कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

६ वर्ष बित्यो पुल बनेन

२५ मिटर चौडाइ भएको खोलामा ४६ मिटरको डिजाइन
भीमबहादुर सिंह

जाजरकोट — खलंगामा यातायात सञ्चालन भएको दशक बित्यो तर छिन्चु–जाजरकोट सडकको खलंगाबजार जोड्ने पासागाड खोलामा पुल निर्माण हुन सकेको छैन । सडक विभागको चरम लापरबाहीले खलंगाको पासागाड पुल निर्माण ६ वर्षदेखि अलपत्र परेको हो ।

६ वर्ष बित्यो पुल बनेन

परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माण कार्य अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुशील पौडेलले बताए । पुल निर्माणका लागि ३ करोड लागतमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौंले ठेक्का लिएको थियो ।

निर्माणस्थल र डिजाइनको तालमेल नमिल्दा पुल निर्माण अवरुद्ध भएको पौडेलले जनाए । रिडिजाइन नगरी पुल निर्माण गर्न असम्भव भएपछि ढिलाइ भएको उनले बताए । ‘पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनले मेल नखाँदा निर्माण कम्पनीले निर्माण कार्य सुरु गर्न नसकेको हो,’ पौडेलले भने, ‘लागत र निर्माण कार्यको तालमेल नमिल्दा पुल निर्माण अघि बढ्न नसकेको हो ।’

परामर्शदाता कम्पनीले सात लाखको लागतमा पुलको डिजाइन कार्य गरेको इन्जिनियर पौडेलको भनाइ छ । ‘पुलको डिजाइन एक छ, निर्माण स्थलको लोकेसन अर्को छ,’ उनले भने, ‘कसरी निर्माण सुरु गर्ने ?’ परामर्शदाताले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ । तर, पासागाड खोलामा सर्भे गर्दा निर्माण स्थलको २५ मिटरभन्दा लम्बाई बढदैन । कम लागतमा निर्माण हुने पुलका लागि बढी बजेट खेर फाल्न नहुने स्थानीयको भनाइ छ ।

पाँच वर्षअघि निर्माण कम्पनीलाई साइट देखाउने क्रममा गलत डिजाइनको खुलासा भएको थियो । सडक डिभिजनले पुल निर्माणका लागि ३ करोड भुक्तानी नगर्ने भएपछि निर्माण कम्पनीले अझै काम सुरु गरेको छैन । सडक विभागले ठेक्का सम्झौताअनुरूप भुक्तानी दिने भए तत्काल कार्य सुरु गर्ने निर्माण कम्पनीले जनाएको छ ।

परामर्शदाताले पुलको सर्भे स्थलगत नगरेरै काल्पनिक डिजाइन बनाएको देखिन्छ । पुलको रिडिजाइन भएर लागत यकिन नभएसम्म निर्माण कार्य अघि नबढ्ने प्राविधिकले जनाएका छन् । सडक विभागले चालु आर्थिक वर्षमा पुलको रिडिजाइन गरेर निर्माण अघि बढाउने जनाएको छ ।

पुल नबन्दा वर्षातमा यातायात अवरुद्ध हुने गरेको छ । जाजरकोट, डोल्पा र जुम्लाका यात्रुले सास्ती पाएका छन् । पासागाड खोला खलंगा बजारदेखि चार किलोमिटर दूरीमा छ । सडक विभागको लापरबाहीले ६ वर्षअघि टेन्डर भएको उक्त पुलको निर्माण सुरसारसमेत भएको छैन ।

विभागको गलत डिजाइनका कारण पासागाड खोलामा पुल निर्माण ढिलाइ भएको हो । सडक विभाग र आईएमईआरसी कन्सल्टेन्सी ललितपुरको चरम लापरबाहीको कारण पुल निर्माण अलपत्र परेको हो । टेन्डर भएको २ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुलको शिल्यान्याससमेत नभएको स्थानीय कृष्ण मल्लले बताए । ‘सडक कालोपत्रे भएकै ६ वर्ष बित्यो,’ उनले भने, ‘तर, पासागाडमा पुल निर्माण सुरु भएन ।’

पुल नबन्दा बाढी आएको बखत रातभर सवारी साधन खोला किनारमा राखेर बस्नुपर्ने बाध्यता भएको चालक प्रकाश खत्रीले बताए । डोजरको सहायताबिना यातायातका साधन खोलाबाट निस्कन नसक्ने भएको खत्रीको भनाइ छ ।

प्रकाशित : भाद्र ८, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?