१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

केरुङमा रोकिए करोडौंका सामान

केरुङमा राखिएका ४ कन्टेनरबाट सामान चोरी भयो : व्यवसायी
बलराम घिमिरे

रसुवा — रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिराले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् ।

केरुङमा रोकिए करोडौंका सामान

रसुवागढीको नाका नजिकैको पहिरो, घट्टेखोलाको पुललाई बाढीले पुर्‍याएको क्षति र गोसाइँकुण्ड गाउँपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो । तीन साताअघिबाट यातायात अवरुद्ध भएपछि हालसम्म झन्डै १ हजार २ सय कन्टेनर केरुङमै थन्किएका हुन् । आयात गर्न लागिएका अघिकांश सामग्री दसैं र तिहारसँग सम्बन्धित छन् ।

यातायात अवरुद्ध भएपछि रसुवा भन्सारको कारोबार ठप्प भएको छ । तातोपानी नाका बन्द भएपछि प्रमुख नाकाका रूपमा सञ्चालित रसुवागढीसमेत अवरुद्ध हुँदा व्यवसायीले झन्झट बेहोर्नुपरेको छ । स्याउलगायत कुहिने सामग्रीहरू व्यवसायीले बोकाएरै राजधानी ल्याइरहेका छन् । आयात ठप्प हुँदा दैनिक लाखौं राजस्व असुल हुने नाका सुनासान छ ।

गोदाममा राखिएका र कन्टेनरमा लोड गरिएका सामान असुरक्षित भएको व्यवसायी टपेन्द्र तिमिल्सिनाले बताए । यसबाट व्यवसायीले करोडौंको घाटा व्यहोर्नुपर्ने अवस्था छ । ‘तीज पर्वका लागि झिकाइएका सामान त यो वर्ष राजधानी नआउने भयो,’ अर्का व्यवसायी शैलेश पौडेलले भने, ‘लोड गरिएका कन्टेनरका सामान चोरी हुन थालेको छ ।’

केरुङमा रहेको ४ कन्टेनरबाट सामान चोरी भएको उनले बताए । ‘तीजका लागि ल्याएको सौन्दर्य र तयारी पोसाक अधिक छ । दसैंका सामान पनि छिट्टै राजधानी भित्र्याउन नसके बिक्री गर्न सकिँदैन,’ उनले भने ।

सडक कार्यालय नुवाकोटले यातायात सञ्चालन हुन अझै केही दिन लाग्ने अनुमान गरेको छ । सडक डिभिजन प्रमुख निरज शाक्यका अनुसार गोसाइँकुण्ड गाउँपालिकाको घट्टे खोलाको पुल मर्मत भइरहेको छ । पुलको ढलानको काम सकिएको छ । ‘पुल एक सातामा सञ्चालनमा ल्याउने तयारी गरेका छौं,’ शाक्यले भने । तर, रसुवागढी नाका र त्रिशूली नजिककैको खोपाङ भीरको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन समय लाग्ने उनको अनुमान छ ।

यी दुवै पहिरा जटिल खालका छन् । माटो पन्छाएर वा तलबाट तारजाली लगाएर खुलाउन सकिँदैन । ब्लास्टिङ गरेर खोल्नुपर्ने हुन्छ । ब्लास्टिङका लागि नेपाली सेनाको सहायता लिनुपर्ने हुन्छ । अध्ययन गर्न मध्य पृतना हेटौंडाको नेपाली सेनाको टोलीले बुधबार अनुगमन गरेको थियो । अनुगमन प्रतिवेदन सेनाको हेडक्वार्टरमा बुझाउने र त्यसपछि काम हुनेछ ।

सडक अवरुद्ध भएपछि नाकाबाट व्यवसायीहरू सामान छाडेर फर्केका छन् । केरुङमा सामान राख्ने गोदामसमेत पाइन छाडेको व्यवसायीहरूले बताएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलका अनुसार व्यवसायीको टोलीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठसँग भेटेर सडक सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ । ‘सरोकारवाला सबैसँग अनुरोध गरेका छौं,’ उनले भने, ‘यातायात अवरुद्ध हुँदा सबैभन्दा बढी व्यवसायी मर्कामा परेका छन् । एकातिर व्यापारीले लाखौं घाटा व्यहोरिरहेका छन्, अर्कातर्फ सरकारको राजस्व संकलन ठप्प छ ।’

राजधानीलगायत मुलुकका मुख्य बजारहरूमा चिनियाँ सामानकै वर्चश्व छ । दसैंमा चिनियाँ तयारी पोसाकको बढी माग हुने गरेको छ । यहाँबाट मुख्यत: तयारी पोसाक, फर्निचर, स्टेसनरी सामान, जुत्ता, चप्पल, ब्याग, मेसिनरी औजार, स्याउ, लसुन, मखमल कपडा, कम्युटरका पार्टसलगायत व्यापारिक सामान आयात हुने गरेको छ ।

प्रकाशित : भाद्र ८, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?