सस्तो कार चढ्छन् यी अर्बपति

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — विश्वका कयौं अर्बपतिहरू आफूसँग अथाह सम्पत्ति भएर पनि सस्तो कार चढछन् । सादा जीवन अपनाउँछन् । परोपकारी सेवामा आफ्नो सम्पत्तिको केही रकम मन खोलेर दान गर्छन् । अझ रोचक त के छ भने तिनीहरूले सस्तो मूल्यका कार प्रयोग गर्छन् ।

ती कार कारको मूल्य तिनीहरूको सम्पत्तिको तुलनामा निकै कम हुने गरेको पाइएको छ ।

माइक्रोसफ्टका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ बालमरलाई लिनुस्, जसले वर्षौंदेखि फोर्ड गाडी चढ्छन् । उनका बुबा फोर्ड मोटर कम्पनीका प्रबन्धक थिए । बालमरले चाहेको भए, विश्वकै सर्वाधिक महँगो सवारी साधन प्रयोग गर्न सक्थे । तर, त्यसो गरेनन, उनले । सायद हामीकहाँ जस्तो पुख्र्यौली सम्पत्तिको धक्कु र सान देखाउने सन्तान उनी परेनन् ।

Yamaha

अर्को उदाहरण फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि हुन् । उनले पनि सस्तो कार चढ्ने गरेका छन् । जुकरबर्ग भन्छन्, ‘मैले प्रयोग गर्ने कार सुरक्षित र आरामदायक मात्रै हैन भडकिलो र अशिष्ट पनि छैन ।’ एउटा बेलायती वित्तीय सेवा कम्पनी ‘गो कम्पेयर’ ले विश्वका सर्वाधिक धनाढय अर्बपतिहरूको स्वामित्वमा रहेको कम महँगा कारहरूबारे एउटा प्रतिवेदन सार्वजनिक गरेको छ ।

त्यसमा डलर अर्बपतिहरूले प्रयोग गर्ने कारहरूबारे चर्चा गरिएको छ । निश्चित रूपमा तीमध्ये केहीसँग दर्जनौं महँगा बाहन खरिद गर्ने हैसियत छ । तर, ती सवारीहरूले उनीहरूलाई अनुकूलित गर्न नसकेरै सस्ता कार रोजेका हुन् । यहाँ नौजना बिजनेस मोगलहरूको चर्चा गरिएको छ, जोसँग होन्डास, टोयोटास र चेभिस कारहरू रहेका छन् । त्यसैमा चढछन्, अफिस आउजाउ गर्न र घुमघाममा त्यही प्रयोग पनि गर्छन् ।

एकजना अमेरिकी व्यापारी, इन्जिनियर, लेखक, राजनीतिज्ञ र परोपकारी माइकल ब्लुम्बर्गको कुल सम्पत्ति ५२ दशमलव ४ अर्ब अमेरिकी डलर छ । उनी विश्वकै ११ औं धनाढय हुन् । सन् १९८१ मा आफैंले सञ्चालन गरेको वित्तीय सूचना तथा मिडिया कम्पनी ब्लुमबर्ग एलपीका मालिक पनि हुन् ।

उनले बन्दुक नियन्त्रण, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने संस्थाहरूलाई ५ अर्ब अमेरिकी डलर दान दिइसकेका छन् । धनको कुनै कमी छैन तर सादा जीवनशैली अपनाउँछन् । यिनी चढ्ने चेभ्रोलेट सर्बरबन मोडेल कारको ‘कस्ट अफ बेस मोडेल’ अर्थात् आधार मोडेलको लागत मूल्य ३९ हजार २ सय डलर रहेको छ । उनी त्यही कारमा चढछन् ।

अर्का अर्बपति सर्गे ब्राइनको कुल सम्पत्ति ५४ दशमलव ५ अर्ब डलर छ । उनी विश्वकै १३ औं धनाढय र शक्तिशाली व्यक्तिमा ३५ औं हुन् । गुगल कम्पनीका मालिकमध्येका एक उनी चढ्ने कारको मोडल ‘टोयोटा प्रियस हो, जसको आधार लागत मूल्य ३० हजार ९ सय २० डलर पर्छ ।

ल्यारी पेजको कुल सम्पत्ति ५५ दशमलव ९ अर्ब डलर छ । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटका सीईओ उनी विश्वका १० औं शाक्तिशाली र १२ औं धनाढय हुन् । उनले चढ्ने टोयोटाकै मोडलको आधार लागत मूल्य ३९ हजार ९ सय २० डलर पर्छ ।

मार्क जुकरबर्गको कुल सम्पत्ति ६५ दशमलव ५ अर्ब डलर रहेको छ । उनी यो वर्ष धनाढयहरूको सूचीमा पाँचौं स्थानमा छन् । विश्वका तेह्रौं शक्तिशाली व्यक्ति पनि हुन्, उनी । हाल फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भइसक्दा पनि उनी चढ्ने कार ‘एकुरा टीएसएक्स’ मोडलको आधार लागत मूल्य ३० हजार ६ सय ३५ डलर पर्छ ।

स्टेभ बालमरको कुल सम्पत्ति ४२ दशमलव ३ अर्ब डलर रहेको छ । लस एन्जेलस क्लिपर्सका मालिक उनी विश्वका २२ औं अर्बपति हुन् । उनी चढ्ने कारको मोडल हो ‘फोर्ड फुजन हाइब्रिड’ । यो मोडलको मूल्य २५ हजार २ सय ९५ डलर पर्छ ।

जेफ बेजोस विश्वकै सर्वाधिक धनाढय हुन् । अमेजोन कम्पनीका मालिक उनको कुल सम्पत्ति १५६ दशमलव ९ अर्ब डलर रहेको छ । फोब्र्सको सूचीमा आफ्नो कुल सम्पत्ति डेढ सयभन्दा बढीका साथ सर्वाधिक धनाढय बन्नेमध्येमा उनी पहिलो व्यक्ति बन्न सफल भएका छन् । उनी आफ्नै संघर्षबाट सफल भएका हुन् । विश्वकै धनाढय भइसक्दा पनि उनको लवाइखबाइमा खासै परिवर्तन छैन । उनी चढ्ने कार ‘होन्डा एकोर्ड’ हो, जसको आधार लागत मूल्य १६ हजार ९ सय ९५ अमेरिकी डलर रहेको छ ।

चिनियाँ अर्बपति ज्याक माको कुल सम्पत्ति ३९ दशमलव ४ अर्ब डलर छ । उनी एकजना पूर्व अंग्रेजी शिक्षक हुन् । विश्वकै सबैभन्दा ठूलो ई–कमर्स बिजनेस अलीबाबाका सहसंस्थापक उनी अर्बपति सूचीमा २० औं र विश्वका शक्तिशाली व्यक्तिमध्ये २१ औं स्थानमा छन् । तर, आफू धनाढय रहेको प्रदर्शन गर्दैनन् । उनी ‘रोएवे आरएक्स फाइभ एसयूभी’ मोडलको कार चढ्छन् । उक्त कारको आधार लागत मूल्य १५ हजार अमेरिकी डलर रहेको छ ।

जिम वाल्टनको कुल सम्पत्ति ४५ दशमलव १ अर्ब डलर रहेको छ । वालमार्टका संस्थापक साम वाल्टनका कान्छा छोरा जिम यो वर्ष अर्बपतिको सूचीमा १४ औं स्थानमा छन् । उनी चढ्ने कारको मोडेल ‘डोड्गे डयाकोटा’ हो, जसको आधार लागत मूल्य ८ हार ८ सय ४५ डलर छ ।

पउल एलेनको कुल सम्पत्ति २० दशमलव २ अर्ब अमेरिकी डलर रहेको छ । उनी विश्वका ४४ औं अर्बपति हुन् । दुईपटकसम्म क्यान्सर लागेर बाचेका उनी एलेन इन्स्टिच्युट अफ ब्रेन साइन्स नामको संस्थालाई अर्बौं डलर दान दिइसकेका छन् । आफ्ना स्कुले साथी बिल गेट्ससँग मिलेर उनले सन् १९७५ मा माइक्रोसफ्ट कम्पनी खोलेका थिए । गम्भीर रोग लागेपछि उक्त कम्पनी उनले छाडेका थिए । आफ्नो आत्मबलका कारण उनी रोगमाथि विजयी भए । उनी चढ्ने कारको मोडल ‘माज्दा बी–सेरिज’ हो, जसको लागत मूल्य मात्र ७ हजार ९९ डलर रहेको छ ।

(एजेन्सीहरू)

प्रकाशित : भाद्र ९, २०७५ ०८:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

माइक्रोफाइनान्सबाटै फड्को

‘स्थायी शान्ति तबसम्म हासिल गर्न सकिन्न जबसम्म ठूलो जनसंख्यालाई गरिबीबाट बाहिर निकाल्न सकिने तरिका हामी खोज्न सक्तैनौं’
दिनेश यादव

काठमाडौँ — एकजना बंगलादेशी सामाजिक उद्यमी, बैंकर, अर्थशास्त्री र नागरिक समाजका नेता हुन्– मुहम्मद युनुस । बंगलादेशको एउटा दुर्गम गाउँमा जन्मे, त्यहीँ आफ्नो बाल्यकाल बिताए । एकजना ज्वेलर्स (सुनका गहना बनाउने) का छोरा हुन्– उनी ।

आमाचाहिँ गृहणीसँगै समाज सेवामा पनि सक्रिय थिइन् । नौ सन्तानमध्ये युनुस तेस्रा हुन् । उनले सञ्चालनमा ल्याएको माइक्रोफाइनान्स प्रणाली धेरैका लागि अनुसरणीय मात्रै बनेको छैन, आर्थिक रूपमा धेरैलाई माथि उठ्न सहयोग पनि गरेकै छ । उनले सञ्चालन गरेको ग्रामीण बैंक र आफूले अघि सारेको ‘माइक्रोफाइनान्स’ प्रणालीका कारण नोबेल पुरस्कारसमेत जित्न उनी सफल भए ।

अमेरिकी अखबार ‘फोर्ब्स’ का अनुसार युनुस माइक्रोक्रेडिटको अवधारणा अघि सारेरै चम्केका हुन् । उनको ग्रामीण बैंकले गरिब महिलाहरूलाई रकम दियो, यो काम अन्य कसैले त्यसअघि गरेका थिएनन् । आज तिनै महिलाहरूसँग बैंकको ९७ प्रतिशत हिस्सा छ ।

उनले एउटा पाइलट परियोजना सञ्चालनमा ल्याएका थिए, जसले भिख माग्नेहरूलाई कुकिज र क्यान्डिज जस्तो व्यापार गर्नका लागि ५ अमेरिकी डलर ऋण प्रदान गरेको थियो । युनुसले यो परियोजनामा एक हजार भिखारी सहभागी हुने अपेक्षा गरेका थिए । तर, एक लाखभन्दा बढी सहभागी भइदिए । दुई वर्षभित्रै २५ हजारभन्दा बढी भिखारीले भिख माग्नै बन्द गरे । किनभने तिनीहरू टाढाटाढासम्म ‘डोर टु डोर’ व्यापार गर्दै मनग्ये आम्दानी गर्न सफल भए । मानिसलाई अवसर दिएमा उसले आफ्नो क्षमताअनुसार काम गर्छ भन्ने भनाइ युनुसको छ ।

२८ जुन १९४० मा बंगलादेशको चटगाउँको बथुवा गाउँमा एउटा बंगाली मुस्लिम परिवारमा युनुसको जन्म भएको हो । बुबा हाजी दुला मिया सौदागर एकजना ज्वेलर्स थिए, आमा सोभियाचाहिँ समाजसेवी । युनुसको बाल्यकाल गाउँमै बित्यो । सन् १९४४ मा उनको परिवार चटगाउँ सहर बसाइ सरेपछि बल्ल उनको औपचारिक अध्ययन सुरु भएको हो । त्यहाँ उनलाई लामाबजार प्राइमर स्कुलमा भर्ना गरियो ।

स्कुलमा पढ्ने बेला आमा मनोवैज्ञानिक रूपमा रोगी थिइन् । त्यसले कहिलेकाहीँ उनलाई तनाव हुने गरे पनि पढाइमा भने आफूलाई अब्बल बनाइराख्न कुनै कसर बाँकी राखेनन् । त्यसैको परिणाम थियो, उनी तत्कालीन पूर्वी पाकिस्तानमा ३९ हजार विद्यार्थीहरूबीच १६ औं स्थानका साथ चटगाउँ कलेजिएट स्कुलबाट म्याट्र्रिक परीक्षा उत्तीर्ण गरे । स्कुले जीवनमा उनी ‘स्काउट व्वाय’ का रूपमा सक्रिय रहे । उनी सांस्कृतिक गतिविधिहरूमा पनि उत्तिकै सक्रिय रहे, नाटकमा समेत सहभागी भए । त्यसक्रममा धेरै पुरस्कारसमेत जित्न सफल भएका थिए ।

सन् १९५२ मा पश्चिम पाकिस्तान र भारतको यात्रा गर्ने अवसर पाए । त्यसक्रममा उनले धेरै कुरा सिके । सन् १९५५ मा जाम्बोरिजमा सहभागी हुन क्यानाडा जाने मौका पनि उनले पाए । सन् १९५७ मा उनले ढाका विश्वविद्यालयमा अर्थशास्त्र विभागमा भर्ना भए । सन् १९६० मा उनले स्नातक र सन् १९६१ स्नातकोत्तरसम्मको पढाइ पूरा गरे । स्नातक उत्तीर्णपछि युनुस प्रोफेसर नुरुल इस्लाम र रहमान शोभानको अर्थशास्त्र शोधको सहायकका रूपमा अर्थशास्त्र ब्युरोमा सहभागी भए ।

पछि सन् १९६१ मा चटगाउँ कलेजमा अर्थशास्त्रको लेक्चररका रूपमा नियुक्त भए । त्यसैबेला उनले आफूलाई आर्थिक रूपमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्याकेजिङ कारखानासमेत सञ्चालनमा ल्याए । उक्त कारखाना नाफामा गयो । त्यसबाट उनको आर्थिक अवस्था पनि सुदृढ हँुदै गयो । आज तिनै युनुसको कुल सम्पत्ति १ अर्ब रुपैयाँभन्दा बढी रहेको विभिन्न सञ्चार माध्यमहरूले जनाएको छ ।

युनुसले माइक्रोक्रेडिट र माइक्रोफाइनान्सको अवधारणाको नेतृत्व गर्दै विश्वको ध्यान आफूमाथि केन्द्रित गर्न सफल भए । ग्रामीण बैंकको स्थापनाले उनी थप चर्चित बनेका हुन् । पारम्परिक बैंक ऋणका लागि योग्य रहेकादेखि गरिब र उद्यमीलाई समेत उनको बैंकले ऋण उपलब्ध गराउँथ्यो । सन् २००६ मा युनुस र उनको ग्रामीण बैंकलाई संयुक्त रूपमा ‘नोबेल शान्ति पुरस्कार’ प्रदान गरिएको थियो ।

गरिबीको रेखाभन्दा तल रहेकाहरूको आर्थिक र सामाजिक विकासमा माइक्रोक्रेडिट माध्ययबाट महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नर्वेली नोबेल समितिले त्यसताका भनेको थियो, ‘स्थायी शान्ति तबसम्म हासिल गर्न सकिन्न जबसम्म ठूलो जनसंख्यालाई गरिबीबाट बाहिर निकाल्न सकिने तरिका हामी खोज्न सक्तैनौं ।’

युनुस र ग्रामीण बैंकले गरिबहमध्येमा पनि सबैभन्दा बढी गरिबले समेत आफ्नो काम र विकास आफैं गर्न सक्ने संस्कृतिको विकास गर्न सहयोग गरेकाले यो पुरस्कार प्रदान गरिएको समितिले जनाएको थियो । युनुसले अन्य कयौं राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान पाइसकेका छन् । तीमध्ये सन् २००९ मा अमेरिकी स्वतन्त्रता राष्ट्रपति पदक र २०१० मा कंग्रेसनल स्वर्ण पदक प्राप्त गरेका थिए । सन् २००८ मा उनले ‘टप १०० ग्लोबल थिंकर्स’ को विदेश नीति पत्रिकाको सूचीमा नम्बर २ मा परेका थिए ।

बीबीसीको एक रिपोर्टमा ‘युनुसको क्रान्तिकारी माइक्रोक्रेडिट प्रणालीबाट विश्वका ७० लाख गरिब लाभान्वित भए, ती मध्ये अधिकांश बंगलादेशका थिए’ उल्लेख छ । चटगाउँ विश्वविद्यालयमा प्राध्यापक छँदा सन् १९७६ मा उनलाई माइक्रोफाइनान्सको विचार आएको थियो । पहिलोपटक उनले जारी गरेको ऋणको मूल्य ३ हजार (२७ अमेरिकी डलर) रुपैयाँ मात्रै रहेको थियो । विश्वविद्यालय नजिकैको जोब्रा गाउँका ४२ जना महिलाले पहिलोपटक ऋण पाएका थिए । त्यसअघि ती महिलाहरूले स्थानीय साहुबाट चर्को ब्याजमा ऋण लिने गर्थे ।

सन् २०११ फेब्रुअरीमा युनुसले सास्किया ब्रुस्टन, सोफी एइसेनम्यान र हंस रिट्जसँग मिलेर युनुस सोसल बिजनेस–ग्लोबल इनिसिएटिभ्स (वाईएसबी) को स्थापना गरे । वाईएसबीले विश्वभर सामाजिक समस्याहरू हल गर्न तथा सामाजिक व्यापारलाई सशक्त बनाउन सहयोग गर्छ । मानवीय पुंजीवाद युनुसको दृष्टिकोणका लागि अन्तर्राष्ट्रिय कार्यान्वयन शाखाका रूपमा वाईएसबी विकासशील देशहरूमा सामाजिक व्यवसायहरूका लागि इन्क्युबेटर फन्डको व्यवस्थापन गर्छ । कम्पनी, सरकार, फाउन्डेसन तथा गैरसरकारी संगठनलाई सल्लाकार सेवा प्रदान गर्छ ।

सन् २०१२ मा स्कटल्यान्डको ग्लासगोव क्यालेडोनियन विश्वविद्यालयको चान्सलरसमेत बने । त्यसअघि उनी बंगलादेशको चटगाउँ विश्वविद्यालयमा अर्थशास्त्रका प्रोफेसर थिए । उनले आफ्नो वित्तीय कार्यसँग सम्बन्धित कयौं पुस्तकहरूसमेत प्रकाशित गरेका छन् । उनी ग्रामीण अमेरिका र ग्रामीण फाउन्डेसनका संस्थापक बोर्ड सदस्य हुन्, जसले माइक्रोक्रेडिटलाई समर्थन गर्छ । युनुस संयुक्त राष्ट्र फाउन्डेसनका निर्देशक मण्डलमा रहेर पनि काम गरिसकेका छन् । सन् १९९८ मा अमेरिकी परोपकारी टेड टर्नरलाई संयुक्त राष्ट्रसंघको उद्देश्यअनुरूप काम गर्न एक अर्ब अमेरिकी डलर सहयोग गरेको थियो ।

अमेरिकामा पढ्नका लागि युनुसले सन् १९६५ मा फुलब्राइट छात्रवृत्ति प्राप्त गरे । उनले त्यो मौका छाड्न चाहेनन् । अमेरिका गए, त्यहाँका भ्यान्डरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडीको उपाधि हासिल गरे । त्यसपछि सन् १९६९ देखि १९७२ सम्म युनुसले मिडल टेन्नेस्सी स्टेट युनिभर्सिटीमा सहायक प्राध्यापकका रूपमा काम गरे ।

सन् १९७१ मा बंगलादेश स्वतन्त्रता आन्दोलनका क्रममा युनुसले नागरिक समितिको स्थापना गर्दै स्वतन्त्रताको समर्थन बढाउनका लागि अमेरिकामा अन्य बंगलादेशीसँग मिलेर बंगलादेश सूचना केन्द्र सञ्चालनमा ल्याए । उनले न्यासभिल्लेस्थित आफ्नो डेराबाट बंगलादेश न्युजलेटरसमेत प्रकाशनमा ल्याएका थिए । युद्ध समाप्तिपछि उनी बंगलादेश फर्के । नुरुल इस्लामको नेतृत्वमा रहेको सरकारले योजना आयोगमा उनलाई नियुक्त गर्‍यो । त्यहाँ काम गर्न मन नलागेपछि उनले राजीनामा दिएर चटगाउँ विश्वविद्यालयमा अर्थशास्त्र विभागको प्रमुखको जिम्मेवारीमा काम गर्न पुगे ।

सन् १९७४ मा मुलुकमा अकाल परेको देखेपछि उनी गरिबी कम गर्ने उद्देश्यले ग्रामीण आर्थिक कार्यक्रमको स्थापना गरी एउटा शोध परियोजना सञ्चालनमा ल्याए । सन् १९७५ मा उनले नाबाजुग (नयाँ युग) तेभागागा खामार (तीन सेयर फर्म) को स्थापना गरे, जसलाई सरकारले प्याकेजका लागि इनपुट कार्यक्रमका रूपमा अपनायो ।

‘सेलिब्रेटी नेट वर्थ’ र ‘द फेमस पिपुल डटकम’ का अनुसार युनुसको कुल सम्पत्ति (१५ डिसेम्बर २०१६ मा) १० मिलियन अमेरिकी डलर (एक अर्बभन्दा बढी रुपैयाँ) रहेको छ । ‘द फेमस पिपुल डटकम’ ले पनि १५ डिसेम्बर २०१६ मा युनुसको नेट वर्थ १० मिलियन डलर रहेको छ ।

सन् २०११ मा बंगलादेश सरकारले युनुसलाई ग्रामीण बैंकबाट हटाइदियो । कानुनको उल्लंघन र आयु सीमाका कारण उनलाई हटाएको बताइएको थियो । तर, सानो स्तरमा वित्त प्रदान गर्ने अवधारणा (माइक्रोफाइनान्स) लाई नयाँ आयाम दिने युनुसलाई त्यसताका अवहेलना मुद्दा परेको थियो । त्यही क्रममा उनलाई अदालतमा समेत पेस हुनुपरेको थियो ।

उनले एक अन्तर्वार्तामा ‘बंगलादेशमा राजनीतिकर्मीहरू रकमका लागि मात्र काम गर्छन्, यहाँ कुनै विचारधारा छैन’ भनेको आरोप लगाउँदै राजनीतिक दलका नेताले अवहेलना मुद्दा दर्ता गरेका थिए । त्यही विवादका कारण बैंकबाट हटाइएको थियो ।

(एजेन्सीहरू)

प्रकाशित : भाद्र २, २०७५ ०८:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT