जितेका थिए। अन्तिम १६ को खेलमा उनी चीनका तियान्सु जुसँग ६(४ को अन्तरमा हारे।

त्यस्तै रोशन नगरकोटी श्रीलंकन खेलाडी सञ्जीव डी सिल्भासँग ६(० को स्कोरमा पराजित भए।

महिला रिकर्भको अन्तिम ३२ को खेलमा नेपालकी ज्ञानु अवाले हङकङकी सुक चिङ लामसँग ६(२ ले हारिन्।

नेपालले शनिबार पुरुष रिकर्भ टिममा कतारसँग खेल्नेछ। नेपाली टोलीमा तिलक, असिम शेरचन र रोशन नगरकोटी छन्।

आर्चरीका प्रशिक्षक रमेश सिवाकोटीले चिनियाँ खेलाडीसँग तिलकले त्यत्तिको खेल्नु राम्रो भए पनि ज्ञानु र रोशनले भने बिगारेको बताए।

पाराग्लाइडिङ
पुरुष व्यक्तिगत एकुरेसीमा आयोजक राष्ट्रका जाफ्रो मेगावान्टाले स्वर्ण जित्दा नेपालका विजय गौतमले आठौं स्थानमा रहेर खेल टुंग्याए। ३३ खेलाडीले प्रतिस्पर्धा गर्दा नेपालका सुशील गुरुङ २४ औं स्थानमा रहे। यो १० राउन्डसम्म चलेको थियो।

सोही इभेन्टको महिलातर्फ नेपालका त्रिशा श्रेष्ठ बोम्जन १४ र प्रतिभा भुजेल १५ औं स्थानमा रहन सफल भए। यसमा आयोजकको स्वर्ण जित्ने आसलाई असफल पार्दै थाई खेलाडी नुनापातले स्वर्ण जितिन्। दक्षिण कोरियाकी ली दाले रजत जित्दा आयोजककी रिकाको पोल्टमा कांस्यपदक परेको थियो।

स्क्वास
नेपाली खेलाडीद्वय अरहान्तकेशर सिंह र अमृत थापामगर दुवै पहिलो खेलमै पराजित भए। बिहीबार जीबीकेको स्क्वास स्टेडियममा पुरुष एकलको अन्तिम १६ खेलमा अरहान्त पाकिस्तानका तैयव अस्लामसँग ११(६, ११(५, ११(५ ले हारे। पाकिस्तानीले सोझो सेटमा ३(० ले खेल जित्दा १८ मिनेटमात्र लगाए।

अर्को खेलमा अमृत भने हङकङका हो यिन लीसँग ११(१, ११(४, ११(२ ले पराजित भए। उनीहरूले डबल्समा प्रतिस्पर्धा गर्नेछन्।

स्पोर्टस क्लाइम्बिङ
मेन्स स्पिड क्लालिफिकेसन राउन्डमा प्रतिस्पर्धा गरेका पेम्बा शेर्पा र प्रनिलमान श्रेष्ठ पुछारको दुई स्थानमा रहे। २७ खेलाडीको सहभागितामा १६ खेलाडी दोस्रो चरणलाई छानिए। पेम्बाले १२.०० सेकेन्ड र प्रनिलले १२.२६ सेकेन्डमा चढेका थिए।

क्वाइन्ड क्वालिफिकेसनमा प्रनिल २१ र पेम्बा २२ औं स्थानमा रहेका थिए।

प्रकाशित : भाद्र ७, २०७५ २०:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT