कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दानाको कच्चा पदार्थमा परनिर्भरता बढ्यो

विमल खतिवडा

काठमाडौँ — कुखुराका लागि दाना (आहारा) बनाउन वार्षिक १६ अर्ब रुपैयाँको कच्चा पदार्थ आयात हुने गरेको छ । दाना बनाउन सबैभन्दा बढी प्रयोग हुने मकै र भटमासको पिना हो । यो दुवै भारतबाट आयात हुने गरेको छ ।

दानाको कच्चा पदार्थमा परनिर्भरता बढ्यो

दाना बनाउन ६० प्रतिशत मकै र २५ प्रतिशत भटमासको पिना प्रयोग हुने गरेको छ । भटमास शत प्रतिशत र मकै भने ७५ प्रतिशत आयात हुँदै आएको नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रविन पुरीले बताए । ‘भुटेर खानसमेत भटमास नेपालमा पाउन छाडिसक्यो,’ उनले भने, ‘झन् दाना बनाउन कहाँ पाउनु ? त्यसैले दानालाई चाहिने मुख्य कच्चा पदार्थ नै बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ ।’ सरकारले आयात रोकेर मुलुकमै कच्चा पदार्थ तयार गर्न सहयोग गर्नुपर्ने माग व्यवसायीको छ ।

‘खेतबारी बाँझो बस्ने क्रम बढेको छ,’ उनले भने, ‘बाँझो बस्न नदिन सरकारले मकै र भटमास लगाउन किसानलाई सहयोग गर्नुपर्छ, कच्चा पदार्थ यहीँ तयार भए ठूलो रकम बाहिरिने थिएन ।’ मकै र भटमासबाहेक दानाका लागि आवश्यक पर्ने ढुटो पनि आयात हुने गरेको छ । मुलुकभित्रै भने तोरीको पिना, तिलको पिना तयार हुने गरेको छ ।

त्यस्तै कच्चा पदार्थ आयातमा पहिले ५ प्रतिशतमध्ये १ दशमलव ६ प्रतिशत भन्सार शुल्क तिर्नुपथ्र्यो । अहिले पूरै तिर्नुपर्ने अवस्था रहेको अध्यक्ष पुरीले बताए । ‘नेपालमै उत्पादन भए बाहिरबाट कच्चा पदार्थ ल्याउनुपर्ने थिएन,’ उनले भने, ‘यो वर्षबाट भन्सार छुटको व्यवस्था हटाइएको छ, जसले गर्दा ढुवानी महँगो परेको छ ।’ उनका अनुसार यसबारे अर्थमन्त्रीलाई जानकारी गराए पनि कुनै सुनुवाइ भएको छैन । पुरीले भन्सार छुट नभएपछि भारतबाट तयारी दाना आयात हुने सम्भावना बढ्ने बताए ।

‘भन्सार छुट नहुँदा कच्चा पदार्थ आयात महँगो पर्छ, उत्पादन लागत बढ्छ,’ उनले भने, ‘भारतबाट तयारी दाना ल्याउँदा सस्तो पर्छ, दाना भन्सार तिरेर ल्याउँदासमेत सस्तो हुने हुँदा गुणस्तरहीन दाना भित्रिने खतरा बढ्छ ।’ कुखुराको आहारा महँगो हुँदा साना किसान पलायन हुने खतरा बढी छ । पछिल्लो समय साना किसानले कुखुरापालनको समेत विकल्प खोज्न थालेका छन् ।

पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराईका अनुसार अघिल्लो वर्षको तथ्यांकअनुसार साढे ८ अर्बको भटमासको पिना र साढे ७ अर्बको मकै आयात भएको थियो । ‘सरकारले ५ वर्षमा मकैमा र १० वर्षमा भटमासमा आत्मनिर्भर हुने कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने, ‘त्यसपछि कच्चा पदार्थ आयात गर्नु पर्दैन, होइन भने भारतबाट कच्चा पदार्थ ल्याएर दाना उद्योग चलाउनुको विकल्प छैन ।’ कच्चा पदार्थ आयात महँगो हुँदा साना किसान मारमा परेका छन् ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?