बिजुलीतारमा तरकारीको झाल

बिना थापा

कास्की — पोखराको धेरैजसो घरको बार्दली र तारमा लहरे तरकारीका झाल भेटिन्छन् । तीमध्ये धेरै घिरौंला लगाएको पाइन्छ ।

बिजुलीतारमा तरकारीको झाल

अरू झाल भएको तरकारीलाई जस्तो थाँक्रो नचाहिने भएकाले घरमा पहिलेदेखि नै धेरैले लगाउँदै आएको बगरकी वीरशोभा गुरुङले बताइन् । ‘यसलाई घरको छानो बार्दलीमा लगाए पनि राम्रो फल्छ,’ उनले भनिन्, ‘राम्रो फलेकाले आफूलाई मात्र नभएर इष्टमित्रलाई कोसेलीका रूपमा दिन पनि पुग्छ ।’

झाल लागाउने थाँक्रा नभएकाले घरको बार्दलीमा घिरौंला लगाएको गैह्रापाटनकी साहारा क्षेत्रीले बताइन् । ‘हाम्रो पालामा वनपाखा गएर थाँक्रा काटेर ल्याइन्थ्यो, अहिलेकाले त्यसरी ल्याउँदैनन्,
थाँक्रा ल्याउने जस्तो बन जंगल पनि छैन ।’

गैह्रापाटनकी निरु गुरुङले घरको छाना र बार्दलीमा झाल लगाउने चलन पछि आएको बताइन् । ‘हामी सानो छँदा बस्ती बाक्लो थिएन, सबैतिर वन थिए, वनमा चिलाउनेका रूख बढी हुन्थे, त्यसैलाई थाँक्राका रूपमा काटेर ल्याउँथ्यौं, त्यसैमा घिरौंला, करेला, लौका फलाइन्थ्यो,’ उनले भनिन्, ‘जंगल मासिँदै र बस्ती बढदै गएपछि थाँक्रा पाइनै छाडयो । त्यसैले तार र घरलाई थाँक्राका रूपमा लगाउन थालेको हुनुपर्छ ।’

विद्युत् कार्यालय कास्कीका प्रशासक प्रमुख सुरेन्द्र शर्माले विद्युत् तारमा तरकारी लगाउन नहुने बताए । ‘यसबारे सचेत हुनुपर्छ, सधैं एउटै हुँदैन, कहिलेकसो बीचमा ग्याप र तार चुटेको खण्डमा बिरुवाले छोएमा करेन्ट प्रवाह भई दुर्घटना हुन सक्छ,’ उनले भने ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?